नेपालद्वारा बीबीएनजे सम्झौता अनुमोदन
संयुक्त राष्ट्रसंघले प्रस्ताव गरेको ‘बायोडाइभर्सिटी बिओन्ड न्याशनल जुरिस्डिक्शन’ (बीबीएनजे) सम्झौतालाई नेपालले अनुमोदन गरेको छ।
राष्ट्रसंघको ७८औं महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्र मन्त्री एनपी साउदले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
बीबीएनजे सम्झौताले ‘हाई सी’ (कुनै पनि राष्ट्रको क्षेत्राधिकारमा नपर्ने समुद्रको हिस्सा)मा ठूला ठूला संरक्षित क्षेत्रहरू स्थापना गर्ने कार्यविधि तय गरेको छ। यसले सन् २०३० सम्ममा ३० प्रतिशत जमीन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्य कार्यान्वयन गर्नेछ।
यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई २० सेप्टेम्बर २०२३ देखि २० सेप्टेम्बर २०२५ सम्म हस्ताक्षर गर्ने समयसीमा दिइएको छ।
यो सम्झौता कानूनी रूपमा बाध्यकारी छ र ६० देशले अनुमोदन गरेपछि यो लागू हुनेछ।