व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन भएन: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको औंल्याएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित समारोहमा पौडेलले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताए। उनले भने, “कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन्। तर, हाम्रा कमजोरी पनि त्यसका कारण हुन्। अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ।”
राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र नभई जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार भएको बताए। यो संस्कार, संस्कृति, आनीबानी र व्यवहारसँगै आचरणमा परिवर्तन पनि भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले भने, “राजनीतिक रूपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौं, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ।”
सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको र वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उनको भनाइ थियो।
“हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रता सहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि नीति सबै अधिकारले निमुखा जनतालाई निर्बाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो,” पौडेलले भने।
राष्ट्रपति पौडेलले व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन आउन नसकेको बताए। “प्रशासनिक रूपमा राज्यको पुनःसंरचना गर्यौं, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर राज्यको चरित्रको भने पुनःसंरचना हुन अझै बाँकी छ,” उनले भने।
अहिले जनआन्दोलनका उपलब्धिलाई फेरि कहींकतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिए। उनले भने, “जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थालाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ। यस्तो अवस्था किन र कसरी आउन सक्छ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु।”
सुशासन नै अमनचैन, विकास र समृद्धिको आधार भएका उनको भनाइ थियो। राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न राष्ट्रपति पौडेलले आग्रह गरे।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत उपस्थित थिए।