उपचार गर्दागर्दै 'सुकुम्बासी'
बालकको उपचार गर्दागर्दै मोरङको जहदा गाउँपालिका–३ को एक परिवार सुकुम्बासी बनेको छ ।
मलद्वार विना जन्मिएका विवेक कामतलाई दिसा गर्नका लागि कान्ति बाल अस्पताल काठमाडौंका चिकित्सकले पेटमा कृत्रिम मलद्वार बनाइदिएका छन् ।
कृत्रिम मलद्वार बनाउन बालक जन्मने बित्तिकै परिवारको नाममा रहेको एक कट्ठा जमिन पनि बिक्री गरिएकाले अहिले सो परिवार सुकुम्बासी हुनुपरेको बालककी हजुरआमा ललितादेवी कामतले बताइन् ।
उनका अनुसार, मलद्वार नभएको बच्चा जन्मिएपछि तत्कालै काठमाडौं लगिएको थियो । चिकित्सकले पेटबाट अस्थायी मलद्वार बनाइदिएर बालकको तौल १० किलो भएपछि पुनः शल्यक्रिया गर्न बोलाएका थिए । रकम अभावमा मलद्वारको शल्यक्रिया हुन नसकेको कामतले बताइन् ।
सुकुम्बासी भएपछि ऐलानी जग्गामा घर बनाएर बसेको बताउने उनी नाति लिएर आर्थिक सहयोग माग्न सोमबार जहदा गाउँपालिका पुगिन् ।
उनलाई गाउँपालिका उपाध्यक्ष शालो साहले कार्यपालिका बैठकले निर्णय गरेर केही रकम सहयोग गर्ने आश्वासन दिएकी छन् ।
बालकलाई दिसा आएको थाहा हुँदैन । बगिरहने भएकाले कपडाको पोका बनाएर पेटमा लगाइदिने गरिएको छ । दिसा बगिरहने भएकाले विद्यालयका शिक्षकले पनि हेला गर्ने गरेको ललितादेवीले बताइन् ।
स्थानीय मा भवानी अधारभूत विद्यालयमा २ कक्षामा अध्ययनरत बालकका बाबु रमानन्द लेवर काम गर्छन् भने हजुरबुवा रिक्सा चलाउँछन् । बच्चा १० किलो तौलको भएकाले शल्यक्रिया खर्च खोजेर पुनः काठमाडौं जाने तयारीमा रहेको ललितादेवी बताउँछिन् ।