क्यानडामा कन्सर्ट गर्दै नेपथ्य
लोक-रक ब्यान्ड नेपथ्य साङ्गीतिक यात्रामा पहिलो पटक क्यानडा जाने भएको छ।
क्यानडाका तीन शहर क्यालगरी, भ्यानकुभर र टोरन्टोमा कन्सर्ट गर्ने तयारी भएको छ। ब्यान्डले अक्टोबरको १ मा क्यालगरीको ‘द प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘द भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुति दिनेछ।
सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानका रूपमा प्रस्तुत गर्ने यो योजना अनुरूप नै क्यानडा यात्रा पनि त्यसैको अर्को शृंखला रहेको ब्यान्डको व्यवस्थापक नेपालयले जनाएको छ। सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशका २८ शहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानडा नेपथ्यले कन्सर्ट गरेको १७औं राष्ट्र हुनेछ।
केही समययता नेपालीहरूका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यहाँ जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढ्दो छ। व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले क्यानडामा नेपालीको संख्या बढेसँगै त्यहाँ नेपाली कलाको बजार बिस्तार हुने सम्भावना देखिन थालेको बताए।
नेपालयले चुस्त व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउन नेपाल र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकलाई कन्सर्टको टोलीमा समेट्दै आएको छ। त्यसै अनुरूप अघिल्लो महीनाको जापान कन्सर्टमा सामेल आठ जना प्राविधिक एवं व्यवस्थापक र ६ सङ्गीतकर्मी सहित १४ जनाको टोली क्यानडा यात्रामा जाने नेपालयले जनाएको छ।
नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङले आफूहरूका लागि क्यानडा नयाँ गन्तव्य भए पनि त्यहाँ रहेका नेपालीहरूले देखाएको उत्साह र कन्सर्टप्रति जनाएको चासोबाट धेरै हौसला मिलिरहेको बताएका छन्। “दशैंको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं,” उनी भन्छन्।
क्यानडाका तीन वटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।
नेपालयका अनुसार अनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको छ र सबै कन्सर्टमा विद्यार्थी समूहलाई विशेष छूटको व्यवस्था गरिएको छ। टिकट तथा अन्य जानकारी नेपथ्यको वेबसाइट र सामाजिक सञ्जालमा उपलब्ध रहेको जनाइएको छ।