यस वर्ष आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण
बजारमा आर्थिक मन्दी चलेको चर्चाबीच प्रमुख विकास साझेदार एशियाली विकास ब्यांक (एडीबी)ले यस वर्ष औसत स्तरको आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ।
एशियन डेभलपमेन्ट आउटलूक सार्वजनिक गर्दै ब्यांकले चालू आर्थिक वर्ष २०८०/८१ मा ४.३ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको हो।
व्यवसायीले माग खस्किएको तथा आर्थिक गतिविधि चलायमान नभएका कारण नेपालको अर्थतन्त्र सङ्कटमा परेको बताउँदै आएका छन्। तर, प्रमुख विकास साझेदार एडीबीले भने अर्थतन्त्र सामान्य स्तरमा रहने आफ्नो अनुमान सार्वजनिक गरेको हो।
नेपालको पछिल्लो दुई दशकको वार्षिक औसत आर्थिक वृद्धिदर ४.५ प्रतिशतको हाराहारीमा छ। गत आर्थिक वर्षमा भने अर्थतन्त्र १.९ प्रतिशत बिन्दुले मात्रै बढेको अनुमान छ।
एडीबीले राष्ट्र ब्यांकले नीतिगत दर ६.५ प्रतिशतमा झारेका कारण बजारको गतिविधि चलायमान् हुने अनुमान गरेको छ। घरजग्गा, थोक र खुद्रा व्यापार, व्यापार तथा होटल रेस्टुराँको कारोबार बढेर यो वर्ष सेवा क्षेत्र गतिमान् हुने अनुमान छ।
एडीबीले यस वर्ष नेपालको मूल्यवृद्धि दर औसतमा ६.२ प्रतिशतमा ओर्लिने पनि आकलन गरेको छ। गत आर्थिक वर्षमा मूल्यवृद्धि दर ७.७ प्रतिशत थियो।
एडीबीले नेपालको बाह्य क्षेत्र सुधार भए पनि वित्त क्षेत्र भने चुनौतीपूर्ण रहेको औंल्याएको छ।