घरजग्गा कारोबार भदौमा पनि शिथिल, लगानीकर्ता घटे
घरजग्गाको कारोबार खुम्चिएका कारण अर्थतन्त्र शिथिल भएको भन्दै सरकारले गत साउन मसान्तमा कित्ताकाट खोलेको थियो। तर, साउनको तुलनामा भदौ महीनामा घरजग्गा कारोबार झन् घटेको छ।
भदौमा देशभरि ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ। जबकि, साउनमा ३९ हजार २६३ वटा लिखत पारित भएको थियो।
यसले एकातिर घरजग्गा क्षेत्रको शिथिलता यथावत् रहेको देखाउँछ भने अर्कोतर्फ भू-उपयोग व्यवस्थापन लत्याएर गरिएको नियमावली संशोधन अनुपयुक्त भएको पनि देखाएको छ।
गत वर्षको भदौ महीनासँग दाँज्दा भने कारोबारमा केही सुधार भएको देखिन्छ। गत वर्षको भदौमा देशभरि ३४ हजार ७२० लिखत पारित भएका थिए।
गत वर्षभरि शिथिल भएको घरजग्गा कारोबार यस वर्षको जेठमा सुधार भएपछि व्यवसायीहरू उत्साहित भएका थिए। जेठ महीनामा देशभरि ५५ हजार ६९ वटा घरजग्गा किनबेच भएका थिए। तर, असारमा यो संख्या ४८ हजार ७७१ मा ओर्लियो भने साउन र भदौमा थप ओरालो लाग्दै गयो।
काठमाडौं उपत्यकामै पनि गत वर्षको तुलनामा भदौमा घरजग्गा किनबेच खस्किएको देखिएको छ। भदौमा काठमाडौं उपत्यकामा तीन हजार ६४६ वटा घरजग्गाको लिखत पारित भएको छ। गत वर्षको भदौमा काठमाडौं उपत्यकामा चार हजार ३०० वटा लिखत पारित भएका थिए। गत साउनमा भने काठमाडौंका नौ वटा मालपोत कार्यालयबाट तीन हजार ४१२ वटा घरजग्गाका लिखत पास भएका थिए।
भदौ महीनामा सरकारले घरजग्गा किनबेचबाट रु. तीन अर्ब चार करोड राजस्व सङ्कलन गरेको छ। साउन महीनाको तुलनामा भने यो करीब १३ करोड बढी हो।
सहकारी क्षेत्रको भयावह मन्दी, ब्यांकको उच्च ब्याजदर तथा घरजग्गामा लगानी गर्ने लगानीकर्ताको निरुत्साहले घरजग्गा कारोबारलाई शिथिल बनाएको व्यवसायीहरू बताउँछन्। सहकारी संस्थाहरू एकपछि अर्को धराशायी भएपछि सहकारी क्षेत्रको घरजग्गामा हुने लगानी ठप्प सरह छ।
जग्गामा फसेको रकम बिक्री गरेर उठाउन नपाएका कारण ठूला लगानीकर्ता पनि थप जग्गा किन्न सक्ने स्थितिमा छैनन्।