बक्यौता रकम तिर्न नसकेपछि पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द
पशुपति क्षेत्रभित्रको सवारीसाधन पार्किङस्थलको सम्झौता रद्द गरिएको छ।
पार्किङ व्यवस्थापनको जिम्मा पाएको तत्त्व इन्भेस्टमेन्ट प्रालिले सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तिर्न नसकेका कारण सम्झौता रद्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
उक्त पार्किङस्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त कम्पनीले सवारी पार्किङ सञ्चालन बापत कोषलाई रु. ४० लाखभन्दा बढी रकम तिर्न बाँकी छ।
सञ्चालक परिषद्को गत भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए। उनले भने, “भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो। आजदेखि हामीले उक्त पार्किङस्थल आफ्नो जिम्मामा लिएका छौं, अर्को टेन्डर प्रक्रिया नहुन्जेल हाल निःशुल्क पार्किङ गरिएको छ।”
तत्त्व इन्भेस्टमेन्टले पशुपति क्षेत्रभित्र रहेको सवारी पार्किङस्थल सञ्चालन गरे बापत कोषलाई मासिक रु. तीन लाख ४६ हजार तिर्ने गरी सम्झौता भएको थियो।कोषले दुईपाङ्ग्रेका लागि रु. १० र चारपाङ्ग्रेका लागि रु. २५ पार्किङ शुल्क तोकेर पाँच वर्षका लागि सम्झौता गरेको भए पनि साढे दुई वर्षमै रद्द भएको छ।
यस्तै, कम्पनीमाथि तोकिएको भन्दा बढी पार्किङ शुल्क उठाएको पनि आरोप छ। कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ। -रासस