नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि इलाका प्रशासन कार्यालय बन्द
नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको सर्केगाड इलाका प्रशासन कार्यालय लामो समयदेखि बन्द छ।
कार्यालय बन्द अवस्थामा रहेपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन्।
कार्यालयमा नागरिकता बनाउन जाँदा कोही नभएकाले आफूहरू समस्यामा परेको अदानचुली गाउँपालिका-२ तुम्च गाउँका भक्त कुलालले गुनासो गरे। तुम्च गाउँबाट झन्डै नौ घण्टा हिंडेर सर्केगाड आइपुगेका सेवाग्राहीले कार्यालयमा कर्मचारी नहुँदा सास्ती खेप्नुपरेको कुलालले बताए।
“बच्चा सहित नागरिकता बनाउन आएकी मेरी भाइबुहारीले नागरिकता बनाउन पाइनन् अब दुई दिन हिंडेरै सिमकोट पुग्नुपर्ने भयो,” उनले भने।
नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फर्किएका ताजाँकोट गाउँपालिका-३, मासपुर गाउँका केशबहादुर रोकायाले पनि इलाका प्रशासन कार्यालय बन्द हुँदा आफ्नो खर्च मात्रै भएको गुनासो गरे।
विभिन्न गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासन कार्यालय पुग्न कम्तीमा पनि दुई-तीन हजार खर्च हुने गर्छ। तर, कर्मचारी नहुँदा नागरिकता नबनाई घर फर्कनुपरेको स्थानीयको गुनासो छ।
इलाका प्रशासन कार्यालयका लागि गाउँपालिकाबाट सिफारिश ल्याएका स्थानीय दन्तराज कटुवालले पनि अब जिल्ला प्रशासन कार्यालय सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिश चाहिने भएको भन्दै दुखेसो व्यक्त गरे।
जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार इलाका प्रशासन कार्यालयका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि गत साउन १६ गते सकिएको थियो। त्यसपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाकामा खटाइएको थियो। तर, उनी भदौ ७ गते जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको हो। -रासस