क्यान्सर विरुद्धको खोप अभियानको समयावधि थप
पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने ‘एचपीभी’ खोप अभियानको समयावधि थप गरिएको छ।
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए। उनले भने, “लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो।”
गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र असोज १ गते आइतबार हरितालिका तीज परेर लगातार विद्यालय बन्द भएकाले खोप लगाउन किशोरीहरू न्यून संख्यामा आएको उनको भनाइ छ। उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएका छन्।
सरकारले नौ हजार ९९९ किशोरीलाई ‘एचपीभी’ खोप लगाउने लक्ष्य राखेको छ। गत भदौ २७ गतेबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन एचपीभी खोप ‘डेमोन्स्ट्रेशन’ का रूपमा सञ्चालन गरिएको हो। २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई खोप दिइने छ।
कोशी प्रदेशको कोशी अस्पताल, मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध छ।
६ महीनापछि यो खोपको दोस्रो मात्रा पनि दिइनेछ। एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ।
यसअघि सरकारले सन् २०१६-१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो।
एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसूस हुने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्छन्। खोपको एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
असुरक्षित यौनसम्पर्क, धूमपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने बताइन्छ। ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख-यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसा विरुद्ध यो खोप प्रभावकारी रहन्छ।
सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन २० हजार डोज खोप चीनबाट ल्याएको थियो।