राष्ट्रकवि घिमिरेको स्मृतिमा १६ लाखको अक्षयकोष स्थापना
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविको स्मृतिमा उनकी पत्नी महाकाली घिमिरेले १६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन्। प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी अध्यक्ष विजयराज न्यौपानेलाई रकम हस्तान्तरण गरिएको छ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रकविका पुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानका तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा र सदस्य यामबहादुर दुरा लगायत उपस्थित थिए।
अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ प्रदान गरिने भएको छ। नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचना लगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले बताए।
पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ। समितिले गरेको सिफारिशका आधारमा राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते पुरस्कार वितरण गरिनेछ।