संविधान निर्माणकर्ता नेम्वाङको सम्झना
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधान निर्माणकर्ताका रूपमा स्मरण गरिएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले नेम्वाङले संविधान निर्माणका क्रममा सहजकर्ताका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
वक्ताहरूले नेम्वाङले संविधान निर्माण, मानवअधिकार, शान्ति प्रक्रिया र न्यायिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे। संविधानको प्रतिरक्षा गर्दै यसको समिक्षा गर्दै जानुपर्नेमा उनीहरूको जोड थियो।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेम्वाङसँगको ५० वर्ष लामो चिनजानको चर्चा गरे। नेपालको संविधान बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको उनको भनाइ थियो। “संविधान निर्माणकर्ताभन्दा पनि ठूलो योगदान जनताको संविधानका रूपमा रहेको मुलुकी ऐनको संशोधनमा गरेको कुरा हामीले बिर्सन हुँदैन,” श्रेष्ठले भने।
संक्रमणकालीन न्याय विधेयक अन्तिम अन्तिम अवस्थामा पुगेको उल्लेख गर्दै उनले यस वेला देशलाई नेम्वाङको ठूलो खाँचो रहेको बताए। “उहाँलाई यो विधेयक पनि टुङ्गोमा पुर्याउनुपर्छ भन्ने लागेको थियो र यसमा प्रयासरत हुनुहुन्थ्यो,” पूर्व प्रधानन्यायाधीश श्रेष्ठले भने, “उहाँको अनुपस्थिति साँच्चै महँगो परेको छ।”
त्यस्तै, पूर्व सांसद राधेश्याम अधिकारीले नेम्वाङसँग पार्टीगत मतभेद भए पनि राष्ट्रिय हितका मुद्दामा जहिल्यै सहमति बनेको बताए। संविधानसभाको दुई पटक अध्यक्ष हुँदा नेम्वाङले महत्त्वपूर्ण विधेयक टेबुल गर्न उचित ढङ्गले सम्बोधन गर्ने वातावरण बनाएको स्मरण गरे। “उहाँ सफल सहजकर्ताको हो। संविधान निर्माणका वेला उहाँले निर्वाह गर्नुभएको भूमिकाले त्यो कुरा पुष्टि हुन्छ,” अधिकारीले भने, “पछिल्लो समय उहाँ संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउने गृहकार्यमा लागिरहनुभएको थियो।”
पछिल्लो समय राजनीतिक नेतृत्व तहले संविधानको जगेर्ना होइन, त्यसलाई छियाछिया पार्ने काम मात्र गरेको र आमनिराशा छाइरहेको वेला संविधानको संशोधन होइन, त्यसको समीक्षा गर्दै सुधार गर्नुपर्छ भन्ने धारणा नेम्वाङले राख्दै आएको अधिकारीले बताए।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेम्वाङको संविधानलाई जसरी पनि जोगाउनुपर्छ भन्ने धारणा रहेको बताए। “राम्रोसँग शुद्धाशुद्धि पनि नहेरीकन जारी भएको संविधान फेरि केलाउनुपर्ने र संविधानलाई जोगाउनुपर्छ र यसलाई असफल हुनु दिनुहुँदैन भन्ने उहाँको धारणा थियो,” रिजालले भने।
एमाले नेता तथा प्रतिनिधि सभाका सांसद रघु पन्तले समन्वयकारी नेताका गुमाएको बताए। उनले भने, “संसदमा बाधा अड्काउका बेला संवाद गराउने व्यक्तिको अभाव खट्किने छ।”
त्यस्तै, पूर्व मन्त्री अग्नि खरेलले संविधान निर्माणको जटिल परिस्थितिमा देशको उच्च नेतृत्व तहलाई सम्झाइबुझाइ गर्ने क्षमता नेम्वाङमा रहेकाले तत्कालीन राजनीतिक गतिरोधले निकास पाएको स्मरण गरे। “उहाँ मानव अधिकारका हिमायती, संविधान निर्माणकर्ता र संसदीय प्रजातन्त्रका अभ्यासकर्ताका रूपमा चिरस्मरणीय रहनुहुनेछ,” खरेलले भने, “उहाँका यी योगदानको स्मरण तथा चर्चा गर्न उहाँको स्मृतिमा प्रतिष्ठान खोलेर केही काम गर्न सकियो भने त्यो पनि सार्थक प्रयास हुनेछ।”
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादमा ‘कानूनी शासन’ को विषयलाई समेट्न नेम्वाङले नै सुझाएको प्रसङ्ग सुनाउँदै खरेलले ठीक मान्छेले ठीक समयमा ठीक सल्लाह दिंदा परिवर्तन प्रभावकारी हुने नजीर बस्ने बताए।
पूर्व मन्त्री प्रदीप ज्ञवालीले जसले पनि जहिले पनि संवाद गर्न सकिने व्यक्तित्व नेम्वाङको भएको बताउँदै उनको त्यो खूबीले संविधान निर्माणमा सहज भएको सुनाए। “उहाँ असाध्यै धैर्य गर्न सक्ने मान्छे हुनुहुन्थ्यो,” ज्ञवालीले भने, “उहाँ जटिलता खुलाउन सक्ने व्यक्ति हुनुहुन्थ्यो। अब हामीमाझ त्यो रिक्तता रहनेछ। संसद्मा पनि त्यो रिक्तता रहनेछ। राजनीतिमा पनि त्यो रिक्तता रहनेछ।”
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालको पहलमा सम्पन्न भएको हो। उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना, पूर्व सचिव कृष्ण ज्ञवाली, मानवअधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाईँ, पत्रकार वसन्त बस्नेत लगायतले धारणा राखेका थिए।
कार्यक्रममा न्यायाधीश सपना प्रधान मल्ल, पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की, महान्यायाधीवक्ता दिनमणी पोखरेल लगायत उपस्थित थिए।