काठमान्डुमा नदेखिएको काठमान्डु
२९ वर्षपछि कालेबुङबाट काठमाडौं लाग्दा लेखक हर्कबहादुर छेत्रीको मनमा नेपाल कस्तो भयो होला भन्ने खुल्दुली थियो। त्यसैले जहाजको टिकट काट्नै खोज्दा छेत्रीले भने, ‘भुइँयात्रा गर्नुपर्छ। आकाशबाट हेरेको नेपाल त के नेपाल र!’
अगस्टको एक बिहान सधैं झैं ह्वाट्सअप खोलेर हेरें। कवि, पत्रकार भाइ मनोज बोगटीले निम्तो पोस्ट गरेका रहेछन्- ‘कलिङ लिट् फेस्ट, सेप्टेम्बर १, २, ३।’
सोचें- यो त राम्रो मौका हो नेपाल जाने। यसअघि दुईपल्ट गएको थिएँ, सन् १९९५ मा। पहिलोपल्ट भोटाङे शरणार्थीको प्रवक्ता भएर ‘पीपी-२१’ सम्मेलनमा अनि दोस्रोपल्ट हिमाल साउथएशियाका सम्पादक कनकमणि दीक्षितको आयोजनामा भएको ‘साउथएशिया जर्नालिस्ट मीट’ मा पत्रकारको हैसियतले।
अचेल दार्जीलिङका पत्रकार, लेखक र कवि नेपाल गइरहन्छन्। प्रकाशक पनि किताब छपाउन त्यतै धाउँछन्। प्रकाशनको गुणस्तर उच्चकोटिको छ त्यता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभिन सक्ने प्रकारको।
मनोजलाई फोन घुमाएँ।
“हावाजहाजमा जानुपर्छ सर,” उसले भन्यो।
“भाइ, भुइँयात्रा गर्नुपर्छ। आकाशबाट हेरेको नेपाल त के नेपाल र! हेरेकै हो अघि पनि दुई पल्ट। यसपालि चैं गाडीमै जाने सोचेको छु।”
अगस्ट ३१ को बिहान हामी पाँच भाइ काँकडभित्ताबाट लाग्यौं काठमान्डुतिर।
“काठमान्डुसम्मै बाटो मैदानै मैदान छ कि पहाड पनि भेटिन्छ भाइ?” मनोजलाई सोधें।
जति नै राम्रो किन नहोस्, मलाई मैदानको बाटो उराठ लाग्छ। भूगोललाई पनि जातमा बाँड्न परे म पहाडलाई नेपाली भन्छु, मैदान जोसुकैले लाँदा हुन्छ।
“होइन नि सर, तेर्सो त बर्दिबाससम्म मात्र हो। त्यहाँबाट त उकालो लाग्छ। मजा आउँछ, सलल छ बाटो। सिन उस्तै राम्रो,” मनोजले जवाफ दिए।
इटहरी कटेपछि बाटो केही खराब रहेछ। ठाउँ ठाउँमा जेसीबीले खन्दै थियो। सायद ‘फोर लेन’ को परिकल्पना होला। दिउँसो २ बजे बर्दिबास पुग्यौं। त्यहींको एउटा थकाली होटलमा खाना खान पस्यौं। एउटा बटुकामा कोइलाकै जस्तो निक्खर कालो झोल देखेर ‘वेटर’ लाई सोधें, “के हो भाइ यो?”
“कालो दाल सर...! यो चैं ओरिजिनल मुस्ताङको कालो दाल,” जवाफ आयो।
“हाम्रो कालो दाल त पहेंलो हुन्छ दार्जीलिङमा। कालो दाल भनेर जोतेको रै’छ हामीलाई,” मनोजले भने।
तर, चार दिनपछि त्यही दाल काठमान्डुमा ‘बोडी’ भनेर दिइयो। दुईमा एकले त पक्कै ढाँटेका हुन् हामीलाई।
गर्मी अत्यधिक थियो। बर्दिबासमा खाना खाएर लाग्यौं, सिन्धुलीतिर। मलाई हेटौंडा पनि हेर्ने इच्छा थियो, तर सिन्धुली पनि गीतहरूमा निकै सुनेको नाम हो। २५-३० वर्षअघि दार्जीलिङ पहाडमा रेडियो नेपाल अनि अल इन्डिया रेडियोको ‘बिनाका गीतमाला’ नै त लोकप्रिय थिए।
रेडियो नेपालबाट हेटौंडा अनि बाँसबारी छाला जुत्ताको विज्ञापन निकै बज्थ्यो। तर, सुनिएका कतिपय ठाउँ सुन्नसम्म मात्रै ठीक हुने रहेछन्। किनकि सुनेपछि मनमा जुन चित्र बन्छ, यथार्थमा त्यस्तो नभेटे नरमाइलो लाग्न सक्छ। अंग्रेज कवि वर्ड्सवर्थको ‘यारो भिजिटेड’ र ‘नट भिजिटेड’ अनि ‘रिभिजिटेड’ कवितामा जस्तै।
कविले ‘नट भिजिटेड’ मा स्कटल्यान्डको प्रसिद्ध नदी यारोबारे जुन कल्पना गरेका थिए, बहिनी डोरोथीसित साँच्चै हेर्न जाँदा त्यस्तो नपाएपछि कति निराश भएका थिए, ‘भिजिटेड’ मा! आफूलाई सान्त्वना दिने राम्रो विकल्प हो, साहित्य। हेटौंडाको बाटोलाई कल्पनामै सीमित राखें यसपालि।
बर्दिबास पार गरेर केही अघि बढेका मात्र थियौं, एउटा प्रहरी नाकामा रोकियो। भन्सारको कागजपत्र जाँच गरिसकेपछि त्यहाँका अधिकारीले भने, “६ बजेभित्र तपाईंहरूले सिन्धुली पार गर्न सक्नुभएन भने आज काठमान्डु पुग्न सक्नुहुन्न, नाकामा तपाईंहरूलाई रोक्छ। भारतबाट आउने गाडीलाई मात्र लागू छ, यो नियम। किनकि, बाटोको भेउ नपाएका चालकहरू धेरै नै दुर्घटनामा परेका छन्।”
मैले भनें, “हामी दार्जीलिङेहरू त्यस्तै पहाडमा त गाडी चलाउँछौं, त्यसैले पहाडी बाटो हाम्रा निम्ति नयाँ कुरा होइन।”
त्यसपछि हामी हाँकियौं। मनोज र तिनका साथी उमेश पछिल्लो सीटमा मस्त निदाइरहेका थिए। सिन्धुलीको घुमाउने बाटो ठ्याक्कै कालेबुङको लाभाबाट गोरुबथानतिर झर्ने बाटो झैं रहेछ, गुणस्तर भने अझ राम्रो। बनाइएको होइन, जमीनबाटै पलाए झैं। बाटोका दुवैतिर लगाइएका देवल अझ राम्रा। मलाई भने आफ्नै कालेबुङ, दार्जीलिङका कुनै भ्रष्ट किरीनीको फुलेको पेट झैं देखिने देवल याद आइरहे।
बाटोमा ससाना चिया पसल देख्दा केही बेर अडिन मन लागे पनि नरोकी हिंड्यौं। प्रहरीका नाका पनि भेट्यौं दुई-तीन ठाउँ। तर, उनीहरूले इशारा गर्नुअघि नै हाम्रो गाडीले नाका पार गरिसकेको हुन्थ्यो। साँझको ७ बज्नै लाग्दा धुलिखेल पुग्यौं। अब कसैले रोक्ला भन्ने डर थिएन। त्यहीं केही बेर बिसाएर चिया पियौं अनि आरामसित राजधानीतर्फ लाग्यौं।
मनोजले भने, “मैले उता साथीहरूसित कुरा गरेको छु। एउटा सेसन चैं त्यहाँ हाम्रो पनि मिलाएको छु। दार्जीलिङको वर्तमान साहित्य र राजनीति मिलाएर गरौं न केही गफ हगि?”
सुनेर मलाई खुशी लाग्यो, डर पनि। डर यसकारण कि अन्तर्राष्ट्रिय स्तरमा हुँदै गरेको साहित्यिक महोत्सवमा विना तयारी र अध्ययन कसरी बोल्ने? खुशी यसकारण कि अचानक म एक सामान्य श्रोताबाट वक्तामा पदोन्नत भएको थिएँ। फेरि राजनीति त आफ्नो ‘सिलेबस’ भित्रैको कुरा पर्यो।
होटल पुग्दा रातको ९ बजिसकेको थियो। केही बेरपछि हामीलाई भेट्न आइपुगे मनोजका साथीहरू। उनीहरू सबै सांग्रिला प्रकाशनसित सम्बद्ध रहेछन्। भारतमा उनीहरूको प्रकाशनको प्रतिनिधि थिए, मनोज। एक चोटि सिलगडी गएका वेला म पनि पुगेको थिएँ, उनीहरूको कार्यालयमा। राजा पुनियानी र मनोज थिए। प्रधान नगरको त्यो कार्यालय मलाई लोभलाग्दो लागेको थियो। चिया/कफी पिउँदै किताब पढ्न पाइने।
पछि सांग्रिला कालेबुङ बसाइँ सर्यो। महीनामा एक दिन गोष्ठी हुन्थ्यो त्यहाँ, पुस्तक विमोचन पनि। एउटा गोष्ठीमा मैले पनि पत्रकार रविश कुमारको पुस्तक मुक्त आवाजबारे धारणा राखेको थिएँ। कालेबुङमा बिस्तारै साहित्यिक माहोल तयार हुँदै थियो, अचानक कोरोनाभाइरसको प्रकोप शुरू भयो। अनि सांग्रिला पनि बन्द भयो।
हामीलाई भेट्ने टोलीमा आएकी एक युवतीले परिचय दिंदै भनिन्, “मेरो नाम आन्विका गिरी। तपाईंहरूको कार्यक्रमको मध्यस्थकर्ता मै हुँ।”
परिचयको आदानप्रदानपछि उनले थप प्रस्ट्याइन्, “तपाईंहरूको कार्यक्रम अन्तिम दिनको अन्तिम सत्रतिर राखिएको छ। छोटकरीमा दार्जीलिङमा कसले, किन अनि के लेख्दै छ भन्नेसम्म सीमित राखे असल होला। किनकि, हामीलाई समय पनि ४५ मिनट मात्र छ।”
त्यसपछि नेपाल र दार्जीलिङको समाज, साहित्य साथै राजनीतिको चर्चा भयो। हेर्दा कलिला देखिने ती पत्रकारको छिप्पेको कुरा सुनेर म छक्क परें। विशेषगरी महिला पत्रकारहरू। भूगोलले पनि चिन्तनको विषय निर्धारण गर्छ कि कसो? उनीहरू देश र अन्तर्राष्ट्रिय राजनीतिको कुरा गरिरहेथे। म भने देश हुनुको लाभबारे सोचिरहेथें। मनमा बालकृष्ण समको उक्ति दोहोरिइरहेथ्यो, ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि...।’
दार्जीलिङमा राजनीतिक दलको कुरा गर्न जातिको हितको थेगो प्रयोग गर्छौं। तथाकथित ठूला-ठूला विद्वान् पनि तीन थुम्का पहाडको भूगोलभित्र कैद छन्। भूगोलले मस्तिष्कमै सिमाना कोरेको छ, सिर्जनामा पनि। हामी गोर्खाको परिचय लेख्छौं, ‘पर्टापट्टा’ लेख्छौं। भाषा मान्यता, भानुजयन्ती र गोर्खाल्यान्ड लेख्छौं। केन्द्र र राज्य सरकारको हेपाइ र हेलचेक्र्याइँ लेख्छौं। फूल र जूनका कुरा त जतैकाले पनि लेख्छन् भने हाम्रा त झन् के कम!
सृजनशीलता पनि यतातिर विरोधको बोटमा बटारिएको लहरा झैं छ। विरोधको आकारले सिर्जनाको उचाइ तय गर्छ। नेपाललाई हामी कल्पनामा समेत छिर्न दिंदैनौं। दार्जीलिङलाई दिल्लीले नेपालको चश्माले हेर्छ अनि मन नपर्ने प्रत्येक कुरा नेपालसित जोड्छ।
०००
काठमान्डुको भव्य होटल हिमालयको प्राङ्गणमा ‘कलिङ लिटरेरी फेस्टिभल’ आयोजित थियो। मलाई कालेबुङको पुरानो हिमालयन होटल याद आयो, जहाँ बसेका वेला महाकवि देवकोटाले ‘राम्रो लाग्यो कालिम्पोङ’ शीर्षक कविता लेखेका थिए। त्यही हिमालयन होटलको चिहानमाथि आज ‘मे फेयर’ को भव्य भवन खडा छ।
संसारमा अरूतिर कस्तो परिवेश छ, थाहा भएन, तर कालेबुङ-दार्जीलिङ पहाडमा हर पिढी आफ्नै इतिहास तयार पार्न लागिपरेका कारण ‘हेरिटेज’ र ‘लिगेसी’ का कुरा शब्दमै सीमित छन्। एउटा व्यक्तिले जीवनकालमा कैयौं चोटि आफ्नो स्मृति भत्किएको बीभत्स दृश्यको सामना गर्नुपर्छ।
पहिलो दिन, होटल हिमालयको फराकिलो आँगनमा मानिससँगै गाडीको घुइँचो थियो। म कसैलाई चिन्दैनथें। मनोजलाई भने अँगालो मार्दै र हात मिलाउँदैमा फुर्सद थिएन। मसित परिचय गराइएका नाम को-को थिए, धेरैजसो नयाँ भएकाले याद रहेन। मञ्जुल अनि श्यामल भने म शुरू शुरूमा साहित्यसित लहसिंदाका गरिमा र मधुपर्कीय दिनका नाम थिए। गरिमाको मृत्यु भएको खबर सुन्दा दुःख लाग्यो। तर, यी दुई कवि भेट्न पाउँदा रमाइलो पनि लागिरहेथ्यो। कवि ठानेको थिएँ, सामान्य मानिस नै पो रहेछन्।
अन्तर्राष्ट्रिय प्रतिनिधिलाई मध्यनजर गरेर होला, महोत्सवमा दुई वटा मञ्च तय गरिएका थिए। एउटा होटलकै वातानुकूलित हल अनि अर्को खुला मैदानमा। खुला मैदानको मञ्च शायद घरेलु प्रतिनिधिका निम्ति थियो। मलाई लाग्यो- संगोष्ठीको विषयवस्तु तय गर्नुमा भवनको पनि ठूलै भूमिका हुँदो हो। अझ संगोष्ठीको शीर्षकले पो भवन निर्धारण गर्छ कि?
अनि अंग्रेजी भाषा त्यसै पनि ठन्डा देशको भएको कारण उसमा ज्यादा गर्मी सहने क्षमता हुँदैन, त्यसैले वातानुकूलित भवन चाहियो। २०० वर्ष अंग्रेजी उपनिवेशको बानी भएका लेखकको एउटा वर्गले त्यही मानसिकतालाई आफ्नो व्यवहार बनाएको छ। यस्तो कृत्रिम व्यवहारलाई फस्टाउन पनि त्यस्तै कृत्रिम वातावरण चाहिन्छ।
पाल टाँगिएको खुला मञ्चमा कविगोष्ठी हुँदै थियो। युवायुवतीको एक झुन्ड महोत्सवको ठूलो साइनबोर्डअघि फोटो खिच्न व्यस्त थियो। हामी सोझै मञ्चतिरै ओर्लियौं। पालको सिलिङबाट चार-पाँच वटा पङ्खा गरम हावा बाहिर फाल्दै थिए।
त्यहाँ उपन्यासकार महेशविक्रम शाहसित भेट भयो। फेसबूकको फोटोबाटै चिनिहालें अनि गएर परिचय दिएँ। उनको कृति सिपाहीकी स्वास्नीबारे चर्चा भयो। मेरी ठूली छोरी कृतिकाले उक्त पुस्तक अंग्रेजीमा अनुवाद गर्दै छे। यही सिलसिलामा केही चर्चा भएपछि म साथीहरू बसेको लहरमा फर्किएँ।
केही औसत कविता सुनेपछि मलाई लाग्यो- यत्तिको त उतै दार्जीलिङमा पनि सुन्न/पढ्न पाइन्छ भने व्यर्थै यो गरम किन सहने? त्यहाँ मैले पढ्दै आएका नेपाली कविमध्ये एकै जनाको पनि कविता सुन्न पाइनँ। जो-जति आमन्त्रित थिए, दुई-चार जना बाहेकलाई नेपालका प्रतिनिधि कवि भन्न शायदै मिल्ला।
मलाई मन पर्ने दिनेश अधिकारी र श्रवण मुकारुङहरू त उपस्थित नै थिएनन्। दार्जीलिङमा झैं त्यहाँ पनि आआफ्नो दलका लेखक-कविहरूले नै आयोजक अनुरूप निमन्त्रणा पाउने हुन् कि! महोत्सव आयोजकलाई “अच्छा...फलाँ साहेबको तो बुलाया ही होगा...!” भन्ने प्रकारका फोन पनि आउने गरेको सुनें।
तीन-चार शान्त अनि समृद्ध अनुहारहरू मञ्चको शोभा बढाएर विराजमान् थिए। सत्रको बहस भारतीय रङ्गकर्मी दिव्या दत्तको अगुवाइमा भइरहेथ्यो। बहसको विषय ‘सीताको चरित्र अनि व्यक्तित्व’ यस्तै केही थियो। प्रश्न सोध्ने र उत्तर दिने दुवैको अनुहारमा दिव्य मुस्कान देखेपछि लाग्यो, अनुकूल परिस्थितिमा त प्रतिवादहरू पनि कति सभ्य अनि कलात्मक हुँदा रहेछन्। देखिएकाभन्दा लुकाइएका पक्ष खोज्ने बानीले होला, मलाई उक्त बहसको जरा अन्यत्रै होला भन्ने लागिरह्यो।
हुन पनि धरानमा भर्खरै गाई काटिएको काण्ड उत्कर्षमा थियो। फेसबूकमा वाक्युद्ध जारी थियो। ‘दुई मिनटमा धरानको धूलो उडाइदिने’ अनि ‘लु हेरौं त को आउँदो रहेछ धूलो उडाउन’ भन्ने प्रकारका वाक्य हानाहान भइरहेका वेला ‘सीताको चरित्र अनि व्यक्तित्व’ निरपेक्ष भएर बुझ्न सकिने विषय थिएन। मनमा जिज्ञासा लागिरह्यो- यो संयोग मात्र हो कि प्रयोग?
साँझमा देवेनजी (देवेन्द्र भट्टराई)ले फोन गरे, “भोलि १२ बजे भेटौं है, सर। पहिला कान्तिपुर कार्यालयमा आउनुस्, त्यसपछि जाउँला कार्यक्रममा।”
०००
भोलिपल्ट कान्तिपुर दैनिकको कार्यालय पुगें। देवेनजीले सानो बातचीत रेकर्ड गरेर कान्तिपुरमा लेखिएका मेरा लेखहरूको हिसाब पनि थमाइदिनुभयो। नेपालयात्राको खर्च जुटेकोमा ढुक्क भएँ। यता दार्जीलिङमा सन् १९९३ देखि खबरकागजमा लेखेका लेखहरूको यसरी नै मेहनताना पाइन्थ्यो त मैले आरामसित परिवार चलाउन सक्ने रहेछु।
दोस्रो दिन बिहानैदेखि गर्मी भएकाले सोझै वातानुकूलित हलतिर लाग्यौं। निमन्त्रणापत्र झिकेर हेरें- सिनेमाबारे चर्चा रहेछ। सहभागीका रूपमा बलिउडकी प्रसिद्ध अभिनेत्री मनीषा कोइराला र नेपालकै प्रसिद्ध कलाकार नीर शाहको नाम देखेपछि म उत्साही भएँ। मनीषालाई सशरीर हेर्न दर्शकबीच जसरी ठेलमठेल भयो, मलाई लाग्यो- बलिउड अभिनेत्रीलाई उसकै देशको राजधानीमा हेर्न मभन्दा धेरै नेपाली नागरिक नै आतुर थिए।
मलाई भने कता-कता मनीषा नेपालकी नभएर हाम्रै जस्तो लागिरह्यो। एक मनले यसो पनि भन्दै थियो, ‘धत् लाटा... मनीषा वर्गकाहरू पनि कतै कुनै जाति, धर्म र देशका हुन्छन् र? जाति, धर्म, भाषा र देश त मध्यमवर्गीय प्राथमिकता हुन्। समाजको फेद अनि टुप्पोमा हुनेहरूको निम्ति त यस्ता शब्द अर्थहीन छन्। तर, कुनै वेला यी शब्द मध्यमवर्गीय सिमाना पार गरेर कि फेद कि टुप्पोमा पुग्छन् अनि देशमा दङ्गाको परिस्थिति तयार हुन्छ।’
बहसकै क्रममा नेपाली सिनेमाले सरकारबाट पर्याप्त सहयोग नपाएको कुरा उठ्यो। नीर शाहले चलचित्र जगत्को तत्कालीन संगठनले हिन्दी सिनेमा चलाउँदा पाइने सुविधा (आर्थिक) बारे खुलासा गरेर त्यो परिस्थिति तयार पार्न चलचित्र संगठनकै हात रहेको कुरा प्वाक्कै भनिदिए। अहिले व्यापारले नजितेको कुन क्षेत्र होला र...! तीनदिने महोत्सवमा मेरा निम्ति ‘हाइलाइट’ त्यही सत्र भयो।
बागबजारस्थित हार्दिक होटलमा थियो, हाम्रो बसाइ। बेलुकीपख त्यहीं नेपाली लेखक-पत्रकार भेला हुन्थे। नेपालभित्र नेपालीले नै आफ्नो जरा नभेट्टाएको पीडा सुनाउँथे उनीहरू।
“काठमान्डु त खाँटी नेपालीहरूको कहाँ हो र सर...? अरूले नै खाइसके।”
“नेपाल पनि राजनीतिक नेपाल मात्रै छ भाइ, तर आर्थिक नेपाल त नेपालीको हातमा कहाँ छ र?”
धेरै वर्षअघि दाइ मदन तामाङले दार्जीलिङस्थित तिनकै घरमा भनेको सम्झना आयो।
काठमान्डुमा उपलब्धिहरूको चर्चा एउटै सुनिएन, गुनासो मात्रै। ससुराली जाँदा पनि बाह्र हातको पिंडालु भनेको यही होला!
०००
बागबजारबाट हिमालय होटलतिर लाग्दा बाटोको देब्रेतिर झलक्क रत्न पुस्तक भण्डार देखें। नेपाली साहित्यमा चासो लाग्न थालेदेखि नै सुनेको यो पुस्तक भण्डारको चित्र मेरो कल्पनामा यस्तो थियो- मूल सडकदेखि तीन-चार सिंढी उक्लेपछि एउटा ठूलो पसल, चारैतिर किताब, बीचबीचमा पढ्न-लेख्नलाई गोलाकार मेच अनि वरिपरि फराकिलो चौकी, यस्तै यस्तै। गान्तोकको रचना बुक्स जस्तो, तर कैयौं गुना ठूलो। यहाँ देखिएको रत्न पुस्तक त कालेबुङ डम्बर चोकअघि रहेको उपासकको पुस्तक पसल जस्तो पो लाग्यो।
जसरी ‘कलिङ फेस्ट’ मा मैले काठमान्डुको साँचो साहित्यिक अनुहार देखिनँ, त्यसरी नै गाडीबाट झुलुक्क देखेको रत्न पुस्तकको पनि शायद त्यो साँचो अनुहार होइन। मेरो मनमा त पुतलीसडकको पनि अर्कै छवि थियो- बाटोको एकातिर देवकोटा, भूपी शेरचन, ताना शर्मा र ध्रुवचन्द्र गौतमहरू अनि अर्कातिर मञ्जुल, श्रवण, दिनेश, श्यामल लगायत थुप्रै अन्यहरू संसार भुली गफिंदै हिंडेको।
शहरलाई कसरी चिन्ने भन्नेबारे जर्मन लेखक वाल्टर बेन्जामिनले एउटा सुन्दर लेख लेखेका छन्- “हराउनुपर्छ शहरमा, बाटो बिर्सनुपर्छ। रङ्गालिएर हिंड्नुपर्छ जताततै अनि अलपत्र पर्नुपर्छ।”
त्यसै कारण मैले गाइडेड काठमान्डु हेरें। प्रदर्शनीमा सजाइए झैं एउटा आत्महीन काठमान्डु। बरु महोत्सव बाहिर भेटिएका साथीहरूको गफमा पो काठमान्डुको केही गन्ध थियो।
३ सेप्टेम्बर, महोत्सवको अन्तिम दिन।
वातानुकूल हलमै केही चल्दै थियो। म त्यतै पसें। मञ्चमा सुहासिनी हैदरसित कनकमणि दीक्षितलाई देखेर चासो बढिहाल्यो। अन्त्यतिर पुगेकाले मैले मूल मुद्दा त राम्ररी केलाउन सकिनँ, तर बहस अखण्ड भारतको वरिपरि रहेको अनुभव गरें। कनकले अन्तिमतिर जोड दिएर भनेको वाक्यको सार थियो, “अरू सबैथोक ठीकै होला हो, तर अखण्ड भारतको अवधारणाबारे भने आई ह्याभ अ बिग नो!”
वातानुकूलित हल तालीको गडगडाहटले रन्कियो। सामुन्ने बसेकी महिलाको अनुहार रिस हो कि लाजले रातो भयो।
त्यो सत्र सकेर बाहिर निस्कँदै गरेका कनकसित मेरो भेट भयो। त्यतिन्जेलमा देवेनजी पनि आइपुगे। त्यही होटलको रेस्टुरेन्टमा बसेर हिमाल पत्रिकाका दिनहरूको संस्मरणीय चर्चा भयो। त्यही दिउँसो कनकको स्पेन यात्रा रहेछ। मदन पुरस्कार पुस्तकालयमा केही समकालीन विषयमा चर्चाको चाँजो मिलाउने जिम्मा देवेनजीलाई दिएर उनी हिंडे।
अपराह्न साढे ३ बजे हाम्रै पालो थियो। एउटा खुकुलो शीर्षक दिइएको थियो, ‘के, कसले र किन लेख्दै छन् दार्जीलिङमा?’
भाइ मनोज, बहिनी बबिता मादेन अनि म थियौं प्यानलमा। हाम्रा निम्ति तोकिएको ४५ मिनट पर्याप्त नभएकाले बाख्रा चरे झैं विषयहरूको टुप्पो टुप्पो चहार्दै दगुर्नुपर्यो। मैले कम समय पाएको गुनासो गरें जो अहिले सोच्दा उपयुक्त थिएन। अन्तर्राष्ट्रिय स्तरको तीन दिनको कार्यक्रम सम्पन्न गर्नु आयोजकका निम्ति पनि सहज काम होइन।
खुला मञ्चमा त्यस दिन अन्तिम कार्यक्रम कविगोष्ठी थियो। २५ जना कवि थिए। मेरो गुनासो सुनेर होला, आयोजकले त्यस सत्रको सभापति मैलाई बनाए। पद आकर्षक थियो, तर २५ वटा कविता लगातार सुनिरहन सानो धैर्यले पुग्दैन। दर्शकदीर्घामा रहेका कवि मञ्जुल र श्यामल समेत बीचबीचमा हराएको मैले पाएँ।
“कति कविता सुन्दा त तुरुन्तै थानामा गएर कवि विरुद्ध प्राथमिती दर्ता गरूँ झैं लाग्यो,” गोष्ठी सकिएपछि मैले देवेनजीलाई भनें। उनी दिल खोलेर हाँसे।
०००
अघिल्लो दिन तय भए अनुरूप म दिउँसो १ बजे मदन पुरस्कार पुस्तकालय पुगें। त्यहाँ सयौं वर्ष पुराना पाण्डुलिपि ‘डिजिटाइज’ गरिंदै रहेछन्। कर्मचारीले सबै बेलीविस्तार लगाइदिए। मैले पनि आफ्नो कथासंग्रह तपाईं र हर्कबहादुर अनि बद्रीनारायण प्रधानको उपन्यास मौलीको अंग्रेजी अनुवादको एक-एक प्रति सुम्पिएँ। पुस्तकालयले मलाई नेपाली साहित्यको बृहत् इतिहासका ठेली थमायो। पुस्तकालयको आफ्नै सुन्दर कम्पाउन्ड रहेछ। क्याफेसितै जोडिएको पुस्तक पसलमा भीड लागेको देख्दा साह्रै खुशी लाग्यो।
त्यस दिनको वार्तामा सहभागी हुन अतिथिहरू धमाधम आउँदै थिए। म यलमाया केन्द्र बाहिरको खुला आँगनमा शरद प्रधान, डा. पुष्पराज भट्ट, देवेन भट्टराई अनि पुस्तकालयका अन्य कर्मचारीसित गफिंदै थिएँ। शरदले हठात् एक वयस्क दम्पतीसित मेरो परिचय गराए। भर्खरै उपन्यास मुगलान पढिसिध्याएको थिएँ। भूटानी शरणार्थीको आन्दोलनमा सक्रिय रूपले जोडिएर सिलगडी झेलसम्म खटेको मलाई यसले गहिरो छाप पारेको थियो। सोही पुस्तकका स्वनामधन्य लेखक गोविन्दराज भट्टराई पत्नी सहित उपस्थित थिए मेरा सामु।
“उसै त म यस प्रकारका गोष्ठीहरूमा जाँदिनँ... तर तपाईंलाई सुन्न मन लागेर आएको!”
भट्टराईको यो कथनलाई मैले नेपाल भ्रमणको सबैभन्दा ठूलो उपलब्धि मानेको छु।
नेपाली साहित्य भारतीय नेपाली सर्जकलाई किनारामा राखेर पूर्ण हुँदैन भन्ने ध्येयले शरद प्रधानले गत वर्ष स्मृति-विम्ब पुस्तक प्रकाशन गरेका रहेछन्। एक प्रति मैले पनि उपहार पाएँ। रामलाल कटुवाल, गुमानसिंह र पारसमणि प्रधानदेखि नरदेन रुम्बा, सानुमती, उन्द्र र कुमार प्रधानसम्म समेटिएको बहुमूल्य पुस्तक लाग्यो यो।
केही सामान्य गफपछि हामी पस्यौं हलभित्र। देवेन थिए, सहजकर्ता। तिनले मेरो घर कालेबुङ आउँदा खिचेको शरणार्थीबारेको एउटा कविता जतनसित सम्हालेका रहेछन्। वार्ता सकेर दिउँसो ३ बजेतिर हल बाहिर निस्कँदा हिमालय टीभीका कर्मचारी मलाई पर्खिरहेका रहेछन्। अनि हामी त्यतैतिर हाँकियौं।
धेरै लामो तर रमाइलो वार्तापछि साँझको ६ बजेतिर स्टुडियो बाहिर निस्कँदा अनलाइनखबरका प्रतिनिधि पर्खिरहेका थिए। नेपाल भ्रमणको पूरै लाभ उठाउने ध्येयले म चूपचाप गाडीमा बसें। अनलाइनखबरको कार्यालय पुग्दा भुइँतलाको ठूलो कोठामा कर्मचारी टीभीमा झुत्तिएर भारत-नेपालको खेल हेर्दै थिए, एशिया कप क्रिकेटको।
सम्पादक वसन्तले सोधे, “कसले जित्छ जस्तो लाग्छ सर?”
मैले पनि घुटुक्क ‘कूटनीतिक’ थुक निलेर भनें, “जित्नु चैं भारतले नै जितोस् भन्छु, तर खेल्नु चैं नेपालले राम्रो खेलोस्।”
सुनेर अलमल्ल परेका वसन्त खिसिक्क हाँसे।
०००
नेपालमा शनिबार छुट्टी हुन्छ भन्ने मलाई थाहा थिएन। हाम्रो सोमबार त उनीहरूको आइतबार रहेछ, अनि आइतबार चाहिं शनिबार। शनिबारै महानगरका मेयर बालेनले आफ्नो फेसबूक स्टेटसमा सिंहदरबारमा आगो लाउने कुरा लेखेका थिए। पर्सिपल्ट सम्पादक वसन्तले यही प्रश्न मेरा सामु राखेर मन्तव्य जान्न चाहेका थिए।
त्यो मेरो अन्तिम रात थियो काठमान्डुमा। धेरै पत्रकार साथीहरू आए भेट्न। बालेनको त्यही स्टेटसबारे चर्चा भयो।
“त्यसरी उत्तेजित भएर कहाँ हुन्छ? नेता भएपछि आफ्नो कुराले जनतामा कस्तो असर पर्छ भन्ने सोचेर बोल्नुपर्छ,” एक पत्रकारले भने।
“त्यो चाहिं अलिक ओभर कन्फिडेन्सको सङ्केत हो। जे भने पनि उसका समर्थकहरूले समर्थन गर्ने नै हुन् भन्ने कन्फिडेन्स क्या!” अर्का भाइले थपे।
मलाई पनि त्यो कुरा ठीकै लाग्यो। तर, त्यसपछि तिनका समर्थकलाई पनि आफ्नो नेताको भूल भएछ भन्ने लागेछ क्यारे, तुरुन्तै बालेनले आफ्नो फेसबूक स्टेटस परिवर्तन गरे। अनि समर्थकले पनि बचावमा सक्दो लेखे। अन्धभक्तमाथि नेताको अन्धविश्वास नै नेतृत्वको पतनको सङ्केत हो भन्ने कुरा हामीले भारतमा, आफ्नै कालेबुङ-दार्जीलिङ पहाडमा भोगेको सत्य हो।
भारतको स्वाधीनता संग्राममा आन्दोलनकारीले चौरीचौराको एउटा प्रहरी नाकामा आगो लगाएका थिए। प्रहरी भित्रै खरानी भए। त्यो घटनापछि महात्मा गान्धीले आन्दोलन नै फिर्ता लिए, अनि अनशन बसे। त्यसपछि देशको कुनै पनि कुनामा स्वतन्त्र संग्रामीले हिंसाको बाटो अपनाएनन्। त्यसरी अहिंसाको आवाज संसारभरि शक्तिका रूपमा उदायो।
सन् १९८६ मा दार्जीलिङमा सुवास घिसिङले गरेको गोर्खाल्यान्ड आन्दोलन हिंसाको आह्वानसितै शुरू भएको थियो। एकपल्ट हतियार हात परेपछि त्यसले निशाना खोज्छ। राज्य सरकार विरुद्ध उठाइएको हतियार पछि गोर्खाहरूले आपसी झगडामा प्रयोग गरे। फलस्वरूप एक हजार २०० मानिस मारिए।
घिसिङले आन्दोलनको शुरूमै हिंसालाई नकारेको भए ज्यान-मालको खति हुने थिएन। विना शर्त समर्थनले घिसिङलाई एकतन्त्री मात्र बनाएन, सामाजिक संरचनामा पनि खलबली ल्यायो। सन् २००७ मा विमल गुरुङ यस दिशामा सतर्क थिए, तर समय बित्दै जाँदा अथाह समर्थनकै प्रभावमा उनी पनि सन् १९८६ कै रोगले ग्रस्त भए।
बालेनको फेसबूक स्टेटसले मलाई आफ्नै नेताहरूको स्मरण गरायो।
(भारतको कालेबुङमा रहेर राजनीतिसँगै नेपाली भाषा-साहित्यको सेवामा समर्पित छेत्रीका ‘उहिले नै एउटा देशमा’, ‘परिधिभित्र’, ‘तपाईं र हर्कबहादुर’ लगायत कृति प्रकाशित छन्। उनी पश्चिम बंगालको कालिम्पोङ क्षेत्रबाट गोर्खा जनमुक्ति मोर्चा पार्टीका तर्फबाट सन् २०११ मा पश्चिम बंगाल विधान सभामा समेत चुनिएका थिए।)