१४ जनालाई राष्ट्रिय विज्ञान पुरस्कार प्रदान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १४ जनालाई यस वर्षको राष्ट्रिय विज्ञान तथा प्रवर्तन पुरस्कार प्रदान गरेको छ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा असोज १ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको हो। कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट पेडिट्रिसियन डा. रामहरि चापागाईं, अस्पतालकी प्रमुख नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुइतुई, राष्ट्रिय वनस्पति उद्यानका वैज्ञानिक अधिकृत डा. गौरव पारमर, जल तथा ऊर्जा आयोगको सचिवालयका सीडीई डा. किरण गौतम, खानी तथा भूगर्भ विभागका सीडीजी डा. सुचिता श्रेष्ठ र राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्कालाई पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै, काठमाडौं विश्वविद्यालयको स्कूल अफ साइन्सका डीन प्रा.डा. जनार्दन लामिछाने, खानेपानी तथा ढल व्यवस्थापन विभागका डा. रञ्जित ओझा, नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठानका मुख्य वैज्ञानिक अधिकृत डा. गणबहादुर बज्राचार्य, रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित राप्ती ज्ञानोदय माविका राधारमण झा, नेपाल नटक्राफ्ट सेन्टर प्रालिका श्यामवदन श्रेष्ठ, राइजिङ नेपालकी पत्रकार इन्दिरा अर्याल, स्वर्णिम एफएमका संवाददाता विजय यादव र एभरेस्ट फेशनका रविन श्रेष्ठलाई पनि राष्ट्रिय विज्ञान तथा प्रवर्तन पुरस्कार प्रदान गरिएको छ।
पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ। आइतबार ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ विज्ञान दिवस मनाइएको छ।