चार जनाको हत्याबारे उजुरी दिन जाँदा पक्राउ परेका दीपेन्द्र रिहा
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्याबारे उजुरी दिन प्रहरी कार्यालय जाँदा पक्राउ परेका दीपेन्द्र राई रिहा भएका छन्।
भदौ २९ गते राति गैह्रीगाउँस्थित दिव्य सःमिलमा बस्दै आएका कुमार भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल तथा मोरङका नवीन राईको हत्या भएको थियो। चार जनाको हत्या भएको थाहा पाएपछि दीपेन्द्र उजुरी गर्न प्रहरी कार्यालय गएका थिए।
प्रहरीले उनलाई नै पक्राउ गरेको थियो। उनलाई तीन दिनपछि रिहा गरेको छ।
हत्यामा दीपेन्द्रको कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। “चार जनाको हत्या प्रकरणमा दीपेन्द्र राईको कुनै संलग्नता नदेखिएपछि रिहा गरेका छौं,” राठौरले भने।
यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने सञ्जय भण्डारीलाई पक्राउ गरेको छ। सानैदेखि बोल्न नसक्ने सञ्जयले नै हत्या गरेको भन्दै प्रहरीले आइतबार सार्वजनिक गरेको थियो।