सामान्य विवादमा गैह्रीगाउँ हत्याकाण्ड भएको प्रहरीको निष्कर्ष
काठमाडौं महानगरपालिका-३२, तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा भएको चार जनाको हत्या सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष छ।
प्रहरीद्वारा गठित छानबिन समिति अनुसार एकै परिवारका तीन सहित चार जनाको बीभत्स हत्या रिसइबी र प्रतिशोधले भएको पाइएको हो। विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबी साँध्दा घटना भएको छानबिन समितिका संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले बताए।
सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारीले हत्या गरेको समितिको निष्कर्ष छ। उनले शुरूमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि हल्ला हुने डरले अरूको पनि हत्या गरेको स्वीकार गरेको राठौरको भनाइ छ।
विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिंदा विवाद भएको थियो। त्यसपछि विशालले सञ्जयलाई कुटपिट गरेको पाइएको छ। त्यसको प्रतिशोधका कारण हत्या गरेको पाइएको पनि राठौरले बताए।
सञ्जयले घटनाको दिन बोकेको झोला र खुकुरी बरामद गरिएको छ। उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
यस्तो छ घटना विवरण
प्रहरीका अनुसार सञ्जयले गत भदौ २९ गते नै विशाललाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर स:मिलमा प्रवेश गरेका थिए। त्यसपछि विशाल बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे। केही समयपछि विशाल आएर विवाद भई कुटपिट गरेपछि सञ्जयले खुकुरीले हानेर हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ।
घटना हुँदा सुभद्रा भुजेलले देखेको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले हत्या गरेको बयान दिएका छन्। त्यही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही वेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने सञ्जयले सिन्धुपाल्चोकको बाह्रबिसेमा कक्षा ८ सम्म अध्ययन गरी कक्षा १२ सम्म काठमाडौंमा अध्ययन गरेका थिए। घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको थियो। सोही क्रममा सञ्जयले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।
घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो। रगत लतपतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा उनी निर्दोष देखिएको राठौरले बताए।
भदौ २९ गते राति ११ः५५ बजेको समयमा घटना भएको थियो। गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र मोरङको बेलबारीका नवीन भन्ने विशाल राईको हत्या भएको थियो। -रासस