जसले अरूलाई सघाउँदा-सघाउँदै ‘हिमाल जिते’
नौ वर्षअघिसम्म संखुवासभाको थाङ्गे गाउँमा ‘मन्तरे लामा’ भनेर चिनिने तेन्जिङ शेर्पा अहिले सबैभन्दा छिटो संसारका अग्ला १४ हिमाल चढ्ने विश्वकीर्तिमानी आरोही बनेका छन्।
मकालु गाउँपालिकाको थाङ्गे गाउँका धेरैजसो युवा कामको खोजीमा भारत जान्थे। केही युवा पर्यटकको भारी बोक्न शहरतिर लाग्थे। थोरै युवा पर्वतारोहणमा संलग्न थिए।
हिमाल आरोहणको याम सकिएपछि पर्वतारोहणमा लागेका युवा गाउँ फर्किन्थे। तिनले ‘ब्रान्डेड’ लुगा, जुत्ता लगाएका हुन्थे। ठूल्ठूला झोला बोकेका हुन्थे। तिनलाई देखेर थाङ्गेका किशोर तेन्जिङ शेर्पा मनमनै सोच्थे- “म पनि हिमालमा काम गरे त राम्रा लुगा, पैसा पाउँथें होला।”
फुर्सदमा गाउँ फर्कनेहरूमध्ये एक मिङ्मा शेर्पा पनि हुन्थे। हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा कहिलेकाहीं हेलिकोप्टर लिएरै थाङ्गे पुग्थे।
मिङ्मा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गर्ने दक्षिणएशियाका पहिलो आरोही हुन्। यिनमा सगरमाथा, के-टू, कञ्चनजंघा, ल्होत्से, मकालु, चो-ओयु, धौलागिरि, मनास्लु, नागा पर्वत, अन्नपूर्ण-१, गाशरब्रम-१, ब्रोड पिक, गाशरब्रम-२ र शिशापाङ्मा हिमाल पर्छन्।
मिङ्माकै बाटो समातेका उनका भाइ छाङदावा शेर्पा र टासी लाक्पा शेर्पाले हिमाल आरोहणकै कारण संसारभर नाम कमाएका छन्। उनीहरूकै पछि लागेर अहिले मकालु क्षेत्रका धेरै युवा पर्वतारोहणमा लागेका छन्।
तेन्जिङले पनि मिङ्माकै पदचाप पछ्याउने निधो गरेका थिए। त्यसैले मिङ्मा गाउँ पुगेको देख्ने बित्तिकै तेन्जिङ उनलाई भेट्न पुगिहाल्थे। काम लगाइदिन भन्थे। “अफिस खोल्नुभएको छ रे, मलाई पनि काम खोजिदिनु न दाइ,” भेटैपिच्छे तेन्जिङको एकै अनुरोध हुन्थ्यो।
तेन्जिङलाई काम चाहिएको पनि थियो। मकालु क्षेत्रमा विवाहपछि परिवारसँग छुट्टिएर आफनो गृहस्थी आफैं धान्नुपर्ने चलन छ, सँगै बस्दा पारिवारिक बेमेल र झमेला हुने संशयका कारण। तेन्जिङले १३ वर्षकै उमेरमा पेमा याङ्जी शेर्पासँग मागी विवाह गरिसकेका थिए। परम्परा पछ्याउँदै पुर्ख्यौली वासस्थानभन्दा केही तल बुबाले दिएको जग्गामा घर बनाएर बसेका थिए। दुई छोरा पनि जन्मिइसकेका थिए।
जिम्मेवारी र आर्थिक समस्याले थिच्दै थियो उनलाई। हिमालमा काम गर्न पाए केही गर्छु भन्ने आत्मविश्वास पनि बढ्दै थियो।
गाउँलेका ‘मन्तरे लामा’
तेन्जिङ पढेलेखेका थिएनन्। सानो छँदै गाउँका अन्य केटाकेटी जस्तै उनी विद्यालयको साटो लामा बन्न गुम्बा गएका थिए। गुम्बामा पनि औसतमा वर्षभरिमा करीब एक साता बस्नुपर्थ्यो। बाँकी समय गाई, बाख्रा, चौंरी चराएर जङ्गल डुल्ने, घाँसदाउरा बोक्ने अनि खेतीपातीको काममा बुबाआमालाई सघाउनुपर्थ्यो।
तेन्जिङको परिवारमा आठ दाजुभाइ र दुई बहिनी थिए। उनी सातौं। स्थानीय रोल क्रम अनुसार सातौं नम्बरको सन्तानलाई ‘मन्तरे’ भनेर बोलाइन्छ। लामा बन्न गुम्बामा बसेकाले गाउँलेले तेन्जिङलाई अहिले पनि ‘मन्तरे लामा’ भनेर बोलाउँछन्।
गाउँमा उनको परिचय त्यही हो। तेन्जिङ नाम विश्वव्यापी भएको धेरै भएको छैन, २०७१ सालपछि मात्र हो।
तेन्जिङले अलि धेरै नै चासो दिएपछि २०७१ सालमा मिङ्माले उनलाई काठमाडौं बोलाएका थिए। हिमाल सम्बन्धी काम पाउने आश्वासनपछि तेन्जिङ जेठा छोरा लाक्पा साङ्गेलाई लिएर काठमाडौं पुगेका थिए।
उनी हिमालसँग अपरिचित थिएनन्। घरको आँगनबाटै मकालु हिमशृङ्खला छर्लङ्ग देखिन्थ्यो। तर, हिमालमा पाइला राख्न भने बाँकी नै थियो।
मिङ्माले त्यो संयोग मकालु हिमालमै जुराइदिए। तेन्जिङलाई डोरी टाँग्ने टीममा राखेर मिङ्माले मकालु हिमाल आरोहणमा पठाए।
आरोहण र डोरी टाँग्ने कामको केही अनुभव थिएन, तर पनि तेन्जिङ पहिलो प्रयासमै मकालुको साउथ समिटसम्म डोरी बोकेर पुगे। त्यहाँ पुगेपछि अचानक बिरामी परे। चुचुरोमा पुग्ने पहिलो प्रयास असफल भयो। उनी निराश भएर आधारशिविर फर्किए।
“अनुभव नभए पनि म हिमालमा हिंड्न ‘फास्ट’ थिएँ,” तेन्जिङ भन्छन्, “बिरामी भएकाले आधारशिविर फर्किएको।”
तेन्जिङलाई आरोहणमा धेरै नै चासो भएकाले उनी टेन्टमा बसेको वेला पनि डोरी कस्ने, गियर चलाउने, अक्सिजनको लेभल जाँच्ने, अक्सिजन मास्क लगाउने जस्ता प्राविधिक काम गरिरहन्थे। उनले यसैगरी आरोहणका लागि नभई नहुने सीप तुरुन्तै सिके।
अर्को वर्ष कान्छा छोरा र श्रीमतीलाई पनि काठमाडौं ल्याए। त्यस वर्ष पनि कम्पनीले उनलाई मकालु हिमालमै पठायो। तर, दोस्रो शिविरमा पुगेर फर्किनुपर्यो। २०७२ सालको विनाशकारी भूकम्पका कारण आरोहण नै रद्द भयो।
भूकम्पमा परी सगरमाथामा १९ जना आरोहीले ज्यान गुमाएका थिए। लगत्तै सरकारले सबै हिमाल आरोहण स्थगन गरेको घोषणा गरेको थियो।
२०७३ सालमा कम्पनीले उनलाई धौलागिरि हिमालमा खटायो। “तेस्रो पटक त डोरी टाँगेर समिटमै पुगियो। त्यस वेलादेखि त जुन हिमाल गए पनि समिट गरेरै फर्केको छु। अब मलाई आरोहणमा डर लाग्दैन,” उमेरले ३५ लागेका तेन्जिङ भन्छन्।
विश्वकीर्तिमानी आरोही
तेन्जिङले भने जस्तै उनी अहिले डर नमान्ने मात्र होइन, विश्वकीर्तिमानी आरोही पनि बनेका छन्। सेलिब्रेटी बनेका छन्।
तेन्जिङ र नर्वेजियन आरोही क्रिस्टिन हरिलाले संयुक्त रूपमा सबैभन्दा छिटो १४ चुचुरा चढ्ने विश्वकीर्तिमान रचेका छन्। गत साउन ११ गते बिहान १०:४५ बजे विश्वको दोस्रो सर्वोच्च शिखर के-टू आरोहण गरेसँगै उनीहरूले ९२ दिनमा १४ हिमाल चढेर कीर्तिमान बनाएका हुन्।
यसअघि पूर्व बेलायती सैनिक निर्मल पुर्जाले ६ महीना ६ दिन लगाएर कीर्तिमान रचेका थिए। पुर्जाभन्दा अघि दक्षिण कोरियाका किम चाङ हुले सात वर्ष १० महीना ६ दिन लगाएर कीर्तिमान बनाएका थिए।
के-टू आरोहण गरेर नेपाल फर्किएपछि कपनको बेसक्याम्प क्याफेमा एक अन्तर्वार्ताका क्रममा तेन्जिङले भनेका थिए, “अहिलेसम्म आठ हजार मिटरभन्दा अग्ला ३५ वटा हिमाल जित्यो।”
उनले आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल ३५ पटक आरोहण गरेका छन्। हिमालहरू ‘जिते’ सँगै अहिले तेन्जिङको जीवनमा उल्लेख्य परिवर्तन आएको छ। उनी कम्पनी र विदेशी आरोहीको प्राथमिकतामा पर्ने गरेका छन्।
हरिला र तेन्जिङको भेट
नर्वेजियन आरोही हरिला गत वर्ष नै पुर्जाको कीर्तिमान भङ्ग गर्न ज्यान फालेर लागेकी थिइन्। तर, अन्तिम समयमा चीनले चो-ओयु र शिशापाङ्मा आरोहण अनुमति नदिएपछि सफल हुन सकिनन्।
यसपछि हरिला दोहोर्याएर आरोहण शुरू गर्ने सोचमा पुगिन्। सेभेन समिट ट्रेक मार्फत आरोहण गर्ने घोषणा गरिन्। योजना सफल बनाउन भरपर्दो शेर्पाको खोजी भयो। विकल्पमा थिए तेन्जिङ। कम्पनीले त उनको क्षमता देखिसकेको थियो।
हरिलाले पनि तेन्जिङलाई सन् २०२२ मै पाकिस्तानको नागा पर्वतमा बाटो बनाउँदै गर्दा देखेकी थिइन्। त्यसैले दोस्रो सोच विना नै हरिला र कम्पनीले तेन्जिङलाई रोजे।
हरिला र तेन्जिङ चीन गए। तेन्जिङले शिशापाङ्मा र चो-ओयु हिमालमा आफैंले बाटो खोलेर आरोहण सफल बनाए। अन्ततः हरिलाको १४ चुचुरा आरोहण सम्पन्न भयो। तर, पुर्जाको कीर्तिमान तोड्ने उद्देश्य भने पूरा भएन।
अब हरिलासामु एउटै विकल्प थियो, शिशापाङ्मा र चो-ओयुलाई १४ चुचुरा आरोहणको शुरूआत मानेर बाँकी १२ वटा हिमाल फेरि आरोहण गर्ने। उनले यो महत्त्वाकांक्षी योजना अगाडि बढाइन्।
चीनबाट फर्केर उनीहरूले नेपालका हिमाल आरोहण गरे। हरिलाले यसपछि भने आफूसँगै तेन्जिङको पनि कीर्तिमान बन्छ भनेर उनलाई कम्तीमा एउटा हिमालमा सँगै नलैजान खोजिन्।
तेन्जिङले पनि सानो मन गरेनन्। ‘आखिर पैसा पाइहालें। दिदीले रेकर्डका लागि आठ करोड रुपैयाँ जति खर्च गरेको छ। सँगै नलिए पनि केही छैन’ भन्ने सोचेर त्यति वास्ता गरेनन्।
तर, मिङ्माले ‘तेन्जिङलाई सँगै लैजाँदा आरोहण सफल हुन्छ’ भनेर हरिलालाई सम्झाए। दुवैले इतिहास बनाउन सक्ने कुरा गरेपछि हरिला पनि सहमत भइन्। नभन्दै दुवैले बाँकी आरोहण निर्धारित समयभित्रै सके। दुवैले इतिहास रचे।
“दिदी (हरिला)ले मान्यो। थ्याङ्क यू भन्यो। हामीले सँगसँगै ९२ दिनमा १४ वटा हिमाल चढ्यौं,” तेन्जिङ आरोहणका दुःख सम्झिंदै भन्छन्, “अहिले सोच्दा मलाई अचम्म लाग्छ, कसरी सकें होला भनेर।”
आरोहणका दुःख
अरूले टाँगेको डोरी समाएर चढ्दा त थुप्रैले हिमालमा ज्यान गुमाउँछन्। अङ्गभङ्ग भएर फर्कन्छन्। हरिला र तेन्जिङले त कति पटक हिमालमा आफैं डोरी टाँगेर, बाटो बनाउँदै हिंड्नुपरेको थियो।
तेन्जिङका अनुसार आरोहणका क्रममा उनीहरूलाई कञ्चनजंघामा धेरै गाह्रो भएको थियो। कञ्चनजंघा आरोहणको अघिल्लो रात चौथो शिविरबाट डोरी टाँगेर शिखरसम्म पुग्नुपर्ने थियो। हरिला र तेन्जिङ शिखरतर्फ उक्लँदै थिए। तेन्जिङ डोरी टाँगिरहेका थिए, हरिला उनलाई पछ्याउँदै थिइन्।
बिहान ७ बजेदेखि डोरी टाँग्न शुरू गरेका तेन्जिङ एक्लैले ६ क्वाइल अर्थात् एक हजार २०० मिटर डोरी टाँगिसकेका थिए। तर, पनि शिखर भेटिएको थिएन।
उनीहरू डोरी टाँगेर बायाँतर्फ तेर्सो जानुपर्नेमा सीधै ‘डेथ जोन’ְ मा एक हजार २०० मिटर हिंडिसकेका रहेछन्। गलत बाटो लिएपछि शिखर भेट्नु पनि कसरी!
हरिला र तेन्जिङ दुवै अलमल्ल परेका थिए। फेरि, हिमालमा बाटो बिराउँदा अलमल्ल मात्र परिंदैन, ज्यानै जोखिममा पनि पर्न सक्छ।
धन्न यही वेला उनीहरूको सम्पर्क गेलु दाइसँग भयो। गेलुले उनीहरू हिंडेको बाटो गलत भएको जानकारी दिए। हरिला र तेन्जिङ फर्के। तेर्सो हिंडे। बाटो बनाउँदै अघि बढे र बल्ल आरोहण सफल भयो।
तेन्जिङ र हरिलाले १४ वटै हिमाल दुईदेखि तीन दिनमा आरोहण सम्पन्न गरेका हुन्। पहिलो दिन आधारशिविर, भोलिपल्ट दोस्रो शिविर र अर्को दिन सीधै शिखरमा पुग्ने गरी उनीहरूको आरोहण तालिका बनेको थियो।
सगरमाथा आरोहणमा पनि त्यस्तै धपेडी भयो। उनीहरू आधारशिविरबाट सीधै दोस्रो शिविर गए। त्यहींबाट ‘समिट पुश’ गरेका उनीहरू राति ३ बजे सर्वोच्च शिखरमा पुगे। फोटो, भिडिओ खिचेर त्यहाँबाट तल्लो शिविरतर्फ झरे। दुवैले त्यही दिन बिहान १० बजे ल्होत्से हिमाल आरोहण गरे। त्यही दिन सगरमाथा आधारशिविरमा फर्किए।
तर, रेकर्ड बन्ने/नबन्ने खुड्किलो चाहिं के-टू हिमाल थियो। १३ वटा हिमालमा जति मेहनत, जति धपेडी गरेको भए पनि के-टू आरोहणमा सफलता मिल्ने/नमिल्ने टुङ्गो थिएन।
खासगरी छिनछिनमा परिवर्तन भइरहने मौसमका कारण यस वर्षको के-टू आरोहण निकै कष्टकर थियो। जम्मा एक दिन मौसम राम्रो हुने पूर्वानुमान थियो। आरोहीहरू आरोहण स्थगन गर्ने मनस्थितिमा पुगिसकेका थिए।
चौथो शिविरसम्म ‘८-के एक्सपिडिसन्स’ले बाटो बनाइसकेको थियो। सेभेन समिट ट्रेकका तर्फबाट निमा रिन्जीको आरोहण सहयोगी पासाङ नोर्बु, तेन्जिङ र मीन तेम्बा साउथ समिटसम्म जान खोजे। हिमपहिरो आइरहेको थियो। प्रतिकूल बनिरहेको मौसमलाई वास्ता नगरी उनीहरू एकअर्कालाई पालो दिंदै बाटो बनाएर शिखरतर्फ उक्लिए।
उनीहरू यति लखतरान थिए कि कति ठाउँमा हातले नै बाटो बनाए। बरफ पनि कालो भइसकेको ‘बोटल नेक’ माथिको बाटोमा जति जोडले ‘क्रयाम्पोन’ (हिउँमा हिंड्न सहज हुने गरी जुत्तामा राखिने काँडावाल वस्तु)ले हाने पनि उछिट्टिएर आउँथ्यो। हिउँमा खुट्टा अडिंदैनथ्यो।
चुनौती छिचोलेर शुरूमा मीन तेम्बा र पासाङ नोर्बु शिखरमा पुगे। उनीहरूलाई पछ्याउँदै तेन्जिङ र हरिला पनि सँगसँगै शिखरमा पुगे।
लखतरान परेका उनीहरू भुक्क फुलेको गियरमै एकले अर्कोलाई अङ्कमाल गरे। खुशीसाथ जोडले चिच्याए।
अनि वकिटकी खोलेर आधारशिविरमा रहेका छाङ दावालाई भने, “लु समिटमा हाम्रो टीम पुग्यो।”
“लौ बधाई छ,” तलबाट जवाफ आयो।
उनीहरूको मिसन सफल भएको खबर एकैछिनमा डढेलोसरि संसारभर फैलियो। सामान्य परिवारमा जन्मिएका तेन्जिङको कीर्तिमानको खबर अखबारदेखि, डिजिटल मिडिया र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो। सीमित कीर्तिमानधारी शेर्पाहरूको सूचीमा उनको पनि नाम थपियो।
सबैभन्दा पहिले सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पा, २८ पटक सगरमाथा आरोहण गरेका कामीरितासँगै ९२ दिनमा संसारका १४ अग्ला हिमाल आरोहण गरेको भनेर उनको नाम स्वर्णिम अक्षरले इतिहासमा लेखिएको छ।
तेन्जिङलाई चिन्नेहरूका अनुसार उनको मेहनत नै सफलताको कारण हो। जुन काम पनि ज्यान दिएर गर्नु उनको विशेषता हो।
“कहिल्यै नाइँ भन्ने होइन। जस्तै कठिन परिस्थितिमा पनि सहेर काम फत्ते पार्ने। जहाँ गए पनि शतप्रतिशत सफलता। त्यसैले क्लाइन्टले पनि उनलाई नै मन पराउँछन,” सेभेन समिट ट्रेकका पासाङ शेर्पा भन्छन्, “कम्पनीको रोजाइमा पनि उनी नै हुन्छन्।”
आरोहणकै निरन्तरता
तेन्जिङका दाजुहरूमध्ये नोर्बु र फुर्वा पहिले काम गर्न भारत जान्थे। पछि हिमालमै काम गर्न थाले। शिशापाङ्मा बाहेक १३ वटा आठ हजार मिटरमाथिका हिमाल आरोहण गरिसकेका नोर्बुले कोरोनाभाइरसको महामारीको वेला ज्यान गुमाए।
फुर्वाले पनि यही वर्ष सगरमाथा आरोहणपछि नेपाली सेनाका क्याप्टेनको उद्धारमा गएको वेला सगरमाथाको ‘यल्लो ब्यान्ड’ मा ज्यान गुमाए। कान्छा भाइ पास दावा पर्वतारोहणकै काम गर्छन्।
परिवारमा क्षति पुगे पनि तेन्जिङले हिमाल बाहेक अरू क्षेत्रमा भविष्य देखेका छैनन्। आरोहण निरन्तरता नै उनको अहिलेको योजना हो। “मिङ्मा दाइले काम दियो। काम राम्रो भयो। जुन विदेशी लिएर गएको थियो सफल भयो,” उनी भन्छन्, “हिमाल आरोहण नै अबको योजना हो। अरू त के गर्ने हो र?” अब उनको योजना शिशापाङ्मा र चो-ओयु जाने हो।
उता, हरिला दोहोर्याएर छोटो समयमा १४ पिक आरोहण गरेको कीर्तिमान बनाउन चाहन्छिन्। तेन्जिङ फेरि पनि उनको सहयोगी भएर काम गर्न सहमत छन्। तेन्जिङले कीर्तिमान दोहोर्याउन गाशरब्रम-१, गाशरब्रम-२, के-टू, ब्रोड पिक र अन्नपूर्ण-१ हिमाल आरोहण गर्न बाँकी छ। “अर्को वर्ष अन्नपूर्ण हिमाल आरोहण गरेपछि पाकिस्तानका बाँकी सबै हिमाल त एक महीनामै चढ्न सक्छु,” तेन्जिङ भन्छन्।
१४ पिक दोहोर्याएर आरोहण गर्ने एक मात्र आरोही मकालुकै सानु शेर्पा हुन्। उनी यो कीर्तिमानलाई तेहेर्याउने तयारीमा छन्।
विश्वकीर्तिमान बनाएका तेन्जिङलाई खासै गर्व महसूस हुँदैन। अरू कसैले कीर्तिमान तोड्ने योजनाका साथ आए फेरि पनि सहयोगी बन्न तयार रहेको उनी बताउँछन्। “यदि कोही अर्को रेकर्ड बनाउन आउँछ भने म सघाउन पनि तयार छु,” तेन्जिङ भन्छन्।
(सम्पादन: असीम तिमल्सिना, भाषा: प्रद्युम्न खनाल)