बाढीले लिबियामा ११ हजारभन्दा बढीको मृत्यु, १० हजार सम्पर्कविहीन
उत्तरी अफ्रिकी देश लिबियामा आएको बाढीका कारण कम्तीमा ११ हजार ३०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ।
संयुक्त राष्ट्रसंघको मानवीय मामिला सम्बन्धी समन्वय कार्यालय (ओसीएचए)ले प्रतिवेदन सार्वजनिक गर्दै लिबियाको तटीय शहर डेर्नामा मात्रै १० हजार १०० जना हराइरहेको बताएको छ। यो संख्या अझै बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
बाढी प्रभावित लिबियाको उत्तरपूर्वी क्षेत्रका ४० हजारभन्दा बढी मानिस विस्थापित छन्। यो विपद्को केन्द्रबिन्दु बनेको डेर्ना शहरबाट मात्रै कम्तीमा ३० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विपद्अघि यस शहरको जनसंख्या करीब एक लाख थियो।
ओसीएचले भनेको छ, ‘विस्थापित हुन बाध्य हजारौं मानिस वर्षौं लामो द्वन्द्वका क्रममा बेवारिस छोडिएका ल्यान्डमाइन र विस्फोटक पदार्थको सम्पर्कमा पुग्ने जोखिम बढेको छ। बाढीले ल्यान्डमाइन र विस्फोटक पदार्थ बढाएकाले पनि यो जोखिम बढेको हो।’
त्यस्तै, कम्तीमा तीन लाख बालबालिका बाढीका कारण हैजा, कुपोषण, झाडापखाला र जलवियोजनको जोखिममा छन्। ‘बालबालिका हिंसा र शोषणको शिकार बन्ने जोखिम पनि बढेको छ,’ प्रतिवेदनमा भनिएको छ।
उद्धारकर्मीले भूमध्यसागरको तटमा रहेको शहर डेर्नाका क्षतिग्रस्त भवन र समुद्रमा जीवित मानिस फेला पर्ने आशमा खोजबिन गरिरहेका छन्। अन्तर्राष्ट्रिय उद्धार मिसनका अनुसार धेरैजसो शव भूमध्यसागरमा तैरिइरहेका छन्। त्यस्तै, कतिपय शव डेर्ना शहरको बस्तीमा हिलोमुनि पुरिएका छन्।
कसरी आयो बाढी?
भूमध्यसागरमा आएको आँधी डेनियलका कारण गत साता परेको मुसलधारे वर्षाले डेर्ना शहर नजिकैका दुई वटा बाँध भत्किएका थिए। जसले गर्दा बाढी आएको हो।
सेप्टेम्बरको पहिलो साता भूमध्यसागर हुँदै फैलिइरहेको डेनियल आँधीले लिबिया पुग्नुअघि नै ग्रीस, टर्की र बुल्गेरियामा क्षति पुर्याइसकेको थियो।
अन्तर्राष्ट्रिय समाचार माध्यमले यो बाढीलाई प्राकृतिक विपद् मात्र नभई राजनीतिक अस्थिरताको परिणामका रूपमा पनि प्रस्तुत गरिरहेका छन्। एक दशकभन्दा बढी समयदेखि राजनीतिक अस्थिरताबाट गुज्रिरहेकाले लिबियामा जीर्ण पूर्वाधारको मर्मतसम्भार हुन सकेको छैन।
त्यसैले पानीको चाप बढ्नासाथै जीर्ण बाँध भत्किए। द न्यूयोर्क टाइम्सका अनुसार लिबियाका सरकारी अधिकारी बाँधहरू जीर्ण भइसकेको र कुनै पनि बखत बाढीका कारण भत्किन सक्नेबारे जानकार थिए। तर, वर्षौंको अव्यवस्था र गृहयुद्धका कारण तिनको मर्मतसम्भार सम्भव भएन।
विज्ञहरूले यो आँधीको असरलाई जीर्ण पूर्वाधार, अपर्याप्त सतर्कता र चुलिंदो जलवायु सङ्कटले सघन बनाएको टिप्पणी गरेका छन्।
(सीएनएन, अलजजिरा र द न्यूयोर्क टाइम्सको सहयोगमा।)