अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा पार्सल, ६ जना पक्राउ
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा पठाइएको पाइएको छ भने प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
अमेरिकाबाट गोस्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो २३९ ग्राम गाँजा र २६८.२१० ग्राम खैरो हेरोइन बरामद गरिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने ६ जना र खैरो हेरोइन सहित चार जनालाई पक्राउ गरेको छ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार अमेरिकाबाट हुलाक मार्फत डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय, वीरगन्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टून शङ्कास्पद देखिएपछि जाँच गरिएको थियो। त्यस कार्टूनबाट ९०० ग्राम लागूपदार्थ बरामद गरिएको हो। कार्टून ‘पार्सल’ लिन आउने व्यक्ति खोज्न ‘कन्ट्रोल डेलिभरी’ गर्दा वीरगन्जका डल्लुराम र हविव मियालाई पक्राउ गरिएको हो।
त्यस्तै, अमेरिकाबाट डिल्लीबजार हुलाक मार्फत जिल्ला हुलाक कार्यालय, पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टून जाँच गर्दा एक किलो ४०० ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ। त्यो गाँजा लिन आउने भारतीय नागरिक अजिन भर्गेसलाई हुलाक कार्यालयबाटै पक्राउ गरिएको छ। उनको डेराबाट थप ७२० ग्राम गाँजा बरामद गरिएको छ।
हुलाक मार्फत आएको गाँजा लिन आउने डडेल्धुराकी रेनुका तामाङलाई पनि पक्राउ गरिएको छ। उनको बयानका आधारमा गाँजा लिन पठाउने भारतीय नागरिक अरुण कुमार र मोहमद नईमलाई पनि पक्राउ गरिएको हो। उनीहरूसँग भएको ९३९ ग्राम ग्राजा बरामद गरिएको ब्यूरोले जनाएको छ।
उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताए।