आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न सरकारले बनायो समिति
चिकित्सक कुटपिट घटनापछि आन्दोलनरत स्वास्थ्यकर्मीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति गठन गरिएको हो। समितिले आन्दोलनरत स्वास्थ्यकर्मीका प्रतिनिधिसँग आजै वार्ता गर्ने तयारी गरेको छ।
हेटौंडाको सन्चो अस्पतालमा कार्यतर चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट भएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आज देशभरका स्वास्थ्य संस्थामा कामकाज ठप्प पारेका छन्। आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण बिरामी प्रभावित छन्। ओपीडी सेवा बन्द हुँदा बिरामीले उपचार नगरी घर फर्किनुपरेको छ।