एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै
एशिया कपको फाइनल खेलमा आज भारत र श्रीलंका आमनेसामने हुँदै छन्।
कोलम्बोस्थित आर. प्रेमदास रङ्गशालामा हुने खेल नेपाली समय अनुसार आज दिउँसो ३:१५ बाट शुरू हुनेछ।
एशिया कपको इतिहासमा श्रीलंका १२ पटक र भारत १० पटक फाइनलमा पुगेका छन्। तर, उपाधि जित्ने सवालमा भारत अगाडि छ। भारतले अहिलेसम्म सात पटक एशिया कपको उपाधि उचालेको छ। श्रीलंकाले भने ६ पटक मात्र उपाधि जितेको छ।
हाल आईसीसीको एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने श्रीलंका आठौं स्थानमा छ।
आजको फाइनलका लागि भारतले अक्षर पटेलको स्थानमा वाशिङ्टन सुन्दरलाई खेलाउने भएको छ। बाङ्लादेश विरुद्धको खेलमा पटेल चोटग्रस्त भएका थिए।
यस्तै, श्रीलंकाले पनि आफ्नो महत्त्वपूर्ण खेलाडी महीश थिकशानालाई फाइनलका लागि गुमाएको छ। उनी पाकिस्तान विरुद्धको खेलमा चोटग्रस्त भएका थिए। उनको स्थानमा श्रीलंकाले सहान अराचचिगेलाई टोलीमा सामेल गरेको छ।
यस बाहेक यी दुवै टोलीले हालसम्म आफ्नो प्लेइङ-११ सार्वजनिक गरेका छैनन्।