प्रधानमन्त्री दाहाल न्यूयोर्क प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबार साँझ न्यूयोर्क प्रस्थान गरेका छन्।
प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतले बिदाइ गरेका छन्। प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल आगामी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायु सम्बन्धी शिखर सम्मेलन लगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यसूची छ। साथै विभिन्न देशका समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ। हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल १९औं एशियाली खेलकूद प्रतियोगिताको समुद्घाटन समारोहमा सहभागी हुनेछ। आगामी असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ।