बाँचुन्जेल पदमा बसिराख्ने प्रवृत्ति तोडेर अरूलाई जिम्मेवारी सुम्पिन्छु: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाँचुन्जेल पदमा बसिरहने प्रवृत्ति तोडेर अरूलाई जिम्मेवारी सुम्पिने बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित ‘बा सँग बालबालिका’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू सक्रिय रहँदै अरूलाई जिम्मेवारी सुम्पिने बताएका हुन्। उनले आफू अझै २० वर्ष सक्रिय रहने बताए।
“मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन। म पहिले अलि बिरामी थिएँ, अहिले ठीक छु। दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ,” अध्यक्ष ओलीले भने, “म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन।”
सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई जिम्मेवारी सुम्पेर देश चलाउन सहयोग गर्ने उनको भनाइ थियो। “२० वर्ष सक्रिय रहन्छु भनेको मतलब २० वर्षै देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन, नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय भएर,” ओलीले भने।
बाँचुन्जेल पदमा बसिराख्ने प्रवृत्ति तोड्नुपर्नेमा उनले जोड दिए। “मान्छे बाँचुन्जेल पद छोड्न नखोज्ने, आवश्यकता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरणशक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई तोड्न चाहन्छु,” ओलीले भने, “आफू सक्रिय रहँदारहँदै कार्यभार अरूलाई सुम्पिएर सहयोग गर्ने, देश चलाउनका लागि।”