शिक्षामै छ समस्या
अहिले हाम्रा विश्वविद्यालयले दिइरहेको शिक्षाले विद्यार्थीलाई देशमै अडाउन सकिरहेको छैन। विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा हुनुपर्ने हो, विडम्बना नेपालमा वर्षौं पुरानो पाठ्यक्रम पढाइ भइरहेको छ।
कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति नयाँ होइन। पहिला पनि विद्यार्थी जाने गर्थे, तर त्यो संख्या कम थियो। अहिले जुन संख्यामा विद्यार्थी गइरहेछन्, यो चिन्ताजनक अवस्था हो।
यसरी विदेश जानेहरूमा आर्थिक हैसियत राम्रै भएकाहरू छन्। कमजोर आर्थिक स्थिति हुनेहरू त उच्च शिक्षा अध्ययन गर्न सक्दैनन्। उनीहरू सस्तो श्रमिकका रूपमा खाडी मुलुक गइरहेका छन्। समग्रमा, सस्तो श्रमिकका रूपमा होस् वा उच्च शिक्षा अध्ययन गर्ने नाममा होस्, युवा विदेश पलायन भइरहेका छन्।
अहिले यति ठूलो संख्यामा युवा किन देश छोड्दै छन्? उनीहरूलाई देशमै बस्न के समस्या छ? विदेशप्रति किन आकर्षण छ? यस्ता विषयमा गम्भीर अध्ययन भएको छैन। तर, सामान्य अनुमान गर्दा पनि युवा विदेश जाने क्रम बढ्नुको कारण देशमै रोजगारीको अवसर नभएर हो।
एकातिर काम पाउनै गाह्रो छ, अर्कातिर काम गरिरहेकाहरूलाई पनि राम्रो सेवासुविधा र प्रोत्साहन छैन। कुनै पनि क्षेत्रमा पाँच-दश वर्ष काम गरेपछि स्तरोन्नति हुने सुनिश्चितता छैन। वर्षौंदेखि एउटै अवस्थामा एउटै काम गर्न बाध्य हुँदा धेरैको वृत्तिविकास नै रोकिएको छ।
देशमा दक्ष जनशक्तिको उपयोग गर्ने वातावरण सिर्जना पनि भएको छैन। जापानमा अध्ययनरत नेपाली विद्यार्थीले १० वर्षअघि मलाई एउटा कार्यक्रममा बोलाएका थिए। त्यति वेला मैले त्यहाँ पढ्दै काम गरिरहेका विद्यार्थीलाई भनेको थिएँ, ‘नेपालमा केही हुँदै छ, यहाँ सिकेको ज्ञान र सीप प्रयोग गर्न नेपाल तयार भइरहेकाले तिमीहरू फर्कनुपर्छ।” तर, यो १० वर्षमा विदेशमा पढेका विद्यार्थीको ज्ञान र सीप लिने अवस्था बनेको देख्दिनँ।
आधुनिक सिंगापुरको जन्मदाता ली क्वान यूले चिनियाँ र भारतीय विद्यार्थीलाई छात्रवृत्तिमा पढ्न बोलाए। ती युवा पढ्दै काम गर्थे।
नेपालले अहिले भोगिरहेको समस्या अरू देशले नभोगेका होइनन्। सिंगापुरमा पनि पहिला यस्तै समस्या रहेछ। आधुनिक सिंगापुरको जन्मदाता ली क्वान यूले चिनियाँ र भारतीय विद्यार्थीलाई छात्रवृत्तिमा पढ्न बोलाए। ती युवाले पढ्दै काम गर्थे। अध्ययन सकेर दक्ष भएका युवा जनशक्तिले त्यहीं बसेर काम गर्दा देशको उन्नति भयो।
त्यहाँ पढेर आफ्नो देश फर्किने युवाले समेत सिंगापुरको कम्पनीमा काम गर्न पाउँथे। यस्तो अभ्यासलाई ‘ग्रीन हार्भेस्टिङ’ अर्थात् फल पाक्नुअघि नै आफ्नो डालोमा ल्याउने विधि भनिंदो रहेछ। ली क्वान यूले शुरूआती चरणमा विभिन्न देशका युवालाई अनेक अवसर दिएर ‘ग्रीन हार्भेस्टिङ’ गरेका थिए।
नेपालमा पनि काम गर्दै पढ्ने विद्यार्थी नभएका होइनन्, तर निकै थोरै छन्। यहाँ काम गर्दै पढ्नका लागि रोजगारीको अवसर नै छैन।
यस्तो अवस्था सिर्जना हुनुमा हाम्रो राजनीति दोषी छ। हाम्रो शासन अभ्यास जनतामुखी भएको छैन। राजनीतिक नेतृत्वले देशमा केही भइरहेको छ भन्ने सन्देश दिन सकेको छैन। नेतृत्वमा पुग्नेहरू आमजनताका लागि भन्दा आफ्नो पार्टी, गुट, परिवार र आफन्तका लागि मात्रै सोच्ने हुँदा निराशा छाएको छ। देशमा केही भइरहेको छ भन्ने आशा सिर्जना गर्न सकेको भए युवा यसरी बाहिरिने थिएनन्।
पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सकेको भए युवा देशमै बस्थे। रोजगारी सिर्जना नहुनुको एउटा कारण त वैदेशिक लगानी ल्याउन नसकेकाले पनि हो। ३०-३५ वर्षअघि र अहिलेको नेपालको समस्या उही छ। जबकि गृहयुद्धबाट ध्वस्त भियतनाम वैदेशिक लगानी आकर्षण गर्न सफल भएको छ। विश्वका चर्चित बहुर्राष्ट्रिय कम्पनीका सामग्री भियतनाममा उत्पादन हुन्छ। उत्पादन क्रियाकलाप बढेपछि रोजगारीका अवसर पनि बढ्छन्। तर, नेपाल उत्पादनको क्षेत्रमा धेरै पछि छ, जसले गर्दा रोजगारी पनि छैैन।
विदेशगमनसँग अर्को पाटो पनि जोडिएको छ। त्यो हो, शिक्षा। अहिले हाम्रा विश्वविद्यालयले दिइरहेको शिक्षाले विद्यार्थीलाई देशमा अडाउन सकिरहेको छैन। विश्वबजारमा प्रतिस्पर्धा गर्न त्यस्तै किसिमको शिक्षा चाहिन्छ। तर, विडम्बना नेपालमा वर्षौं पुरानो पाठ्यक्रम पढाइ हुन्छ। हामीले विश्वविद्यालयलाई समय अनुसार रूपान्तरण गर्न सकेका छैनौं।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न आङ्गिक क्याम्पसमा झन्डै ७५ प्रतिशत विद्यार्थी पढ्छन्। ती सबै विद्यार्थीले एउटै पाठ्यक्रम पढ्छन। फरक फरक कलेज भए पनि उनीहरूले पढ्ने विषयमा कुनै विविधता छैन। विश्वविद्यालयले पढाउने पाठ्यक्रममा विविधता नभएपछि नवप्रवर्तन पनि हुँदैन।
त्यस्तै, विश्वविद्यालयमा हुनुपर्ने प्राज्ञिक वातावरण छैन। राज्य सञ्चालक दलले आफ्ना मान्छे भर्ती गरेर विश्वविद्यालयलाई गन्जागोल बनाए। संसारमा भइरहेको परिवर्तनलाई आत्मसात् गर्न हाम्रा विश्वविद्यालय त दौडिनुपर्ने हो। तर, हाम्रोमा परीक्षा लिन र नतीजा प्रकाशन गर्न नै वर्षौं लाग्छ।
अर्कातर्फ, त्रिभुवन विश्वविद्यालयले विदेशमा पढेर आएकालाई समकक्षता दिन पनि झमेला सिर्जना गरिरहेको छ। जसले गर्दा देश फर्कन चाहने पनि निरुत्साहित छन्।
शिक्षाको समस्या विश्वविद्यालयमा सीमित छैन। विद्यालय तहदेखि नै हाम्रो पाठ्यक्रममै समस्या छ। अहिले हाम्रा स्कूले केटाकेटीले दुई प्रकारका पाठ्यक्रम पढिरहेका छन्। एउटा, राज्यले तोकेको पाठ्यक्रम। अर्को, स्कूलको व्यवहार, आनीबानी र वातावरण जसलाई अदृश्य पाठ्यक्रम भनिन्छ।
राज्यले तोकेको पाठ्यक्रमले नेपाली संस्कृति र गौरवमय इतिहासको गाथा गाउँछ। तर, अदृश्य पाठ्यक्रमले भने स्कूलमा नेपाली भाषा पनि बोल्न दिंदैन। त्यहाँ गीत, सङ्गीत, कला, साहित्य सबै विदेशकै सिकाइन्छ। जसले गर्दा उनीहरूको आदर्श पनि देश बाहिरकै हुन्छन्। सानैदेखि यहाँको हावापानीमा भिज्न दिइँदैन। त्यसैले पनि ती विद्यार्थी ठूलो भएपछि विदेशतिरै जान खोज्छन्।
विडम्बना अहिले विद्यार्थी मात्र होइन, देशमा राम्रै स्तर बनाइसकेका मानिस पनि विदेशिन थालेका छन्।
अर्कातर्फ, सरकारी कलेज पढ्ने र निजी कलेज पढ्ने विद्यार्थीको सोच नै फरक छ। राम्रा र महँगा स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीलाई नेपालप्रति चासो र रुचि छैन। बरु सरकारी स्कूल तथा कलेजमा पढ्ने विद्यार्थीले देशका जल्दाबल्दा मुद्दामा चासो दिइरहेका हुन्छन्। शिक्षाको यस क्षेत्रप्रति पनि ध्यान दिन जरुरी छ।
एउटा विद्यार्थीलाई उच्च शिक्षाका लागि तयार गर्न राज्यले ठूलो धनराशि खर्च गरेको हुन्छ। तर, त्यो युवामा गरेको खर्च उठाउनेबारे राज्यले सोचेको छैन। देशका लागि ठूलो घाटा हो, यो। अहिले विदेश गइरहेका विद्यार्थीलाई देशमै राख्ने हो भने राज्यले तत्काल दुई वटा विषयमा ध्यान दिनुपर्छ- शिक्षाको स्तर सुधार्ने र रोजगार सिर्जना।
युवालाई देशमै कसरी रोकिराख्ने भन्ने सोच्न ढिला भइसकेको छ। अहिले जसरी विदेश जाने प्रवृत्ति रोकिएन भने भविष्यमा ती युवाका बुबाआमा एक्ला हुनेछन्। छोराछोरीले पैसा त पठाउलान्, तर त्यसले उनीहरूको भावनात्मक आवश्यकता पूर्ति गर्न सक्दैन।
विडम्बना अहिले विद्यार्थी मात्र होइन, देशमा राम्रै स्तर बनाइसकेका मानिस पनि विदेशिन थालेका छन्। भविष्य सुरक्षित नदेखेर ती विदेशिएका हुन्। कुनै पनि क्षेत्र सुरक्षित नभएपछि उनीहरूले विदेशको विकल्प रोजेका हुन्।
उदाहरणका लागि यहाँ कुनै पनि क्षेत्रमा जीवनभर काम गर्दा पनि सामाजिक सुरक्षा राम्रो छैन। मध्यम आम्दानी हुनेका लागि छोराछोरी पढाउन र औषधोपचार गर्न हम्मेहम्मे पर्छ। यी सबै समस्या समाधान गर्न ढिला भइसकेको छ।
(माथेमासँग सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित।)
बहसमा विदेशगमन थप सामग्री: