गैह्रीगाउँ हत्या घटनाको अनुसन्धान गर्न समिति गठन
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको चार जनाको हत्याको अनुसन्धान गर्न प्रहरीले समिति गठन गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको हो। पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले जनाएका छन्।
अनुसन्धान समितिको सदस्यमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन्।
गएराति गैह्रीगाउँको दिव्य सःमिल भित्र रहेको काठको एकतले टहरामा चार जनाको हत्या भएको थियो। उनीहरूको शव आज बिहान भेटिएको थियो।
सःमिलमा गेटपालेको काम गर्ने कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा सुभद्रा भुजेल र मोरङको बेलबारीका नवीन राईको शव भेटिएको थियो। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले त्यही कटेरोमा बस्ने दीपेन्द्र राईलाई पक्राउ गरेको छ।