हँसमुख आत्मालोचकसँग अन्तिम भेट
राजेन्द्र पराजुली दाइको अवसानसँगै नेपाली साहित्य र पत्रकारिता क्षेत्रले एक स्वाभिमानी आलोचक गुमाएको छ।
सखारै छोरीलाई स्कूल पठाउने हतारोमा थिएँ। समय हेर्न मोबाइलको स्क्रीन थिच्दा आख्यानकार नयनराज पाण्डे दाइको मेसेज देखें। ‘के आयो एकाबिहानै?’ दिमागले सोच्न नभ्याउँदै इनबक्स ‘अन’ भयो।
मेसेज पढ्दापढ्दै फोन भुइँमा खस्यो। ठूलो स्वरले चिच्याएछु, छोरी तर्सिई। फोन टिपेर फेरि मेसेज पढें। मेसेज पढ्दै गर्दा शरीर काँप्यो। ‘के हो यो? हँ, के हो?’ भन्दै आफैं बोलिरहें।
हत्त न पत्त राजेन्द्र पराजुली दाइलाई कल गरें। रिङ गयो, कल उठेन।
नयन दाइलाई फोन गरें, व्यस्त भन्यो। आख्यानकार नारायण ढकाल दाइलाई कल गरें, व्यस्तै भन्यो।
राजेन्द्र दाइकै नम्बर ‘रिडायल’ गरें। राजेन्द्र दाइले ‘एई, कवि! एकाबिहानै सम्झ्यौ नि, कफी खाने मूड आयो कि क्या हो? हो भने आइहाल’ भनी पो हाल्लान् कि सोचिरहें। तर, फोन नै उठेन।
नारायण दाइलाई नै फेरि फोन गरे। हेलो पनि नभनी सीधै ‘दाइ, को राजेन्द्र, के भयो’ भनेर सोधें। नारायण दाइले दबेको स्वरमा भन्नुभयो, “गए, गए हाम्रै मित्र गए। अपत्यारिलो भएर गए।”
भदौ २६ को त्यो बिहान कसरी बित्यो पत्तै भएन। राजेन्द्र पराजुली दाइको अप्रत्याशित निधनको खबरले विचलित बनें।
अपराह्नतिर पशुपति आर्यघाट पुग्दा सबै मलिनो अनुहार लिएर यताउति गरिरहेका थिए। सधैं हाँसेको हाँस्यै गर्ने राजेन्द्र दाइ कतै हुनुहुन्नथ्यो। घाटको सत्तलमा उहाँको प्राणहीन शरीर मात्रै थियो।
नारायण दाइ ब्रह्मनालको छेउमा गएर एक्लै बस्नुभएको रहेछ। हरेक साता कफी खाएर घण्टौं गफिनुपर्ने साथीलाई अन्तिम बिदाइ गर्न उहाँका हात काँपिरहेका थिए शायद।
राजेन्द्र र नारायण दाइको कफी जङ्सन काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेज थियो। म पनि गफमा मिसिन्थें। प्रायः म उहाँहरूको अनुभव सुनिबस्थें। कहिलेकाहीं मेरा पनि तर्क हुन्थे। प्रवचन जस्तो दुवै जनाको गफ मुस्कुराउँदै सुन्नमै आनन्दित हुन्थें। तर, समयले अब ती पललाई सम्झनाको तस्वीर बनाइसकेको थियो।
प्रिय लेखक राजेन्द्र पराजुलीको देह नफर्किने गरी बागमतीमा विलय हुँदै थियो। बागमती किनारमा उभिएर आफ्नो आदरणीय र प्रिय मान्छेको भौतिक अस्तित्व नामेट भइरहेको साक्षी बन्न बाध्य भएँ। छातीभित्र एकतमासको चिसो सिरेटो चलिरह्यो। आँखाले रोकिन मानेन, मान्दै मानेन। आँशु बगिरह्यो।
राजेन्द्र दाइको पार्थिव शरीर ब्रह्मनालमा राखेर चितातिर ल्याउन थाल्दा आकाश बर्सिन थाल्यो। पति वियोगमा उहाँकी श्रीमतीको विलाप हृदयविदारक थियो। बुबाले प्राण त्यागेदेखि परिवारलाई सम्हाल्न प्रयत्न गरेकी छोरी पनि अन्तिम पल्ट बुबाको मुख हेर्दै गर्दा बेहोश जस्तै भइन्। बुबालाई अन्तिम बिदाइ गर्न परदेशबाट आइपुगेका छोरा-बुहारीको रुवाइले उकुसमुकुस बनायो। अहो, जीवन रहँदा पो सबथोक रहेछ!
छरिता जीउडालका हँसमुख राजेन्द्र दाइ यसरी नै ढल्नुभयो। ढलेका राजेन्द्र दाइको पार्थिव शरीर अग्निमा समाहित हुँदै गयो। उहाँको शरीर बिस्तारै धुवाँ र खरानी बन्दै थियो। मलाई एक प्रिय मान्छे धुवाँ बन्दै गरेको हेर्नु थिएन, आँखै सामु जे हुँदै थियो, मन मान्न तयार भइरहेकै थिएन।
अब फेरि कहिल्यै देख्न पाइन्नथ्यो, नफर्किने बाटो गइसकेको सत्यलाई केही गरी टार्न सकिन्नथ्यो। उहाँको अन्तिम बिदाइमा दुई थुँगा फूल त चढाउनुपर्छ। यही सम्झेपछि उहाँको चितासामु आँसुसरि उभिन पुगें।
आँगन खोसिएको कोटेश्वरको केटो
पानी बर्सिरहेछ, चिताबाट उठेको धुवाँ पानीसँग अलमलिंदै शून्यतिर उठिरहेछ। बागमतीको धमिलो पानीसँगै मेरो मनको क्यानभासमा १२ वर्षअघिको स्मृतिचित्र खुल्दै गइरहेछ।
२०६८ असारको एक दिन बिहानदेखि झरी परिरहेको थियो। त्यो वेला लोडशेडिङले खूब हैरान पार्थ्यो। लामो लोडशेडिङका कारण जेनेरेटरलाई पनि ‘रेस्ट’ दिनुपर्थ्यो। म आर्थिक अभियान दैनिकमा काम गर्थें।
सम्पादक अच्युत वाग्ले सरको च्याम्बर छुट्टै थियो। हाम्रो न्यूजरूमको अभिभावकत्व राजेन्द्र दाइले गर्नुहुन्थ्यो। सम्पादकीय टीमका प्रमोद प्रधान सर र राजेन्द्र दाइको क्याबिन सँगसँगै थियो। कहिले उहाँहरूकै क्याबिनमा गफिन पुग्थ्यौं।
लोडशेडिङ शुरू भएपछि प्रायः राजेन्द्र दाइ सहित थापाथली क्षेत्रका चिया, कफी शपतिर निस्कन्थ्यौं। कहिले दाइ र म मात्रै जान्थ्यौं।
त्यो झरी परेको एक मध्याह्न पनि हामी दाजुबहिनी मेरो पुरानो भइसकेको छातामा ओतिएर थापाथलीतिर लाग्यौं। नर्भिक नाघेर आउने एउटा खाजाघरमा माथितिर बस्ने ठाउँ थियो। तला माथि गयौं, चिया पिउँदै गफिन थाल्यौं। पछिल्लो पुस्ता अध्ययनमा निम्छरो हुँदै गएकोमा, साहित्य लेखनमा पनि ढोंगीहरू हावी हुँदै गएकोमा, सिर्जनाका लागि आफू बाहिर निस्केर हिंड्न नपाएकोमा गुनासो पोख्यौं।
खासगरी जीविकोपार्जनको पोयो बटार्दाबटार्दै साहित्य लेखनका निम्ति समय नै नपुगेकोमा छटपटी थियो उहाँमा। हालको काठमाडौंको तिनकुने-कोटेश्वर क्षेत्रका रैथाने बासिन्दा भएर पनि एक श्रमजीवी सञ्चारकर्मी हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो, “विकासले खाइदियो हाम्रो घर आँगन। मकै खाने बारी। हाम्रो पुर्ख्यौली जग्गाको ठूलो हिस्सा कोटेश्वर-सिनामंगल क्षेत्रमा पर्ने सडकखण्ड र एअरपोर्टमा परेपछि तीनकुनेको सानो क्षेत्रमा बसाइ खुम्चियो।”
सिद्धार्थ कटेजमा कफी पिउँदै गर्दा भन्नुहुन्थ्यो, “उ: त्यो एअरपोर्टको एरियामा हाम्रो घर थियो, मकै र कोदो बारी थियो। हामी केटाकेटी छँदा त्यहीं खेल्थ्यौं। खेल्दै खेल्दै बागमतीतिर पौडी खेल्न जान्थ्यौं।”
हँसीमजाक गर्दै पौडी खेल्दाखेल्दै आफ्नो गहुँगोरो वर्ण पनि गोरो देखिने गरेको सुनाउनुहुन्थ्यो। आफ्नो आँगनको खूब स्मरण गर्नुहुन्थ्यो। राजेन्द्र दाइ भन्नुहुन्थ्यो, “आज बागमती ढलमती भएको छ। कहिलेकाहीं बागमतीको डिलमा उभिएर आफ्नै पुरानो चित्र हेर्न खोज्छु, पानी भए पो छायाँ देखिनु! म त आँगन खोसिएको कोटेश्वरको केटो भएँ!”
आफैंप्रति आलोचक
आफैंले आफैंमाथि कैंची कसले चलाउँदो हो? त्यस्ता बिरलाकोटी लेखकमा पर्नुहुन्थ्यो राजेन्द्र दाइ। दुई-चार थान सिर्जना वा लेखरचनाकै भरमा आफू ‘सबसे अब्बल’ भनेर दाबी पेश गर्नेहरूको भीडमा उहाँको पहिचान अलग थियो। आत्मप्रशंसाका भोकाहरूबीच उहाँ भने अरूलाई भन्दा बढी आफैंप्रति आलोचनाको औंलो तेर्स्याउनुहुन्थ्यो।
‘म एक औसत लेखक’ यो शीर्षकको लेखमा उहाँले आफ्नो लेखनबारे आत्मसमीक्षा गर्नुभएको छ। उहाँ भन्नुहुन्थ्यो, “कसैले मेरो लेख रचना राम्रो रहेछ भनेर प्रशंसा गरे म लाजले भुतुक्क हुन्छु।”
दाइ वास्तवमा आफ्नै बाल्यकालीन शुद्ध बागमती जस्तो सङ्लो मन र विचार भएका लेखक हुनुहुन्थ्यो। लेखन कर्ममा लागेका धेरैले लेखनमा जीवन खर्चिए पनि राज्यले, यो वा त्यो वर्गले नहेरेको गुनासो गरिरहन्छन्। गरगहनासम्म बेचेर लेखे भन्ने लेखकहरूप्रति दाइ झोक्किनुहुन्थ्यो।
उहाँको प्रश्न हुन्थ्यो, “तिनलाई कसले श्रीमतीको गहनासम्म बेचेर लेख भन्यो? राज्यले? कसले? आफूलाई नै बोझ हुने गरी कसले तिनलाई यो क्षेत्रमा उभिन भन्यो? म किन र केका लागि लेख्दै छु भन्ने थाहा नपाउनेहरू किन रोइलो गर्न आउनु?”
शौखका रूपमा लिए पनि उहाँ आफ्नो लेखनप्रति जिम्मेवार हुनुहुन्थ्यो। कुनै वाद वा राजनीतिक विचारधारा नजिक हुन उहाँलाई रहर थिएन। यद्यपि दाइको कलम राजनीतिक कथा लेखनमा बलियो गरी उभिएको थियो।
आफूले यो वा त्यो वाद नभने पनि दाइका कथाले पक्षधरता भने लिएकै देखिन्छ। भ्रष्ट हुँदै गएको राजनीतिक संरचना, दल, नेताहरूले आमनागरिकमाथि गरेको लूट, शोषण, अन्यायको कडा विरोध हुन्थ्यो, उहाँका कथामा।
एक महीनाअघि नगरकोटमा सार्वजनिक गरिएको उहाँको कथा संग्रह जन्तरमन्तरभित्रका अधिकांश कथामा विदीर्ण बन्दै गएको राजनीतिक माहोलप्रतिको कडा कटाक्ष पाइन्छ। कोटेश्वरको केटो, अघोरी, शुक्रराज शास्त्रीको चश्मा लगायत कृति राजनीतिक विकृतिमाथि प्रहारलाई नै मियो बनाइएको छ। झण्डै अढाई दशक पत्रकारितामा बिताउनुभएका उहाँले तीन दशकभन्दा बढी समय साहित्य साधनामा खर्चिनु भयो।
व्यक्तिगत जीवनमा कतै कसैलाई नबिझाउने, मृदुभाषी, शालीन व्यक्तित्व भएका राजेन्द्र दाइ आफ्ना कथाहरू मार्फत सामाजिक तथा राजनीतिक विसङ्गतिप्रति भने आलोचकीय दृष्टिकोण राख्नुहुन्थ्यो। उहाँ लेखनसँग ‘इन्जोय’ गर्नुहुन्थ्यो। दाइले एउटा लेखमा भन्नुभएको छ, ‘जीवन जिउने क्रममा मैले मन पराएको र रोजेको बाटो हो लेखन।’
अन्तिम उत्सव
एक महीनाअघि २५ जना साथी लिएर राजेन्द्र दाइ एक साँझ नगरकोट पुग्नुभएको थियो। नयाँ कथा सँगालो जन्तरमन्तरमाथि अन्तरक्रियाको सन्दर्भ जोडेर उहाँ साथीहरूसँग बिन्दास हुन चाहनुहुन्थ्यो। नेता घनश्याम भुसालदेखि घनिष्ठ मित्र र नयाँ पुस्ताका लेखकसँग मध्यरातसम्म खूब रमाइलो भयो।
भोलिपल्ट फर्किंदा बाटोमा दाइले किन यति धेरै खर्च गरेका होलान् भन्दै चिन्ता पनि जाहेर गर्यौं। तर, दाइले अघिल्लो बेलुका नै भन्नुभएको थियो, ‘जिन्दगीमा लानु के छ र! एक दिन भए पनि आफ्ना प्रियहरूसँग रमाऊँ भन्ने उद्देश्य हो मेरो, किताब त बहाना मात्रै हो।’
उहाँलाई के थाहा, त्यो नै जीवनको अन्तिम उत्सव रहेछ!
राजेन्द्र दाइको अवसानसँगै नेपाली साहित्य र पत्रकारिता क्षेत्रले एक स्वाभिमानी आलोचक गुमाएको छ। अब भौतिक रूपमा हामीमाझ नभए पनि सधैं हाम्रो स्मृतिमा सिर्जनाको दियो बनेर बलिरहनुहुनेछ प्रिय राजेन्द्र दाइ।