गैह्रीगाउँमा हत्या गरिएका तीन जना एकै परिवारका
काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका रहेका छन्।
तीनकुनेस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरिएको हो। दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए।
हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका रहेको मैनालीले बताए। उनका अनुसार दोलखा घर भई हाल दिव्य सःमिलमा गेटपालेको काम गर्ने करीब ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र मोरङको बेलबारीका अन्दाजी २० वर्षका नवीन राईको हत्या गरिएको छ।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए। शव परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। सबै नाकामा प्रहरी टोली परिचालन गरिएको थापाले बताए।
घटनाको अनुसन्धानका क्रममा त्यही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँग सोधपुछ चलिरहेको थापाले बताए।
यो सःमिल दोलखाको कालिन्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।