पेट्रोलियम पदार्थको मूल्य लगातार तेस्रो पटक वृद्धि
नेपाल आयल निगमले गत एक महीनामा लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले आज बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो। मूल्य समायोजनसँगै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १७३ पुगेको छ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १७२ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७० रुपैयाँ ५० पैसा तोकिएको छ।
इन्डियन आयल कर्पोरेशनबाट भदौ २९ मा प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर एक रुपैयाँ १२ पैसा र दुई रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
यसअघि निगमले भदौ १४ मा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। त्यसअघि साउन ३० मा पनि मूल्यवृद्धि भएको थियो। आजसम्म गरेर तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको हो।