द्वन्द्वपीडितले फेरि दिए प्रहरी प्रधान कार्यालयमा किटानी जाहेरी
गत वर्ष दिइएको किटानी जाहेरी प्रहरी महानिरीक्षकले प्राप्त गरेको छैन भनेपछि द्वन्द्वपीडितले प्रहरी प्रधान कार्यालयमा पुनः किटानी जाहेरी दिएका छन्।
प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्धको जाहेरी शुक्रबार हुलाक र इमेल मार्फत पुनः प्रहरी प्रधान कार्यालयमा पठाएको द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणले बताए।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले २०७९ फागुन २६ गते सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा पीडितको ‘...जाहेरी प्रहरी प्रधान कार्यालय नक्सालमा प्राप्त हुन आएको अभिलेखबाट नदेखिएको र प्रहरी कार्यालयमा प्राप्त वा दर्ता भएको नदेखिएको...’ भनेपछि आफूले पुनः जाहेरी दिएको आरणको भनाइ छ।
जाहेरीमा २०७६ माघ १ गते माघीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँच हजार व्यक्तिको हत्याको जिम्मा लिने अभिव्यक्ति दिएका प्रधानमन्त्री दाहाललाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने माग गरिएको छ।