बाँझो जग्गा एक दशकमै दोब्बर, कुन जिल्लामा कति?
पछिल्लो एक दशकमा देशभर बाँझो जग्गा दोब्बरले बढेको छ भने मध्यपहाडमा खेतीपाती गर्न छाड्ने क्रम अन्यत्रको तुलनामा धेरै रहेको एक अध्ययनले देखाएको छ।
खेतीकिसानी उसै पनि आकर्षक पेशा होइन। त्यसमाथि तन्नेरी पुस्ताको विदेशगमन, तराई र शहरी क्षेत्रतिरको बसाइँसराइ तथा घट्दो उब्जनी कारण गाउँका खेतबारी पनि छाड्न थालिएको छ। एक दशकअघिको तुलनामा नेपालमा बाँझो जग्गा दोब्बरले बढेको नयाँ सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार देशमा ६० हजार ५४२ हेक्टर जग्गा अस्थायी बाँझो छ। यो एक दशकअघिको तुलनामा झन्डै दोब्बर हो। कृषि गणना, २०६८ ले देशमा ३१ हजार ४४ हेक्टर जग्गा अस्थायी बाँझो भएको देखाएको थियो। कम्तीमा एक वर्षदेखि पाँच वर्षसम्म खेतीपाती नभएमा अस्थायी बाँझो भनी परिभाषा गरिएको छ।
यद्यपि यो देशको कुल कृषि चलनमा रहेको जग्गाको ठूलो हिस्सा भने होइन। कृषि गणनाका अनुसार देशको २२ लाख १८ हजार हेक्टर जमीन खेतीपातीका लागि किसान परिवारको चलनचल्तीमा छ। यसको २.७ प्रतिशत बाँझो देखिएको हो।
सबैभन्दा धेरै मध्यपहाड र उच्च हिमाली क्षेत्रका जिल्लामा बाँझो जग्गा देखिएको छ। सबैभन्दा धेरै मनाङमा १८.४७ प्रतिशत र रसुवामा ११.१९ प्रतिशत कृषि चलनको जग्गा बाँझो छ।
त्यसैगरी, तनहुँमा ९.४२ प्रतिशत, रोल्पामा ८.३८ प्रतिशत र गोरखामा ८.१८ प्रतिशत जग्गा बाँझै छ। स्याङ्जा, सिन्धुपाल्चोक, दोलखा, अर्घाखाँची, ओखलढुंगा, म्याग्दी, कालिकोट जस्ता मध्यपहाडका जिल्लामा पनि बाँझो जग्गा अन्यत्रका तुलनामा धेरै छ।
मध्यपहाड छोडेर तराई र शहरी क्षेत्रमा झर्ने क्रमले ती क्षेत्रको गाउँमा खेतबारी बाँझो भइरहेको कृषि गणनामा देखिएको छ। त्यसमाथि पछिल्ला वर्षमा तन्नेरी पुस्ता विदेशिने क्रम बढ्दा पनि काम गर्ने मान्छेको अभाव छ।
अझ बाँदर आतङ्कले मध्यपहाडका किसान हैरानी खेपिरहेका छन्। अन्नपात भित्र्याउन नपाउँदै खेतबारीबाटै बाँदरले खाइदिन थालेपछि कैयौं किसान परिवारले बाली नै नलगाएर छोडेको खेतबारी पनि बढ्दो छ। यी कारणले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको अनुमान छ। यद्यपि तराईका जिल्लामा भने बाँझो जग्गाजमीनको परिमाण न्यून छ।
उब्जाउ राम्रो हुने तथा शहरी र नगरोन्मुख क्षेत्रमा भने कृषि भूमि नै नासिने क्रम बढेको कृषि गणनाले देखाएको छ। कृषि गणना, २०७८ ले देशभरका २२ लाख १८ हजार हेक्टर जग्गा कृषिकर्मका लागि प्रयोग भएको देखाएको छ। यो एक दशकअघिका तुलनामा करीब १२.४ प्रतिशत थोरै हो।
२०६८ सालको कृषि गणनाले देशको २५ लाख २६ हजार हेक्टर जग्गा कृषिकर्मका लागि प्रयोग भएको देखाएको थियो। खेतबारीको उपयोग नगरी बाँझै छाड्ने तथा खेतीपाती हुने जग्गा टुक्र्याएर आवासका लागि प्लटिङ गर्ने क्रम बढेपछि कृषिजग्गा घटेको अनुमान छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका सहायक प्रमुख तथ्याङ्कशास्त्री हेमराज रेग्मी घर, बाटोघाटो निर्माण आदि कारणले कृषिजग्गा घटेको अनुमान गर्छन्।
पछिल्ला वर्षमा देशका शहरी र नगरोन्मुख क्षेत्रमा जग्गा प्लटिङ गरी घडेरी बिक्री गर्ने व्यवसाय फस्टाउँदै गएको छ। जसले गर्दा खेतबारीमा तीव्र गतिमा घर ठडिइरहेका छन्। गणनाले खेतको क्षेत्रफल एक दशकमा एक लाख ५४ हजार हेक्टरले घटेर १४ लाख ३० हजार हेक्टर रहेको उल्लेख गरेको छ।
धान सहितका अन्नबाली लगाउने क्षेत्रफल पनि घटिरहेको गणनाले देखाएको छ। एक दशकको अवधिमा धान बाली लगाउने खेतको क्षेत्रफल दुई लाख ४० हजार हेक्टरले घटेको पाइएको छ।
एक दशकबीचमा कालिकोटमा ३९.५ र लमजुङमा ३५.८ प्रतिशतले कृषि चलनको जग्गा घटेको छ। त्यसैगरी, ललितपुरमा ३३.५ प्रतिशत, भक्तपुरमा ३१.४ प्रतिशत, काठमाडौंमा २२.८ प्रतिशतले कृषि चलनको जग्गा घटेको छ।
कृषि गणनाका अनुसार देशमा किसान परिवारको संख्या ४१ लाख ३० हजार छ। एक दशकअघि किसान परिवारको संख्या ३८ लाख ३१ हजार थियो।