चिकित्सकलाई कुटपिटको विरोधमा स्वास्थ्य संस्था बन्द
चिकित्सकलाई कुटपिट गरेको विरोधमा मकवानपुरको हेटौंडाका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।
बिरामीको उपचार गरिरहेको अवस्थामा हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकलाई कुटपिट गरिएको थियो। त्यसको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन्।
हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले शुक्रबारदेखि सेवा बन्द गरेका हुन्। कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै उनीहरू विरोधमा उत्रिएका हुन्। घटना भएको तीन दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि नबढेकाले आन्दोलनमा उत्रिनुपरेको स्वास्थ्यकर्मीले बताएका छन्।
भदौ २६ गते बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सन्चो अस्पतालका दुई जना चिकित्सकलाई कुटपिट गरिएको थियो। कुटपिट गर्नेलाई कारबाही गर्नुको सट्टा स्थानीय प्रशासन र प्रहरीले मिलापत्र गराउन खोजेपछि स्वास्थ्यकर्मी आक्रोशित छन्।
गत साउन २५ मा डेंगीको उपचारका लागि आएका हेटौंडा उपमहानगरपालिका–१२ का राजेश प्रधानलाई चितवन रिफर गरिएको थियो। उनको चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो।
चिकित्सकले उपचारमा लापरबाही गरेको भन्दै एक महीनापछि चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका हुन्। डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ। डा. थापाको अनुहारमा चोट लागेको छ। दुवै जनाको काठमाडौंमा उपचार भइरहेको छ।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।