नेताहरूसँग ‘कनेक्सन’ देखिएका जीवन सीआईबीमा कागज गरेर फरार
राजनीतिक दलका नेताहरूसँग सम्बन्ध देखिएका जीवन चलाउने सुन तस्करी प्रकरणमा प्रकाउ परेपछि बोलाएको वेला सीआईबीमा उपस्थित हुने कागज गरेर निस्केका थिए, तर उनी फर्केर आएनन् भने सीआईबीले पनि भेट्टाउन सकेन।
साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछ गर्यो। यही सूचीमा थिए, जीवन चलाउने।
सोधपुछका क्रममा जीवनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण पनि भयो। तर, केही भेटिएन। बोलाएको वेला उपस्थित हुने शर्त सहितको कागज गराएर सीआईबीले छोडिदियो।
केही दिनपछि दावा छिरिङसँग जीवनको सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटियो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनले ‘आफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको र मासिक ५०–६० किलोग्राम सुन खपत गर्न सकिने’ आशयको सन्देश पठाएका थिए। “दावासँग कुराकानी भएको भेटिएपछि पहिल्यैदेखि चलाइरहेको फोन समेत लिएर आउन भनेर खबर पठायौं,” ती अधिकृत भन्छन्, “तर, उनी आएनन्।”
सीआईबीले अनुसन्धान प्रतिवेदनमा जीवनलाई प्रतिवादी बनाएको छ। उनको सम्पर्क पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासँग पनि देखिएको छ। त्यस्तै, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि जीवन निकट रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ।
दीपेशले सीआईबीलाई आफ्नो नयाँ मोबाइल मात्र उपलब्ध गराएर अनुसन्धानमा असहयोग गरेको प्रहरीको दाबी छ भने राहुल भेप प्रकरणमा हिरासतमा छन्। प्रतीक भने नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त हुन्।
प्रहरी अभिलेखमा जीवन नवधनाढ्य उल्लेख गरिएको छ। बर्दियाका जीवन २०७० सालअघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे। पछिल्लो समय भने उनी चामलको कारोबारमा लागेका थिए जुन देखाउने व्यवसाय मात्र रहेको प्रहरीको भनाइ छ।
जीमी ग्रूपमा समेत उनी आबद्ध छन्। यो ग्रूपको उनी प्रबन्ध निर्देशक हुन्। यो ग्रूपले भारतको जीमी ब्रान्डको चामल आयात गर्छ।
त्यस्तै, लायन्स क्लबमा समेत उनको आबद्धता देखिन्छ। ‘लायन्स क्लब अफ काठमान्डु गुणकेशरी वाइट’ को उनी सभापति रहेको जोली सिलवालले फेसबूकमा उल्लेख गरेकी छन्। जोली यस क्लबकी सचिव हुन्।
सुन तस्करी प्रकरणका नाइके तहका दाओजिन वाङसँग समेत जीवनको प्रत्यक्ष चिनजान रहेको नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले हिमालखबरलाई बताए। “जीवनलाई चिन्नुहुन्छ भनेर मलाई एक पटक वाङले सोधेका थिए,” वाङसँग चिनजानमा रहेका ती माओवादी नेता भन्छन्। वाङले प्रस्ट नेपाली समेत बोल्ने गरेको उनको भनाइ छ।
सीआईबीमा कागज गरेर गएका उनी फर्केर नआएपछि नेताहरूसँगको ‘कनेक्सन’ जोड्न नसकिएको जनाइएको छ। त्यसपछि उनले आफ्नो फेसबूक समेत ‘डिएक्टिभ’ गरेका छन्। पछिल्लो सुन तस्करी प्रकरणमा प्रतिवादी समेत रहेका उनलाई फरार सूचीमा राखिएको छ।
यो गिरोहले हालसम्म करीब ३६३ किलोग्राम सुन नेपाल भित्र्याएको सीआईबीको अनुसन्धानमा देखिएको छ। साढे ६० केजी सुन तस्करीमा भने प्रहरीले ५० जनालाई अभियुक्त बनाएर अनुसन्धान प्रतिवेदन भदौ २७ गते काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ। जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्।