चिकित्सकलाई आक्रमण गर्ने चार जना पक्राउ
हेटौंडामा चिकित्सकलाई आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा रहेको सन्चो अस्पतालका चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीलाई भदौ २७ मा आक्रमण भएको थियो। चिकित्सकलाई आक्रमण गर्नेमध्ये चार जना पक्राउ परेका हुन्। स्थानीय रमा प्रधान, रमिता प्रधान, रोही प्रधान र अनुप प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
यसैबीच स्वास्थ्यकर्मीले आक्रमण गर्नेहरू विरुद्ध सामूहिक उजुरी दिने तयारी गरेका छन्। वार्ताको नाममा पीडित चिकित्सकलाई नै हतोत्साहित गर्ने काम भएपछि सामूहिक रूपमा मुद्दा दर्ता गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरका अध्यक्ष भोला चौलागाईंले बताए।
प्रशासन र प्रहरीले दोषीलाई कारबाही गर्न चासो नदेखाएको, उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको अध्यक्ष चौलागाईंको भनाइ छ। घटनापछि छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको र एसपीकै कार्यकक्षमा उजुरी दर्ता नगराउन दबाब दिइएको तथा दोषीले डाक्टरलाई काट्छु भन्दा समेत एसपी सीताराम रिजाल निरीह बनेको स्वास्थ्यकर्मीको आरोप छ।
यसैबीच नेपाल चिकित्सक संघ, नेपाल औषधी व्यवसायी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, मकवानपुरले प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। आक्रमण गर्नेलाई कारबाही नभए स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
एक महीनाअघि सन्चो अस्पतालमा परीक्षण गर्न आएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगी देखिएको थियो। उपचारका क्रममा चितवनमा उनको मृत्यु भएको थियो।
उनको उपचारमा लापरबाही गरेको आरोप लगाउँदै पदमपोखरीको एक समूहले सन्चो अस्पतालका चिकित्सकद्वय थापा र बिडारीलाई आक्रमण गरेको थियो। चिकित्सकलाई आक्रमण भएपछि सेवा प्रभावित भएको छ। यसको विरोधमा मकवानपुरमा ओपीडी सेवा बन्द गरिएको छ।