दशैंको मुखमा बाजुराका खाद्य डिपोमा चामल सकियो
चाडपर्व नजिकिंदै जाँदा दुर्गम हिमाली जिल्ला बाजुराको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल सकिएको छ।
सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र १५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले बताए।
सर्वसाधारणका लागि राखिएको चामल सकिएको ओझाले बताए। विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ।
सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। डिपोमा मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुन्जेल खाद्यान्न बिक्रीवितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए।
पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने २०० क्विन्टल चामल मौज्दात छ। कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने प्रमुख ओझाको भनाइ छ। “ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौं। त्यसपछिको प्रक्रिया चलिरहेको छ। यस्तै ढिलासुस्ती भए दशैंसम्म पनि चामल नआउन सक्छ,” ओझाले भने।
हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महीनाभन्दा बढी भएको छ। गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको जेठमा चामल सकिएपछि कठिनाइ भएको स्थानीय धनलाल रोकायाले बताए।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगिनमा खाद्यान्न सङ्कट भएको हो। यस्तै, हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न सङ्कट भएको छ। हिमाली गाउँपालिका–१, बिच्छयाँका धर्मलाल रोकायाले दुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएको बताए।
आर्थिक वर्ष २०७९/८० मा कवाडी डिपोमा तीन हजार ५०० क्विन्टल चामल थियो। कवाडी डिपोको कोटाको चामल जेठमै सकिएपछि मौज्दात नरहेको शाखाले जनाएको छ।
आव २०८०/८१ मा कवाडी डिपोका लागि दुई हजार ५०० क्विन्टल चामलको कोटा छ। उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने कुनै टुङ्गो छैन। कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ रुपैयाँमा बिक्री हुने गरेको थियो। डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ८० रुपैयाँमा किन्नुपरिरहेको छ।
त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको चार महीना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए। गत आर्थिक वर्षको ५०० क्विन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो।
यो आवको चामल ५०० क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा छ। जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकीन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताए। -रासस