चिकित्सक कुट्नेहरूलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी
नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै आपत्ति जनाएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेका छन्। संघले दोषीलाई ७२ घण्टाभित्र कानूनी कारबाही नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएको छ।
त्यस्तै, नेपाल प्रगतिशील चिकित्सक संघले पनि चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोध गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानूनी कारबाही गर्न सरकार समक्ष माग गरेको छ।
घटना के थियो?
बुधबार दिउँसो हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि एक समूहले कुटपिट गरेको थियो। ड्यूटीमा रहेका चिकित्सकद्वय बिडारी र थापालाई चार-पाँच जनाको समूहले निर्घात कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ।
बिडारी र थापाले कुटाइ खाइरहँदा त्यहाँ रहेका अन्य मानिस मूकदर्शक बनेको भिडिओमा देख्न सकिन्छ।
अस्पतालका अनुसार २०८० साउन २२ गते मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि अस्पताल भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगी लगायत समस्या भएको परिवारको आशङ्का थियो। तर, जाँच गर्दा डेंगी नभएको पाइयो।
यसपछि बिरामी पक्षलाई रिपोर्टमाथि शङ्का लाग्यो। उनीहरूले बिरामी अन्यत्रै लैजाने भने।
अस्पतालले पनि साउन २३ गते अर्थात् भोलिपल्ट डिस्चार्ज गरिदियो। बिरामीलाई त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराइयो। तर, साउन २५ गते उपचारका क्रममा प्रधानको मृत्यु भयो।
यसपछि बिरामी पक्षले क्षतिपूर्तिका लागि सन्चो अस्पताललाई धम्की दिएको चिकित्सक संघको विज्ञप्तिमा उल्लेख छ। बुधबार भने बिरामीका आफन्तले सन्चो अस्पतालले राम्रोसँग उपचार नगरेकै कारण बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्। अस्पतालका एक चिकित्सकका अनुसार मृत्यु भएका व्यक्तिका आफन्तको समूहले ड्यूटीमा रहेका चिकित्सकमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो।
चिकित्सक कुटे तीन वर्षसम्म कैद हुन सक्ने
२०७८ जेठमा कोरोना संक्रमितको उपचारमा खटिएका नेपालगन्जको भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भए लगत्तै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरेको थियो। संशोधनपछि स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखियो।
त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखिएको थियो।
स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्याए वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरे एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
साथै, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थामा कुनै हानिनोक्सानी भए कसूरदारबाट क्षति बराबर क्षतिपूर्ति रकम भराउन पनि सकिनेछ। स्वास्थ्य संस्थामा आगजनी वा तोडफोड तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हातपातको मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिए वा कसूरदार हो भन्ने विश्वास गर्ने आधार भएमा मुद्दा हेर्ने अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न सक्ने व्यवस्था छ।
तर, यसअघि पनि पटक पटक चिकित्सकलाई कुटपिट हुँदा यो ऐन अनुसार कारबाही भएको छैन।