एशिया कपको फाइनलमा पुग्न आज श्रीलंका र पाकिस्तान भिड्ने
एशिया कपको फाइनलमा स्थान बनाउन आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाली समय अनुसार खेल दिउँसो ३:१५ मा हुनेछ। एशिया कपका सहआयोजक यी दुई राष्ट्र आफ्नो पछिल्लो खेलमा भारतसँग पराजित भएका थिए। यी दुई टोलीबीचको विजेताले फाइनलमा भारतसँग नै प्रतिस्पर्धा गर्नेछ।
यसबीच आजको खेलका लागि पाकिस्तानले आफ्नो ‘प्लेइङ-११’ पनि सार्वजनिक गरिसकेको छ। जस अनुसार पाकिस्तानी टोलीमा पाँच खेलाडी परिवर्तन गरिएको छ।
पाकिस्तानका प्रमुख तीव्र गतिका बलरद्वय नसीम शाह र हरीश रउफ आजको खेलमा हुने छैनन्। भारत विरुद्धको खेलमा नसीमको दायाँ काँधमा चोट पुगेको थियो। रउफले पनि दायाँतर्फ कम्मर र करङको बीच भागमा दुखाइ महसूस गरेपछि भारत विरुद्ध ‘रिजर्भ डे’ मा खेलेका थिएनन्। पाकिस्तान क्रिकेट बोर्डका अनुसार रउफ निको भने हुँदै छन्। यद्यपि आजको खेलमा उनी खेल्नेछैनन्।
यस्तै, भारत विरुद्धकै खेलमा बलले अनुहारमा लागेर चोटग्रस्त सलमान अली अघा पनि आज खेल्नेछैनन्। पाकिस्तानले ओपनर फखार जमानलाई पनि ११ जनाको टोलीमा राखेको छैन भने फहीम अस्रफलाई पनि समेटेको छैन।
पाकिस्तानको प्लेइङ-११ मा मोहम्मद ह्यारिस, इमाम उल हक, बाबर आजम, मोहम्मद रिजवान, सउद शकील, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, शाहीनशाह अफ्रिदी, मोहम्मद वासिम जुनियर र जमान खान छन्।
श्रीलंकाले प्लेइङ-११ सार्वजनिक गरिसकेको छैन। यद्यपि श्रीलंकाले आफ्नो प्लेइङ-११ मा कुनै परिवर्तन नगर्ने आकलन गरिएको छ।
आज पनि कोलम्बोमा वर्षाको पूर्वानुमान गरिएको छ। वर्षा बाधक बनेर खेल रद्द भएको अवस्थामा श्रीलंका फाइनलमा पुग्नेछ। दुवै टोलीको समान २-२ अङ्क भए पनि नेट रनरेटका आधारमा पाकिस्तानभन्दा श्रीलंका अगाडि छ।