पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन शुरू
पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई ‘एचपीभी’ खोप लगाउन शुरू गरिएको छ।
देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट किशोरीलाई खोप लगाउन शुरू गरिएको परिवार कल्याण महाशाखाको निर्देशक डा. विवेककुमार लालले बताए। कोशी प्रदेशमा भने बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गरिने डा. लालले बताए।
अहिले १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोन्स्ट्रेशन’ का रूपमा खोप दिन थालिएको हो। २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइँदै छ।
मधेश प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल, बाँकेबाट खोप लगाउन शुरू गरिएको छ। त्यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप लगाइनेछ। यो खोप अभियान भदौ ३० गतेसम्म सञ्चालन हुनेछ।
यसअघि सरकारले सन् २०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख-यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसा विरुद्ध यो खोप प्रभावकारी रहन्छ।
नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुने गर्छ। सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन २० हजार डोज खोप चीनबाट ल्याएको थियो। आजबाट पहिलो डोज दिइने र ६ महीनापछि दोस्रो डोज दिइनेछ।
एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसूस हुने, रिंगटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्छन्। खोपको एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बुधबार आयोजित कार्यक्रममा ‘एचपीभी’ का खोपको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए। निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराइने मन्त्री बस्नेतको भनाइ थियो।
गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए। “सीमित स्रोत र साधनका बावजूद हामीले एचपीभी खोप लगाउन शुरू गरेका छौं,” मन्त्री बस्नेतले भने, “उमेर समूहलाई ध्यानमा राखेर दिने यो खोप ७७ जिल्लाका सबै महिला तथा किशोरीले पाउनुपर्छ। निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीले यो खोप पाउनेछन्, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ।”