‘सौतामाथि दियौ बाबा कति लेख्यौ जिउनी बरिलै’
पुराना तीज गीतहरू अध्ययन गर्दा तत्कालीन सामाजिक अवस्था, महिलाले भोग्नुपरेको विभेद, असमानताका साथै समयसँगै बढेको चेतना र विद्रोहका झिल्का भेटिन्छन्।
चाडबाडको धार्मिकसँगै सामाजिक पक्ष हुन्छ। हिन्दू नारीहरूले मनाउने हरितालिका तीजको सन्दर्भमा पनि यी दुवै पक्ष छन्। पौराणिक आख्यान अनुसार अनादि कालमा राजा हिमालयपुत्री पार्वतीले कठोर व्रत बसेर भगवान् शिवलाई पतिका रूपमा पाउने मनोकांक्षा पूरा भएको विश्वासका आधारमा निराहार व्रत बस्नु र पूजा गर्नु यसको मौलिक र धार्मिक पक्ष हो। गीत-सङ्गीत र मनोरञ्जन तीजको सामाजिक पक्ष हो।
हामीकहाँ तीजलाई धार्मिक पाटोसँगै सामाजिक उत्सवका रूपमा लिइन्छ। चेलीमाइती भेटघाट गर्ने, राति दर खाने, भोलिपल्ट उपवास बसेर नाचगान गर्दै गीतको माध्यमबाट बह पोख्ने यसको सांस्कृतिक र सामाजिक पक्ष अभ्यासमा छ। हरितालिका तीज भाद्र शुक्ल पक्ष तृतीया तिथिको दिन मनाइने भए पनि पछिल्ला वर्षहरूमा खानपान र मनोरञ्जन पक्ष हावी हुँदा यसको रमझम महीनाभरि नै रहने गरेको छ।
यो बदलावप्रति एकथरी तीजको मौलिकता मर्दै गएको टिप्पणी गर्छन् भने अर्काथरीले महिलाको यो खुलापन पुरुषसत्ता विरुद्धको विस्फोट भएको बताउने गरेका छन्।यी दुवै खाले प्रतिक्रियाका बीचमा तीजकै लागि बजारमा भित्रिने गीत-संगीत पनि जोडिन्छ।
तीज आउनु महीना दिनअघिदेखि नै तीजका गीतहरू बजारमा भित्रिने गर्छन्। ती गीत कतिलाई राम्रा लाग्छन्, कतिलाई तीजको मौलिकताभन्दा परका। तथापि तीजलाई गीत-संगीत र त्यससँगै जोडिएको सामाजिक पाटोबाट अलग राखेर हेर्न सकिंदैन।
विगतमा तीजको वेला दिदीबहिनी र आमा-काकीहरूले आफैं गीत सिर्जना गरेर नाचगान गर्थे। पछिल्ला दशकमा सूचना प्रविधिमा भएको विकासले त्यो परम्परा बदलेको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तीजका गीत र तिनले उठाउने सामाजिक विषय परिवर्तन भएका छन्। इन्टरनेट र स्मार्टफोन आउनुअघिका तीजका गीत हेर्दा तिनमा तत्कालीन समयचेत तथा महिलाका वेदना र विद्रोह भेटिन्छन्।
यस लेखमा तीजका मौलिक गीतहरू जुन रेकर्डिङ र आर्काइभ भएका छैनन्, तिनले उठाएको सामाजिक पाटो हेर्ने प्रयास गरिएको छ। लेखमा उल्लिखित प्रायः गीत गण्डकी प्रदेशमा गाइने गीत हुन्।
सुन र जस्तो के फूल फुल्यो
काँकरीको झ्यालैमा
रोइमा रोइ बसन पर्यो
करीमको ख्यालैमा।
मेरी हजुरआमाले गाउने यो गीत सम्भवत: उहाँकै उमेर (९०) जति पुरानो छ। बाल्यकालमै विवाह गर्नुभएकी हजुरआमा त्यसैलाई आफ्नो नियति ठानेर मेरा हजुरबाको घरमा भित्रिनुभएको थियो। हजुरआमाका लागि त्यो नियति स्विकार्नुको विकल्प थिएन। यस गीतले त्यही पीडा र विरह बोल्छ। महिलाका लागि तत्कालीन समाज कस्तो थियो भन्ने पनि बोल्छ। महिलाले जस्तोसुकै भोगाइलाई भाग्य वा नियति मानेर बस्नुपर्ने समयमा तीज त्यस्तो पर्व थियो जसले पीडालाई सामूहिक स्वर दिन्थ्यो।
कालो चोलो पदलाको
माछीकाँडे सिउने बरिलै
सौतामाथि दियौ बाबा
कति लेख्यौ जिउनी बरिलै
कुलोमाथि टारी खेत
त्यही हो नानी जिउनी बरिलै
मरीदकी छोरी भएँ लरीतरी खाम्ला बरिलै
नामर्दकी छोरी भएँ लरीकेर जाम्ला बरिलै
यस्ता जावा सौतनेलाई बारीपाटा लाम्ला बरिलै।
कानूनतः अहिले वर्जित बहुविवाह केही दशकअघिसम्म नेपाली समाजले मान्यता दिएको प्रचलन थियो। उक्त समयमा रचना गरिएको र गाउन थालिएको यस गीतमा बुबा-छोरीको वार्तालाप प्रस्तुत गरिएको छ। उक्त समयमा सौतामाथि छोरी दिनु सामान्य मानिन्थ्यो। बुबाले सौतामाथि आफ्नो विवाह गरिदिन लागेपछि अंश नभए पनि केही जमीन छोरीले मागेको प्रसङ्ग यस गीतमा पाइन्छ। सौतासँग लडेर खान सक्छु भन्ने प्रसङ्ग उठाए पनि यस गीतमा महिलाको तत्कालीन दारुण अवस्था चित्रण गरिएको छ।
- रम र झम तीजै आयो भन्छन्
कमाइदेऊ राजै शिरफूल
- तिमी त नारी कालीमा छौ र
सुहाउँदैन शिरफूल
- वेदका अक्षर काला हुन्छन् राजै
नहेर राजै पुस्तक
- त्यतिका वचन जानी नलाऊ नारी
दोसरी बिहे घर्कौला
- रूपकी नि पाउला
सीपकी नि पाउला
हामी जस्ती लछिनकी काँ पाउला।
श्रीमान्-श्रीमतीको संवाद रहेको यस गीतले तत्कालीन समयको चेत र समयसँगै आएको बदलावलाई बोलेको छ। श्रीमान्ले श्रीमतीलाई ‘काली छौ, शिरफूल सुहाउँदैन’ भनेपछि महिलाले ‘अक्षर पनि कालो हुन्छ, त्यो पनि नहेर’ भनेर दिएको जवाफमा विद्रोह झल्कन्छ।
लिविमालापी बाबाको आँगन
छिड्करीमारी खेलौला
छिड्करीमारी खेलनी चेलीको
शिरैमा छैन शिरफूल
सादा शिरफूल म लाउने छैन
हिरामोती जडाइदेऊ
छोरो भए बाबा अंश चिरी खाँदा हुन्
छोरी त बाबा हेला भो।
छोरीले पनि छोरा सरह अंश पाउने विषय अब नौलो रहेन। तर, केही दशकअघिको यो तीज गीत हेर्दा छोरीले अंश पाउने कुनै सम्भावना थिएन। यसले समग्रमा त्यस वेलाका महिलाको आर्थिक पाटोबारे बोल्छ। पेवा र माइतीले दिएको केही गहना बाहेक उनीहरूको आर्थिक हैसियत र स्वतन्त्रता रहेनछ भन्ने पनि देखाउँछ।
छोराछोरी बिहा गर्न छन् भनेर बाबाले
सालको पात टिपेर नलेऊ आमाले
सालको पात टिपेर नलाऊ दुना टपरी
हामी बिहे गर्दैनौं मन नपरी
बिहे गर्ने वेला भसी सक्छौं हामी बोलन
पर्दैन बाबाले आँगन पोलन।
देशमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भइसकेपछि रचिएको र गाउन थालिएको यस गीतमा राजनीतिक रूपान्तरणसँगै महिलाको चेतनास्तर र समग्र अवस्थामा आएको परिवर्तन भेटिन्छ। पहिलेका गीतमा महिलाले नियति र भाग्यलाई नै आफ्नो जीवन स्विकारेको भाव थियो भने यसमा आफ्नो जीवनको निर्णय आफैं गर्न सक्छु भन्ने भाव भेटिन्छ। अहिले पनि छोरीले विवाह गर्दिनँ भनिन् भने समाज र परिवारले स्विकार्दैन, करीब तीन दशकअघि यी कुरा गीत मार्फत उठाउन सजिलो पक्कै थिएन। त्यस्तो समयमा रचिएको यो गीतले त्यो वेलाको विद्रोही चेत दर्शाउँछ।
उठ उठ दिदीबहिनी अब डर छैन
एउटा मात्र हातले ताली बज्दैन
एक हात पुरुष त एक हात नारी हो
अधिकार दुवैको बराबरी हो
कति विकास गरिसके अरू देशका नारीले
हामीलाई त छोडेन घाँसको भारीले।
२०५० को दशकबाट गाउन थालिएको यस गीतमा महिला अधिकारको विषय उठाइएको छ। यसले २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको सामाजिक परिवर्तनलाई देखाउँछ। त्यसभन्दा अघि लैङ्गिक समानताका कुरा गीतमा भेटिदैनथे, त्यसपछिका गीतमा समान अधिकार र समान अस्तित्वको आवाज भेटिन्छ।
बाबाको दैलामुनि ठूलो रूख सिमलु
देशको थिति हेर्दा खेरी मनै बिमलु
जति जति नारी उठे
नारी हक छ भनी
त्यति त्यति नारीलाई शोषण गरनी
नारीलाई शोषण गर्ने यिनै पुरुष जाति हुन्
स्वतन्त्र छन् समान छन् भन्ने यिनै हुन्
गहना र कपडाले नारीलाई सिंगारे
आनन्द र विलासको साधन बनाए
किरिम पनि चाइँदैन पाउडर पनि चाइँदैन
नारीलाई थिचोमिचो गर्न पाइँदैन
सिर्जनाको स्रोत हो नारी सम्झ सबैले
सिर्जनालाई भुलाउँछ नारी जातिले
अफ्रिका र यूरोपमा नारी हक कस्तो छ
नेपालमा नारी हक हेर यस्तो छ।
२०५० को दशकमा शेषकान्त खनालले लेखेको यस गीतलाई उक्त समय लमजुङको तत्कालीन भोटेओढार-८ को महिला समूहले स्थानीय तीज गीत प्रतियोगितामा गाएको थियो। यसमा महिला हिंसा र उत्पीडन विरुद्ध डटेर आफ्नो हकहितका लागि लड्नुपर्छ भन्ने भावना भेटिन्छ। शृङ्गारका वस्तुले महिलालाई अझ पछाडि धकेलेको पनि उल्लेख गरिएको छ।
अहिले बजारमा आएका तीजका गीतमा ‘कमाउने नि हो रमाउने नि हो’, ‘बीस वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र, बाँकी यो जिन्दगी अर्कैलाई दिएको कल्ले बुझ्यो र’ बोलका गीत धेरै बजेको भेटिन्छ। जसको फास्ट बिटको संगीतले धेरैलाई नचाउँछ। तर, केही दशकअघिका माथिका गीतहरू हेर्दा तिनमा महिला, समग्र समाजको अवस्था र समयचेत भेटिन्छ। ठूलो स्वरमा बोल्नै नपाउने, आफ्ना भावना पोख्न नसक्ने त्यस वेलाका महिलाका बह र विद्रोहका आवाज, कुण्ठित पीडाका सामूहिक स्वर थिए ती गीत। तीज नहुँदो हो त ती आवाज कता गुम्सिएर बस्थे भन्ने थाहा छैन। यस्ता गीतहरू विरलै सङ्गृहीत भएका छन् र समयसँगै धूमिल बन्ने जोखिम छ।
आज तीजको नाममा भड्किलोपन मौलाइरहेको, यसले पुरुषसत्तालाई प्रश्रय दिइरहेको भनेर तिखा आलोचना सुनिन्छन्। तर, कुनै समय पुरुषसत्ता, असमानता र विभेद विरुद्ध बोल्ने माध्यम पनि तीज नै थियो भन्ने हामीले बिर्सनु हुँदैन। तीजका गीतलाई एक पटक फर्केर अध्ययन गर्दा तत्कालीन सामाजिक स्थिति, समयचेत र विद्रोह बुझ्न सकिन्छ।