साढे ६० किलो सुन तस्करीमा अमला सहित ५० जना विरुद्ध मुद्दा चलाउन राय
नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले साढे ६० किलोग्राम सुन तस्करीमा अमला रोका सहित ५० जना विरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी साढे ६० किलो सुन तस्करी सम्बन्धी अनुसन्धान सकिएको जनाएको छ। आज जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै छ।
त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले ५० जनामाथि मुद्दा चलाउन राय दिन लागिएको बताइन्। उनीहरूबाट तीन अर्ब ५० करोड विगो दाबी माग गर्न सुझाइएको छ।
उनीहरूमध्ये १८ जना फरार छन्। फरारमध्ये नौ जना विदेशी रहेको जनाइएको छ।
यसमा नेकपा (माओवादी केन्द्र)का नेताहरू नजिक देखिएकी रोल्पाकी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ। उनी तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङसँग मिलेर सुन तस्करीमा संलग्न रहेको सीआईबीले जनाएको छ। दावा पक्राउ परिसकेका छन्।
यो समूहले ३०२ किलोग्राम सुन तस्करी गरेको सीआईबीको अनुसन्धानमा देखिएको छ। तस्कर समूहले विदेशबाट ६० पटक सुन ल्याएको पाइएको छ।
गत साउन ३ गते हङकङबाट आएको साढे ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएपछि राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यसपछि यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो।
अहिले सीआईबीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकीलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागेको हो। त्यसमा अध्ययन गरेर सरकारी वकीलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।