बाल सुधारगृहमा झडप हुँदा १४ जना घाइते
वीरगन्ज महानगरपालिका-४ मा अवस्थित बाल सुधारगृहमा मंगलबार साँझ झडप भएको छ।
झडपमा परी ११ जना बाल कैदीबन्दी र तीन जना प्रहरी घाइते भएका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। घाइतेहरूको उपचार नारायणी अस्पतालमा भइरहेको छ।
केही दिनअघि भक्तपुरको बाल सुधार केन्द्रबाट ल्याइएका १८ बाल कैदीबन्दी र पहिल्यैदेखि वीरगन्जको सुधारगृहमा रहँदै आएकाहरूबीच मंगलबार विवाद भएको थियो। सुधारगृहका नाइकेले यातना दिएको विषयमा विवाद चर्केपछि तोडफोड र ढुङ्गामुढा भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीलाई समेत हम्मेहम्मे परेको थियो। प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। बाल कैदीबन्दीहरूले प्रहरीलाई समेत भित्रबाट ढुङ्गामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। राति करीब ११ बजेसम्म पनि प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेको थिएन।
ड्यूटीमा खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि प्रहरी उपरीक्षक शाह आफैं ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुगेका थिए। शाहका अनुसार सुधारगृहभित्रको अवस्था पनि सामान्य छ भने वरिपरि व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ।
सुधारगृहमा अहिले १४९ बाल कैदीबन्दी छन्।