बोलिभिया विरुद्ध अर्जेन्टिना विजयी
बोलिभिया विरुद्धको खेलमा अर्जेन्टिना ३-० गोलअन्तरले विजयी भएको छ।
यो सहित फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा लगातार दोस्रो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ। यसअघि इक्वेडर विरुद्धको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको थियो।
विश्वकप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज, निकोलस टालियाफिको र निकोलस गोन्जालेजले क्रमशः ३१, ४२ र ८३औं मिनेटमा गोल गरे।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई यो खेलमा आराम गराइएको थियो। इक्वेडर विरुद्धको खेलमा थकान महसूस गरेपछि मेस्सी ८८औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। मेस्सीको स्थानमा बोलिभिया विरुद्ध एन्जल डि मारियाले कप्तानी गरे। डि मारियाले दुई ‘असिस्ट’ पनि प्रदान गरेका थिए। मेस्सीको अनुपस्थितिमा १० नम्बर जर्सी एन्जल कोरिआले पहिरिएका थिए।
बोलिभियाको ला पाजमा समुद्री सतहबाट तीन हजार ६३७ मिटरको उचाइमा अवस्थित हर्नान्डो साइलेस रङ्गशालामा खेल्न कठिन मानिन्छ। यो उचाइमा अक्सिजनको मात्रा कम हुने भएकाले खेलाडीले यहाँ हुने खेलको पटक पटक विरोध गर्दै आएका छन्। अर्जेन्टिनी खेलाडीलाई पनि केही दिनअघि बोलिभिया पुग्नासाथ व्यक्तिपिच्छे अक्सिजन ट्यूब्स प्रदान गरिएको थियो।
अब विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले तेस्रो खेल १३ अक्टोबरमा पाराग्वे विरुद्ध खेल्नेछ।
यस्तै, विश्वकप छनोट अन्तर्गत आजै भएको अर्को खेलमा इक्वेडरले उरुग्वेलाई २-१ गोलअन्तरले हरायो भने भेनेजुएलाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्यो। चिली र कोलम्बियाले भने गोलरहित बराबरी खेले।
समाचार तयार पार्दासम्म ब्राजिल र पेरुबीच खेल भइरहेको छ। पहिलो हाफ सकिंदासम्म दुवै टोली गोलरहित बराबरीमा छन्।