एक खेल बाँकी छँदै भारत एशिया कपको फाइनलमा
गएराति सम्पन्न श्रीलंका विरुद्धको खेलमा जित हात पारेसँगै भारत एशिया कपको फाइनलमा प्रवेश गरेको छ।
‘सुपर फोर’ को दोस्रो खेलमा ४१ रनको जित हात पारेसँगै बाङ्लादेश विरुद्धको एक खेल बाँकी छँदै भारत फाइनलमा पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोली ४९ ओभर एक बलमा २१३ रनमै समेटिएको थियो। श्रीलंकन स्पिनरहरूले भारतको १० वटै विकेट लिएका थिए।
२१३ रन बनाउने क्रममा भारतका लागि रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किसनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन बनाए। अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले भने सानो लक्ष्य पनि भेटाउन सकेन। २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर तीन बलमा १७२ रन बनाई ‘अलआउट’ भयो। श्रीलंकाका लागि दुनिथ वेल्लालगे, धनञ्जय डि सिल्भा, चरिथ असलंका, सदीरा समराविक्रमा र कुशल मेन्दिसले मात्र दोहोरो अङ्कमा क्रमशः ४२, ४१, २२, १७ र १५ रन बनाए।
श्रीलंकाले ब्याटिङमा प्रदर्शन देखाउन नसके पनि बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो। दुनिथ वेल्लालगे एक्लैले भारतको पाँच विकेट लिएका थिए। उनले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल र हार्दिक पान्ड्या जस्ता ब्याटरलाई आउट गरेका थिए। यस्तै, चरिथ असलंकाले पनि भारतीय टोलीको चार विकेट लिएका थिए। महीश थिकसनाले एक विकेट लिएका थिए।
बलिङमा भारतले पनि राम्रो प्रदर्शन गरेको थियो। कुलदीप यादव एक्लैले चार विकेट लिएका थिए भने जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान दुई विकेट लिएका थिए। मोहम्मद सिराज र हार्दिक पान्ड्याले एक-एक विकेट लिएका थिए।
खेल हारे पनि श्रीलंकन युवा खेलाडी वेल्लालगे ‘प्लेयर अफ द म्याच’ चुनिए।
अब श्रीलंकाले फाइनल प्रवेशका लागि पाकिस्तान विरुद्ध भिड्नेछ। यी दुई टोलीको खेल भोलि हुनेछ।
हाल श्रीलंका र पाकिस्तान दुवैको समान दुई अङ्क छ। तर, नेट रनरेटका आधारमा श्रीलंका पाकिस्तानभन्दा माथि छ। यो अवस्थामा वर्षाले खेल रद्द भएमा भने श्रीलंका फाइनलमा पुग्नेछ। किनकि उक्त खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था छैन।
सुपर फोरको चौथो टोली बाङ्लादेश भने प्रतियोगिताबाट बाहिरिइसकेको छ। बाङ्लादेशले अब शुक्रबार भारत विरुद्ध औपचारिकताका लागि मात्र खेल्नेछ।