वैदेशिक लगानीको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको शिलान्यास
कोरियन लगानीको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच आयोजनाको बाँध लगायत संरचना निर्माणकार्यको शिलान्यास गरेका हुन्। यो प्रत्यक्ष वैदेशिक लगानी भएको अहिलेसम्मकै ठूलो जलविद्युत् आयोजना हो।
कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा यो आयोजना निर्माण हुँदै छ। रसुवाको आमाछोदिङमो गाउँपालिका-१, हाकुमा बाँध लगायत संरचना र उत्तरगया गाउँपालिका-१ मा भूमिगत विद्युत्गृह लगायत संरचनाहरू निर्माणाधीन छन्।
समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति तथा प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतबाट विद्युत् उत्पादन गरी आन्तरिक खपत तथा निर्यात गरेर मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए।
समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत् विकास विभाग लगायत उच्चपदस्थ पदाधिकारीहरू, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधि, निजी क्षेत्रका ऊर्जा उद्यमी लगायतको उपस्थिति थियो।
आयोजनाको मुख्य निर्माण २०७८ पुसबाट थालिएको थियो। भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, बाँध लगायत सम्पूर्ण संरचनाको निर्माण तीव्र गतिमा भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत पुगेको छ। आयोजनाको बाँधको निर्माण वर्षा याम सकिएपछि शुरू गरिनेछ।
आयोजनामा हाल करीब एक हजार श्रमिक परिचालित छन्। त्यसमध्ये करीब ५०० जना रसुवा जिल्लाका स्थानीय छन्। आयोजना निर्माण अवधिमा ७०० देखि एक हजार नेपाली श्रमिकले दैनिक रोजगारी पाउने कम्पनीले जनाएको छ।
आयोजना निर्माणका लागि इन्जिनीयरिङ, खरीद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी छ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याज सहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ।
आयोजनाबाट वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। यसमध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षा याममा उत्पादन हुनेछ। कम्पनी र प्राधिकरणबीच विद्युत् खरीद-बिक्री सम्झौता सम्पन्न भइसकेको छ।
यो आयोजना काठमाडौं लोडसेन्टरबाट नजिक छ भने विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट उत्पादन गर्न सक्छ। आयोजनाको निर्माण २०८३ को मंसीरभित्र सक्ने लक्ष्य राखिएको छ।