नेम्वाङलाई श्रद्धाञ्जली (तस्वीरहरू)
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राखिएको छ।
नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न अहिले एमाले सहित विभिन्न दलका नेता-कार्यकर्ताहरू भेला भएका छन्।
गएराति हृदयाघातका कारण नेम्वाङको निधन भएको थियो। उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।
एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य रहेका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए।
उनी २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष बनेका थिए। संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।