नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने
सरकारले दिवङ्गत संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ। नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू फर्किएपछि अन्त्येष्टि गरिने र सोही दिन सार्वजनिक बिदा दिइने भएको हो।
संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए।
नेम्वाङको गए राति साढे १ बजे त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो। सामान्य रुघाखोकी लागेर घरमै आराम गरिरहेका उनलाई गएराति हृदयाघात भएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले नेम्वाङलाई मृत घोषणा गरेका थिए।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज एमालेको केन्द्रिय पार्टी कार्यालय च्यासलमा राखिनेछ।