बिथोलिंदै बेगनास
रामसार सूचीमा सूचीकृत बेगनास तालमा वातावरणीय प्रभाव अध्ययन नगरी अनुमति विना नै मोटरबोट चलाउँदा जलचर र स्थानीय बासिन्दा त प्रभावित भएका छन् नै बेगनासको जलीय प्रणाली पनि बिथोलिंदै गएको छ।
क्यानडाका नागरिक मोरी म्यासन ५२ वर्षअघि नेपाल आए। नेपालका विभिन्न ठाउँ घुम्दै जब पोखरा पुगे, उनका आँखा अडिए। हिमालले घेरेर बीचमा बसेको पोखराले लोभ्याए। त्यसपछि पोखरा ओहोरदोहोर गरिरहे।
आठ वर्षदेखि म्यासन बेगनास ताल छेउमा बस्छन्। शान्त ठाउँ खोज्दै बेगनास ताल पुगेका म्यासनलाई तालको सुन्दर बाँध्यो। उनका लागि बेगनासको विशेषता भनेको नै हरियाली र शान्त वातावरण हो।
गत जेठमा म्यासन घरको छतबाट तालमाथि चरा उडिरहेको हेरिरहेका थिए। छाल सहित तालबाट एक्कासि ठूलो आवाज आयो। काठका डुङ्गामा पर्यटक तालमा सयर गरिरहेको देखेका उनका लागि बेगनासको यो दृश्य अनौठो थियो। पहिलो पटक बेगनास तालमा मोटरबोट चलेको देखे। उनीसँगै बेगनाससँग जोडिएको पचभैया डाँडाका बासिन्दा पनि चकित भए।
बेगनास डुङ्गा व्यवसायी समिति र स्थानीय व्यवसायीको संयुक्त लगानीमा मोेटरबोट ल्याइएको हो। लेखनाथमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मोटरबोट ल्याइएको समितिका अध्यक्ष रविराज कँडेल बताउँछन्।
बेगनासमा करीब २५० को हाराहारीमा डुङ्गा व्यवसायी छन्। अधिकांश परम्परागत काठका डुङ्गा चलाउँछन्। त्यसलाई बेवास्ता गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्न भनेर तालको वातावरण नै प्रभावित पार्ने गरी मोटरबोट ल्याइएको छ।
बेगनास ताल क्षेत्र पर्ने पोखरा महानगरपालिका-३१ का वडाध्यक्ष ढकनाथ कँडेल भन्छन्, “विशेषत: धार्मिक पर्यटन र उद्धारका लागि मोटरबोट ल्याइएको हो। बेगनासमा वराह मन्दिर छ। त्यहाँ लैजान पर्यटकलाई आकर्षित गर्न मोटरबोट ल्यायौं।”
मोटरबोटमा एक पटकमा १० जना सयर गर्न सक्छन्। हाल समितिले प्रतिव्यक्ति ४०० रुपैयाँका दरले शुल्क लिंदै आएको छ। १० जना समूहमा पर्यटक पुगे भने काठ र पैडल डुङ्गाभन्दा मोटरबोट चढ्न सुझाउँछन् समितिका कर्मचारी।
मोटरबोटले कोलाहल
बेगनास डुङ्गा व्यवसायी समिति र लेखनाथमा रहेका व्यवसायीले संयुक्त रूपमा मोटरबोट ल्याएपछि बेगनासका स्थानीय, व्यवसाय गरिरहेका व्यक्ति, जलारी समुदाय यसको विरोध गरिरहेका छन्। मोटरबोट बेगनासको वातावरण कोलाहलको कारक बन्दै गएको उनीहरूको गुनासो छ।
पचभैयाका स्थानीय मनोज गुरुङलाई शुरूमा मोटरबोट चल्दा रमाइलो लागेको थियो रे। पर्यटक आए बेगनासको विकास होला भन्ने सोचेको उनी सुनाउँछन्। तर, मोटरबोटले बेगनासको वातावरण बिगार्दै गएको देखेपछि उनी चिन्तत छन्। गुरुङ भन्छन्, “बाउबाजेले हामीलाई यस्तो बेगनास छाडेर गए, अब हामीले आउने पिंढीका लागि पनि यस्तै बेगनास राख्नुपर्छ। बेगनासलाई जोगाउनु जरुरी छ।”
बेगनासमा हुन सक्ने दुर्घटना, विपत्मा उद्धारका लागि मोटरबोटको प्रयोग आवश्यक छ। तर, दैनिक रूपमा प्रयोग हुनु वातावरणीय हिसाबले राम्रो नभएको उनको भनाइ छ।
अर्का व्यवसायी गणेश परियार मोटरबोटले तालमा ध्वनि प्रदूषण गरिरहेको बताउँछन्। भोलि १०-१५ वटा मोटरबोट सञ्चालन भए बेगनासको पर्यावरणमा गम्भीर असर पर्ने परियारको तर्क छ।
पेट्रोलबाट सञ्चालित मोटरबोटका कारण अहिले पानीमा तेल तैरिइरहेको देखिन सक्ने उनी बताउँछन्। “ठूलो स्पीकरमा गीत बजाउँदै चिच्याउँदै मोटरबोटमा मान्छे आउँदा बेगनास ताल अशान्त भएको छ,” परियार भन्छन्।
स्थानीय ओमप्रकाश गुरुङ मोटरबोट ल्याउने छालको प्रभावले तालका भित्तामा जोडले हानिरहेको बताउँछन्। यसले तालको संरचना पनि बिगार्दै लैजाने गुरुङको भनाइ छ। उनी भन्छन्, “आजको भोलि नै परिवर्तन नदेखिए पनि दीर्घकालीन रूपमा बेगनासमा असर पर्छ।”
स्थानीय र व्यवसायीसँगै बेगनास तालमा निर्भर जलारी समुदाय पनि अहिले चिन्तत छ। केही महीनायता जालमा माछा कम पर्न थालेको टंक जलारी (नाम परिवर्तन) सुनाउँछन्। महीनामा ३० हजार रुपैयाँको माछा बेच्ने गरेका जलारीले अहिले कमाइ शून्य जस्तै भएको बताउँछन्।
मोटरबोट चल्दा सानो डुङ्गा लिएर तालमा जान नसकिने अवस्था आएको उनको भनाइ छ। “परिवार भएका मान्छे हौं। तालमा ओहोरदोहोर गर्नुपर्छ। मोटरबोट चल्दा हाम्रो सानो डुङ्गा नै पल्टाउला जस्तो हुन्छ,” उनी गुनासो गर्छन्।
रामसारमा मनपरी
विश्व सिमसार दिवसका अवसरमा २०७२ सालमा पोखराका फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो। यी नौ वटा ताल सहित नेपालका १० सिमसार क्षेत्र रामसारमा सूचीकृत छन्।
सिमसार क्षेत्र घुमन्ते चरा, माछा, उभयचर, बोटबिरुवा, वनस्पति आदिको महत्त्वपूर्ण वासस्थान भएकै कारण वातावरणीय प्रणालीमा सिमसारको महत्त्व छ। रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न जैविक प्रजाति, पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्छ।
जसमा पोखराका नौ तालको २६१.१ वर्ग किलोमिटर क्षेत्रफल रामसारमा सूचीकृत छ। जसमा बेगनासको १८.४ वर्ग किलोमिटर क्षेत्रफल पर्छ।
वन तथा वातावरण मन्त्रालयले सन् २०१८ मा गरेको अध्ययनले नौ वटै ताल उच्च जोखिममा रहेको देखाएको थियो। जसले गर्दा तालमा पानीको गुणस्तर र यसमा निर्भर जलचर जीवको जीवनमा प्रभाव परेको अध्ययनमा उल्लेख छ। नौ वटै तालमध्ये न्युरेनी बाहेक अन्य आठ तालमा नै प्रदूषणको स्तर बढ्दै गएको अध्ययनमा देखिएको थियो।
संरक्षणको आवश्यकता रहेको सिमसार क्षेत्र बेगनास तालमा पोखरा महानगरको अनुमति विना नै अहिले मोटरबोट सञ्चालित छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पर्यटन व्यवसाय सञ्चालनको अनुमति र नियमनको अधिकार स्थानीय सरकारलाई छ। मोटरबोट सञ्चालनमा आएपछि मात्र समितिले अनुमतिको प्रक्रिया अगाडि बढाएको छ।
अनुमति लिएर मोटरबोट सञ्चालन गरिनुपर्नेमा बेगनास तालमा भने मोटरबोट सञ्चालन गरेको झन्डै तीन महीना पुग्नै लाग्दा बल्ल अनुमतिको प्रक्रियाका लागि महानगर पुगेको छ। डुङ्गा व्यवसायी समितिका अध्यक्ष कँडेल वडाबाट स्वीकृति लिएर महानगरलाई सबै कागजात बुझाइसकेको बताउँछन्।
त्यसो त पोखरा महानगरले बेगनास तालमा ‘वाटर स्पोर्टस्’ जलीय खेलकूदको परिकल्पना सहित योजना ल्याएको छ। जसका लागि महानगरले अहिले वडा, स्थानीय बासिन्दा तथा व्यवसायीसँग छलफल अघि बढाइरहेको छ। जलीय खेलकूदमा २० भन्दा बढी कार्यक्रमबारे छलफल भइरहेको वडाध्यक्ष कँडेलको भनाइ छ। जसमा थरी थरीका इन्जिनबाट चल्ने डुङ्गा बेगनास तालमा ल्याउने भनी छलफल भइरहेको छ।
यसबारे प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन पनि गरिएको छैन। वडाध्यक्ष कँडेल त्यसबारे छलफल भइरहेको र मूल्याङ्कनले जलीय खेलकूद सञ्चालन गर्न सुझाव नदिए नगरिने पनि बताउँछन्। अहिले सञ्चालन भइरहेको मोटरबोट पनि विना अध्ययन नै ल्याइएको थियो।
पोखरा महानगर-३१ का स्थानीय दामोदरभक्त थापा लेखनाथको विकासका लागि पर्यटकीय गतिविधि गर्नुपर्ने बताउँछन्। तर, यस्ता गतिविधि गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सञ्चालन गरिनुपर्ने उनको तर्क छ।
राष्ट्रिय सिमसार नीति, २०६९ मा विकास निर्माणको योजना तर्जुमा गर्दा सिमसार क्षेत्रमा पर्न सक्ने प्रभावको आकलन गरी त्यस्ता प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी उपायको अवलम्बन गर्नुपर्ने उल्लेख छ। साथै सिमसार क्षेत्रको वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्न नदिन सावधानीका उपाय अवलम्बन गर्नुपर्ने व्यवस्था छ।
सरकारले ल्याएको रामसार रणनीतिक योजना (२०१८-२०२४)मा रामसार क्षेत्रमा गरिनुपर्ने १३ प्राथमिकताका क्षेत्र छुट्याइएको छ। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा प्राथमिकतामा रहेको रामसार क्षेत्रमा पर्ने पोखराको बेगनास तालमा अनधिकृत रूपमा मोटरबोट चलिरहँदा भने आधिकारिक निकायलाई पत्तो समेत छैन।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे यसबारे मन्त्रालयमा जानकारी नआएको बताउँछन्। स्थानीय तहले पर्यटन, उद्धारका लागि योजना शुरू गर्न सक्ने भए पनि परियोजनाको आकार हेरेर यसले वातावरणमा पुर्याउने प्रभावबारे अध्ययन गर्नुपर्ने दायित्व रहेको घिमिरेको भनाइ छ।
आकार हेरेर तीन तहको अध्ययनका लागि ऐन कानून रहेको उनी बताउँछन्। “आधारभूत वातावरणीय अध्ययन सबैभन्दा सानो आकारका लागि, अर्को मध्यमका लागि प्रारम्भिक वातावरणीय परीक्षण र ठूला आकारका परियोजनाका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गरिनुपर्छ,” घिमिरे भन्छन्। यसमा प्रारम्भिक वातावरणीय परीक्षण गर्न सक्ने जिम्मेवारी स्थानीय तहलाई भएको उनी बताउँछन्।
तर, बेगनास तालमा मोटरबोट चलाउँदा कुनै परीक्षण गरिएको पाइएको छैन। अझ मनपरी भइरहँदा स्थानीय सरकारले पनि वास्ता नगरेको स्थानीय बासिन्दा गुनासो गर्छन्। छेउमै बस्दै आएका क्यानडेली म्यासन बेगनासको वातावरण बिथोलिंदै गएकोमा चिन्तित छन्। उनी बेगनासलाई पूर्ववत् शान्त राख्नुपर्ने बताउँछन्।