‘ज्ञानेन्द्र शाहले डेढ लाख डलरको दरमा गैंडा बेचेका थिए’
त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, ‘तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!’
२०५४ सालमा मैले ‘दुर्लभ एकसिङ्गे गैंडा हस्तान्तरणमा श्री ५ अधिराजकुमार ज्ञानेन्द्रको संलग्नता’ शीर्षकको रिपोर्ट तयार पारेको थिएँ। खोज पत्रकारिता केन्द्र (खोपके)को सहयोगमा तयार पारेको रिपोर्ट काठमाडौं टुडे म्यागेजिनमा छापिएको थियो। पत्रकारितामा रिपोर्ट भन्नासाथ रिपोर्टिङ गर्नुअघि र पछिका धेरै कुरा पर्छन्। तर, त्यो रिपोर्टका सन्दर्भमा छापिएपछि झेल्नुपरेका अनेक सास्ती अहिले पनि झलझली सम्झन्छु।
तत्कालीन श्री ५ को सरकारले अन्य देशका चिडियाखानालाई नेपालबाट उपहारमा गैंडा दिने गरेको कुरा त वातावरण र वन्यजन्तुमा चाख भएका हामी धेरै पत्रकारलाई थाहा थियो। तर, उपहारका नाममा गैंडा विदेश पठाएर पैसा लिने गरेको र त्यो रकम हिनामिना भएको गैंडा गणनाको वेला मात्र थाहा भयो। त्यसैले त्यो रिपोर्टिङको पृष्ठभूमि सन् १९९४ मा नेपालमा भएको गैंडा गणनासँग जोडिन्छ।
सन् १९९४ मा चितवन राष्ट्रिय निकुञ्जमा भएको गैंडा गन्तीको नेतृत्व प्रह्लाद योञ्जनले गरेका थिए। नेपाली विशेषज्ञले गरेको पहिलो गैंडा गन्ती भएकाले त्यसको विशेष महत्त्व थियो। योञ्जनको टीमको छायाङ्कन गर्न नेपाल वातावरण पत्रकार समूह (नेफेज्)का हामी केही पत्रकार १० दिन जति चितवनको जङ्गलमा उहाँसितै थियौं।
उपहारका नाममा दुर्लभ एकसिङ्गे गैंडा विदेशमा बेचिंदो रहेछ, त्यस बापत आउने रकम श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषमा जाँदो रहेछ र जथाभावी खर्च गरिंदो रहेछ भनेर गैंडा गन्तीको समाचार र छायाङ्कन गर्दा कुरैकुरामा मेरो कानमा पर्यो। अरू पत्रकारले पनि थाहा पाए।
त्यस वेलाको गणनामा गैंडाको संख्या ४६४ वटा देखिएको थियो। गैंडाको संख्या अनुमान गरिएभन्दा कम देखिएपछि उपहारका नाममा गैंडा विदेश पठाइनेबारे धेरै पत्रकारको चासो गयो। वन्यजन्तु बिटमा रुचि भएकाले मेरो ध्यान अलि बढी गयो र मलाई यो विषयमा रिपोर्ट गर्न मन लाग्यो।
पछि, बेलायतको ब्रिटिश म्यूजियमले लुफ्थान्सा एअरलाइन्सको विमानबाट दुई वटा गैंडा लैजाने तयारी भइरहेको थाहा भयो। त्यसपछि यस विषयमा मैले गहिरो खोजी शुरू गरें। त्यसै क्रममा काठमाडौं टुडेका प्रकाशक-सम्पादक टीकाराम राईले राम्रो रिपोर्ट गरे खोज पत्रकारिता केन्द्र (खोपके) ले पैसा दिने बताएपछि झन् आकर्षित भएँ।
वन्यजन्तु रिपोर्टिङमा मेरो गहिरो लगाव थियो। मैले लामो समयदेखि वन्यजन्तुको विषयमा रिपोर्टिङ गर्दै आएको थिएँ। त्यसैले यस विषयमा काम गर्ने संस्थाहरू, संस्थामा काम गर्ने विज्ञहरू, निकुञ्जका वार्डेन, निकुञ्जभित्रका होटल सञ्चालक, चोरी शिकार रोक्न काम गरिरहेका व्यक्ति र संस्था मेरा लागि अपरिचित थिएनन्। त्यसैले निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रका कुनै पनि जानकारी पाउन मलाई सजिलो थियो। नीतिगत र फिल्डका सबै कुरा थाहा नभए पनि सामान्य सूचना पाउन सहज थियो।
विभिन्न स्रोतबाट सूचना सङ्कलन र विश्लेषण गर्दै जाँदा उपहारको नाममा पठाइने हरेक गैंडा बापत साढे एक लाख डलर लिने माइन्यूट नै गरिएको कुरा पत्ता लाग्यो। उक्त रकम श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषमा जम्मा हुने गरेको र अडिटमा नपरेको पनि पत्ता लागेपछि मैले त्यो माइन्यूट खोज्न आफ्नो सम्पूर्ण सूत्र लगाएँ। दुई महीनाको प्रयासमा माइन्यूटको फोटोकपी मेरो हात पर्यो। सक्कली माइन्यूट आफैंले पढेपछि फोटोकपी पाउन मैले धेरै पापड बेल्नुपरेको थियो।
पञ्चायतकालमा दरबारमा वन्यजन्तु संरक्षण समिति नामक संरचना रहेछ। महत्त्वपूर्ण निर्णयहरू त्यसै समितिबाट हुँदा रहेछन्। माइन्यूट हेरेपछि थाहा भयो, समितिको २०४६ असार २९ गते बसेको बैठकले उपहारका नाममा गैंडा विदेश पठाउन बिक्री मूल्य नै तोकेको रहेछ। उक्त बैठक तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको अध्यक्षतामा निर्मल निवासमा बसेको थियो। समितिको बैठकको निर्णयमा गैंडा पठाएर आउने रकम तत्कालीन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषमा जम्मा हुने उल्लेख थियो।
यो निर्णय गर्दा कोषका सदस्य-सचिव हेमन्त मिश्र हुनुहुन्थ्यो। त्यसअघि कोषका सदस्य-सचिव चन्द्रप्रसाद गुरुङको पालामै पनि गैंडा पठाउन धेरै प्रयास गरिएको रहेछ। गुरुङपछि कोषको सदस्य-सचिवमा जयप्रताप राणा आएपछि गैंडा पठाउने प्रक्रिया तीव्र पारिएछ।
खोज्दै जाँदा शङ्का गर्नुपर्ने विभिन्न पाटा देखिए। २०३५ सालदेखि २०५४ सालसम्म ३७ वटा गैंडा विदेश पठाइएका थिए। तीमध्ये १७ वटा गैंडाको बदलामा नेपालले ती देशबाट वन्यजन्तु नै उपहार पाएको रहेछ। बाँकी २० वटा गैंडा पठाउँदा आएको पैसा महेन्द्र प्रकृति संरक्षण कोषको खातामा जम्मा हुने भनिए पनि त्यसको हिसाब थिएन। पैसा कहाँ छ भनेर कोषका मानिसले भन्न चाहेनन्। निकुञ्जले गैंडा पाल्ने तर गैंडाको नाममा आएको रकम कोषले लिंदै आएकोमा निकुञ्जका वार्डेन र विभागका मानिस पनि कोषसित खुशी थिएनन्।
खासमा महेन्द्र प्रकृति संरक्षण कोष वैधानिक रूपले देशको तर्फबाट चन्दा उठाउन सक्ने हैसियत भएको संस्था थियो। यसले बेलायत, जर्मनी, अमेरिका लगायत देशबाट वन्यजन्तु संरक्षणका नाममा विभिन्न संस्था र व्यक्तिसित रकम उठाइरहेको थियो। गैंडा उपहार पठाएर आएको रकम भने पारदर्शी थिएन। कोषको खातामा आएको त्यो रकम लेखा परीक्षणको दायरामा पनि परेको देखिएन।
दरबारले बनाएको वन्यजन्तु संरक्षण समिति २०५४ सालमा पनि थियो। प्रजातन्त्र स्थापना भइसक्दा पनि पञ्चायतकालदेखिकै अभ्यास चलिरहेको थियो।
उपहारको नाममा गैंडा बेच्ने गरिएको सम्बन्धी माइन्यूट नै भेटिएपछि अब लेख्नु ठूलो कुरो थिएन। तर, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको अध्यक्षतामा बसेको बैठकले गैंडाको मूल्य तोकेको, पैसा आएको र हराएको खबर छाप्ने आँट टीकारामजीले मात्र गर्नुभयो। त्यति वेला माओवादीको सशस्त्र द्वन्द्वमा मान्छेहरू मारिन थालेका थिए, त्यो स्थितिमा यस्तो रिपोर्ट छाप्न काठमाडौं टुडेले आँट गरेकै हो।
तर, मैले खोज गर्दागर्दै २०५४ वैशाखमा लुफ्थान्साले नेपालबाट अन्तिम उडान गर्ने जानकारी सार्वजनिक गर्यो। लुफ्थान्साको त्यो अन्तिम उडानबाट नेपालले दुई वटा गैंडा बेलायत पठाउने तयारी थालेको खबर बाहिरियो। त्यसपछि गैंडा पठाउन रोक्ने अभियान शुरू भयो। प्रह्लाद योञ्जन, भैरव रिसाल, आदित्यमान श्रेष्ठ लगायत ब्यानर बोकेर त्रिभुवन विमानस्थल पुग्नुभएको थियो। विमानस्थलमा निकै कडाइ गरिएको थियो। हामीलाई प्रवेश गर्नै दिइएन।
विज्ञहरूसँगको कुराकानी, प्रमाण र अध्ययनका आधारमा हेर्दा गैंडा पठाउने प्रकरणमा ज्ञानेन्द्र शाहको सबैभन्दा धेरै बदमासी देखियो। कोषमा आउने भनिएको रकमको दुरुपयोगबारे जयप्रताप राणा र चन्द्रप्रसाद गुरुङ बोलेनन्। डलरमा आउने रकम निजी काममा खर्च हुँदो रहेछ। त्यो रिपोर्ट जब छापियो, सोचे जस्तै प्रतिक्रिया आउन थाले।
६ महीना एक्लै हिंड्न गाह्रो भयो
त्यस वेला म रेडियो नेपालमा ‘खोजखबर’ नामको कार्यक्रम चलाउँथें। त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, “तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!”
त्यसको केही दिनपछि दरबार निकटका एक व्यक्तिले मलाई सम्पर्क गरी ‘त्यो माइन्यूट कहाँबाट आयो’ भनी सोधे। माइन्यूट दिने स्रोत पत्ता लगाउन उनीहरूले ‘तपाईं राम्रो खोजी गर्नुहुँदो रहेछ’ भन्दै फकाएर घर र जग्गा किनिदिने प्रलोभन पनि देखाए। मैले आफूलाई नपुग्दो केही नभएको जवाफ फर्काएँ। उनीहरूले अधिराजकुमार ज्ञानेन्द्रसित भेट्ने भए समय मिलाइदिन्छौं भने। तर, मैले उनलाई भेट्नुपर्ने काम नै के थियो र?
त्यसपछि महेन्द्र प्रकृति संरक्षण कोषमा काम गर्ने ज्ञानेन्द्रले पत्याएका एक व्यक्तिले ‘ब्रेकफास्ट’ खान एउटा रेस्टुराँको नाम प्रस्ताव गरे। मैले नाइँ भनिनँ, किनकि उनलाई मैले चिनेको वर्षौं भइसकेको थियो। उनले अधिराजकुमारका तर्फबाट मलाई छात्रवृत्तिमा खोज पत्रकारिता पढ्न बेलायत जाने प्रस्ताव आएको र मेरो सम्पूर्ण खर्च बेहोर्न कोष तयार रहेको जानकारी गराए। मैले छात्रवृत्ति अरूलाई नै आवश्यक रहेको र आफू नेपाल छाडेर अहिले कतै जान नचाहेको नम्रतापूर्वक बताएँ।
त्यसपछि मेरो रिपोर्टबारे खोजबिन गर्न दरबारभित्र सेनाको समिति नै बनेछ। केही दिनपछि मलाई केही अपरिचित व्यक्तिले पछ्याउन थाले। तिनीहरू सेनाका मानिस थिए भन्ने थाहा पाउन मलाई धेरै समय लागेन। उनीहरू अफिस नजिकै पुगेपछि मैले ‘किन पिछा गरेको, तपाईंहरू को हो’ भनेर हल्का थर्काएँ। तीमध्ये एक जनाले आफू सेनाको मान्छे भएको बताउँदै पठाउने अधिकृतको नाम लिए र उनीसित भेटाइदिन मलाई जङ्गी अड्डा लैजान अनेक प्रयास गरे।
पछि, बागबजारस्थित आफ्नो अफिस अगाडि ती अधिकृतसित कुरा गरें। उनले आफू माइन्यूट दिने स्रोतको नाम पत्ता लगाउन गठित समितिमा रहेको बताउँदै मलाई अनेक तरहले फकाए। मैले मीठो कुरा र चियामा उनलाई टारिदिएँ।
समितिका मानिसले म कार्यालय जाँदा र हिंडडुल गर्दा समेत कतै हिंडेर, कतै मोटरसाइकलमा पिछा गर्थे। यो सिलसिला ६ महीना जति चल्यो। एक्लै हिंड्न गाह्रो हुने स्थिति आयो। पछि पछि त उनीहरू ‘माइन्यूटको फोटोकपी दिने मान्छेको थर भए पनि चाहियो’ भन्थे। जुनसुकै हालतमा आफ्नो स्रोतको सुरक्षा मेरो पहिलो दायित्व थियो, त्यसैले जेजस्तो अप्ठेरो आइलागे पनि माइन्यूट उपलब्ध गराउने व्यक्तिको गोपनीयता मैले जोगाइरहें।
त्यो रिपोर्ट छापिएपछि यसका दुई-तीन वटा प्रभाव देखिए। एउटा, रिपोर्ट आएको २०५४ सालपछि उपहारकोे नाममा गैंडा विदेश पठाउन रोकियो। अर्को, गैंडाबाट हुने बाली नोक्सानी कम गर्न र गैंडाको चोरी शिकार रोक्न अघि सारिएको मध्यवर्ती क्षेत्र अवधारणाले मूर्त रूप लियो।
त्यो रिपोर्ट आउनासाथ महेन्द्र प्रकृति संरक्षण कोषले गैंडाको तस्करी रोक्ने, चितवनमा गैंडा संरक्षण गर्ने लगायत काममा खर्च गर्न थाल्यो। सबैभन्दा राम्रो, कोषको प्रजातन्त्रीकरण भयो। त्यस वेला पनि कोषका अध्यक्ष त ज्ञानेन्द्र शाह नै थिए, तर त्यसपछि वन्यजन्तु संरक्षणको क्षेत्रमा वन मन्त्रालयले हस्तक्षेप गर्न थाल्यो। ज्ञानेन्द्रको भूमिका खुम्चियो। त्यो रिपोर्ट आएपछि ज्ञानेन्द्रको छवि केही धमिलियो।
नेपाल वातावरण पत्रकार समूहमा वन्यजन्तुबारे लेख्ने हामी केही पत्रकार ‘वन्यजन्तु निगरानी समूह’ बनाएर सक्रिय थियौं। निगरानी समूहले बर्दियाको निकुञ्जभित्र केही विदेशी व्यापारीले होटल खोल्ने योजना बनाएको थाहा पाएपछि त्यो काम गैरकानूनी भएको समाचार लेख्यौं। उक्त योजना रोकियो। त्यस्तै, एकसिङ्गे गैंडा विदेश पठाइने गरेको विषयमा निगरानी समूहले विभिन्न समयमा बनेका वनमन्त्रीलाई बोलाएर गहन छलफल गरेको थियो।
उपहारका नाममा गैंडा बेच्ने कार्य खासमा तत्कालीन मन्त्री सलिम मियाँ अन्सारीले रोक्न खोजेका थिए। निर्णय नहुँदै उनले मन्त्रालय छाडे। त्यसपछि वन मन्त्रालय सम्हालेका शेख इद्रिसले ‘विदेशीले मागेमा नदिने भन्ने हुँदैन, एउटासम्म गैंडा दिंदा हुन्छ’ भने।
त्यस वेला उपहारका रूपमा गैंडा विदेश लगिनु मानिसहरूलाई सामान्य लागिरहेको थियो। तर, खासमा उपहारको नाममा गैंडा बेचिएको थियो र त्यसबारे सबैलाई बुझाउन समाचार लेख्नुपरेको थियो। शिकारीहरूले दुर्लभ एकसिङ्गे गैंडा मार्दा यसको संख्या घटिरहेको अवस्थामा विदेश पनि पठाइरहनुुले नेपालमा गैंडा लोप हुन सक्ने जोखिम देखिएको थियो।
त्यस वेला भारत असमको काजीरंघा राष्ट्रिय निकुञ्जमा ८०० वटा र नेपालमा ४५० जति गैंडा थिए। जबकि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले नेपाल र भारत मिलेर गैंडाको संख्या कम्तीमा २५ सय पुर्याउनुपर्ने सुझाव दिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या १०० नपुगी विदेश पठाउनु हुँदैन भनेर गैंडा सम्बन्धी विशेषज्ञ र निकुञ्जका वार्डेनहरूले नै बताइरहेका थिए। स्थिति प्रतिकूल हुँदाहुँदै गैंडा विदेशिइरहेका थिए। त्यही समस्या उधिन्न पनि त्यो रिपोर्ट लेखेको थिएँ।
त्यो रिपोर्ट आएपछि गलत समाचार लेखियो भनेर दरबारबाट आधिकारिक रूपमा कुनै प्रतिक्रिया आएन। जवाफ नआउनुको कारण प्रस्टै थियो। त्यस वेला दुई वटा गैंडा बेलायत पठाइएको जगजाहेर थियो। गैंडाको मूल्य तोकिएको माइन्यूट पनि सत्य थियो। आएको रकम कहाँ कति छ भन्ने उनीहरूले देखाउन सकेका थिएनन्। यसैले त्यो रिपोर्ट विरुद्ध दरबारले केही बोल्ने ठाउँ नै थिएन।
खोज रिपोर्टिङ गर्दा समाचार स्रोत नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। स्रोतसँगको सम्बन्ध अति महत्वपूर्ण हुन्छ, किनकि आफ्नोबारे सार्वजनिक गरिदेला भन्ने शङ्का भएसम्म पत्रकारलाई कसैले पनि गोप्य कागजपत्र दिंदैन। कम्तीमा आफूले पाएका प्रमाण या कागजात कतै चुहावट हुँदैन भन्ने विश्वास स्रोतलाई दिलाउनुपर्छ। जस्तो- गैंडा बिक्री सम्बन्धी रिपोर्टमा माइन्यूटले ठूलो भूमिका खेल्यो।
माइन्यूट कसरी हात पर्यो भनेर आज पनि धेरैले अड्कल काट्छन्। त्यस वेला वन्यजन्तु संरक्षण समितिमा भएका १० जनासँगै मेरो राम्रो सम्पर्क थियो। तीमध्ये कसैले त पक्कै दिएको हो भन्ने सबैलाई थाहा छ, तर कसले दियो भन्ने चाहिं दिने मानिस र मलाई मात्र थाहा छ।
खँदिलो रिपोर्टिङ तयार पार्न विज्ञहरूसँग पनि राम्रो सम्बन्ध राख्न सक्नुपर्छ। थाहा पाएका कतिपय कुरा आफूलाई सामान्य लागे पनि विज्ञहरूलाई नयाँ र रुचिकर हुन सक्छ। त्यस्ता विषयमा उनीहरूसँग सरसल्लाह गर्दा रिपोर्टिङको गाँठो फुक्न सक्छ।
त्यस वेला रिपोर्टिङको धेरै भोक थियो। २०५० देखि २०५२ सालसम्म म एउटा संस्थाले गरेको जेल अनुसन्धानमा संलग्न थिएँ। जेलमा फोटो खिच्न पाए पनि छाप्न र त्यहाँभित्रका कुरा समाचारमा ल्याउन नमिल्ने शर्तमा मलाई गृह मन्त्रालयले जेलमा पस्ने प्रवेशपत्र दिएको थियो। ती दुई वर्षमा म ५२ वटा जेलमा पुगें, भित्रै पसेर दिनभर कैदीबन्दीसित कुरा गरें।
काम सकेपछि नलेखी बस्न सकिनँ, त्यसपछि ‘जेलजेलमा जंगबहादुर’ भन्ने रिपोर्ट लेखें। यो रिपोर्ट पनि काठमाडौं टुडेमै छापियो। संयोगवश त्यो रिपोर्टका लागि पनि खोज पत्रकारिता केन्द्रले सहयोग गरेको भनेर टीकारामजीले मलाई राम्रै रकम दिनुभयो।
फेरिएको पत्रकारिता
पहिले र अहिले तुलना गर्दा पत्रकारिता बदलिएको देख्छु। पहिलेको पत्रकारिता पेशाभन्दा बढी ‘प्यासन’ थियो। अहिले ‘प्यासन’ कम र पेशा बढी भएको देख्छु। पेशा भएकै कारण अहिले यसमा सीमाहरू आए। आठ घण्टाभन्दा बढी काम नगर्ने भनेपछि राति कति वेला कुन स्रोतले सूचना दिन्छ, त्यो थाहा हुँदैन। ‘प्यासन’को पत्रकारिता गर्दा दिनरात केही पनि नभनी खट्ने गरिन्थ्यो।
मैले पहिल्यैदेखि पत्रकारिता बाहेक अरू पेशाबारे केही सोचिनँ र विकल्प पनि खोजिनँ। त्यसैले यस क्षेत्रमा सिक्नुपर्ने जति सिक्ने प्रयास गरें। अहिले चाहिं पत्रकारिताले जीवन चलेन भने अर्को केही गर्छु भन्नेहरू देखिन्छन्। लगाव हराउँदा यस क्षेत्रमै दिगो रूपमा लाग्ने गरी सिक्ने र डट्ने प्रवृत्ति कम देखिन्छ।
जनमतसंग्रह सकिएपछि २०३८ सालदेखि, प्रजातन्त्र पुन:स्थापना भएपछि २०४७ सालदेखि र गणतन्त्रको स्थापनापछि प्रविधिको विकास र राजनीतिक स्वतन्त्रताका कारण पत्रकारिता यसरी फस्टायो, यहाँ सबैखाले मानिस आए। कालो पैसालाई सेतो बनाउने पनि आए। राजनीतिक नेतृत्वको आवश्यकताले पनि सञ्चारमाध्यम जन्मिए। विभिन्न समूह र व्यक्तिले आफ्नो स्वार्थ अनुसार पत्रकारलाई प्रयोग गर्न थाले। पत्रकार पनि अरूले गरेको प्रयोगमा रमाउन थाले। यस्तो जमात ठूलो भयो। नेपाल पत्रकार महासंघमा रहेका १५ हजार सदस्यमा साँच्चैको स्वतन्त्र पत्रकारिता गर्ने पत्रकार दुई हजार जति पनि छन् कि छैनन् जस्तो लाग्छ।
अहिलेसम्म पत्रकार र मिडिया सञ्चालक भएर काम गर्दै आएँ। अब चाहिं आफ्नो मिडियामा नयाँ पुस्तालाई जिम्मेवारी दिएर आफूले गरेको काम कस्तो थियो, के गरियो र नगरी नहुने के छुट्यो भन्दै स्वमूल्याङ्कन गर्ने सोचिरहेको छु। पत्रकारितामा सक्रिय रूपमा ४० वर्ष बिताइएछ। अब यो क्षेत्रभन्दा फरक र अलग केही गर्ने मन छ।
चार दशकअघिको पत्रकारितालाई फर्केर हेर्दा राम्रो रिपोर्टिङ गर्ने धेरै साथी सम्झन्छु। राजेन्द्र दाहालले पानीको विषयमा धेरै अध्ययन गरेर रिपोर्टिङ गर्नुभएको थियो। देशको जलस्रोत, सिंचाइ, नेपाल-भारत सम्बन्धलाई आकार दिन ती रिपोर्टिङको ठूलो योगदान थियो। मोहन मैनालीले माओवादीको दशक लामो सशस्त्र युद्धका वेला जोखिम मोलेर गरेका रिपोर्ट अहिले पनि धेरैका लागि चाखका विषय छन्। यस्ता काम अरू धेरै पत्रकारले गरे।
बिट रिपोर्टिङ गर्ने पत्रकारका रिपोर्ट प्रभावकारी हुँदा त्यस्ता पत्रकारलाई साथीहरूले रमाइलो उपनाम दिन्थे। राजेन्द्र दाहाललाई केही साथी उहाँको अनुपस्थितिमा ‘जलकुमार’ भन्थे। गैंडाको विषयमा धेरै वटा समाचार र रिपोर्ट लेखेपछि केही साथी र विज्ञ मित्रले मलाई ‘गैंडाप्रसाद’ भनेर जिस्क्याउँथे। त्यसरी जिस्क्याउँदा मलाई पनि रमाइलै लाग्थ्यो।
(पत्रकार गुरागाईंसँग अनिता भेटवालले गरेको कुराकानीमा आधारित। सम्पादन: जीवन कार्की, भाषा: प्रद्युुम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री: