अभिलेख जोगाउन वीरेन्द्रले उभिएरै दुई घण्टा सुने, अहिले कोही सुन्दैन
देशभर चहारेर करीब एक लाख ८२ हजार अभिलेखको माइक्रोफिल्मिङ गर्दा राजा वीरेन्द्रले सघाएका थिए, तर अहिले तिनै माइक्रोफिल्म कुहिंदै गर्दा राज्यले वास्ता नगरेपछि ८२ वर्षीय बलराम चित्रकार चिन्तित छन्।
काठमाडौंको यट्खामा कृष्णबहादुर चित्रकारको फोटो स्टुडियो थियो। कृष्णबहादुरलाई स्टुडियोमा फोटो धुलाउन उनका १० वर्षीय छोरा बलरामले सघाउँथे। १२ वर्षको हुँदा त बलराम फोटो खिच्ने नै भइसकेका थिए।
२०१५ सालमा बलरामले एसएलसी सके। त्यसपछि त स्टुडियोको सम्पूर्ण जिम्मा बुबा कृष्णबहादुरले उनैलाई दिए। बिहान फोटो खिच्ने, दिउँसो त्रिचन्द्र कलेज पढ्न जाने र राति फोटो धुलाउने बलरामको दैनिकी नै बन्यो।
फोटो धुलाउँदै आईएस्सी र बीएस्सीसम्म त्रिचन्द्रमै पढे उनले। बीएस्सी पढे्दासम्म पनि अरु कामतिर मन लागेन। “फोटोको काम मेरो ‘प्यासन’ भएर पनि होला। राति १० बजेदेखि २ बजेसम्म फोटो धुलाएरै बस्थें,” ६ दशक पुराना दिन सम्झँदै उनी भन्छन्।
अभिलेख जोगाउने जुक्ति
२०२३ सालमा बीएस्सीको परीक्षा दिएपछि भने उनमा एकाएक जागीर गर्ने रहर जाग्यो। त्यही वेला पुरातत्त्व विभाग अन्तर्गतको वीर पुस्तकालयले एक जना ‘माइक्रोफिल्मिस्ट’ माग गरेको सूचना गोरखापत्रमा देखे। दरखास्त हाले। काम गरेको अनुभवका आधारमा जागीर पनि पाए।
तर, शुरू शुरूमा वीर पुस्तकालयमा भएका कागजातको लिखित अभिलेख मात्र राख्न लगाइयो उनलाई। केही महीना यही काम भए पनि गरे।
त्यस वेला विदेशीहरू अभिलेख पढ्न वीर पुस्तकालय पुग्थे। उनीहरूले सक्कल कागजात नै पढ्थे। जसले गर्दा महत्त्वपूर्ण अभिलेख च्यातिने र टुक्रिने हुन थाल्यो।
एक दिन बलरामले ती ऐतिहासिक अभिलेख संरक्षण गर्ने जुक्ति निकाले। उनले अध्ययन गर्न आउनेलाई नक्कल प्रति बनाएर दिने प्रस्ताव पुरातत्त्व विभागका तत्कालीन निर्देशक रमेशजंग थापासँग राखे। उनको प्रस्ताव स्वीकृत भयो।
थापाले त क्यामेरा खरीद गर्न भनेर ८०० रुपैयाँ पनि छुट्याइदिए। विदेशीलाई त्यही क्यामेराबाट फोटो खिचेर आफैं धुलाएर बलरामले प्रतिलिपि दिन थाले। यसरी पुरातत्त्व विभाग अन्तर्गतको वीर पुस्तकालय र अहिले राष्ट्रिय अभिलेखालयमा राखिएका पुरातात्त्विक वस्तुहरूको संरक्षण गर्न पहिलो पटक फोटोकपीको शुरूआत भयो।
बलरामको कामबाट प्रभावित भएर पुरातत्त्व विभागले भारतमा अभिलेख संरक्षणको तालीममा उनलाई पठायो। एकवर्षे तालीमको नाम थियो, ‘माइक्रोफिल्मिङ एन्ड केमिकल कन्जर्भेशन अफ डक्युमेन्ट।’
भारतमा उनले दिल्ली, कोलकाता, मुम्बई लगायत शहर पुगेर माइक्रोफिल्मिङ विधिबाट पुराना कागजात संरक्षण गर्नेबारे प्राविधिक ज्ञान लिए। “माइक्रोफिल्म नेपालमा त्यस वेलासम्म गरिएको थिएन। त्यसैले नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने नयाँ र रुचिले धेरै मिहिनेत गरियो,” उनी सम्झिन्छन्।
२०२६ सालमा ६ महीने तालीम सकाएर उनी नेपाल फर्किए। यता, उनको कार्यालय वीर पुस्तकालय पुरातत्त्व विभाग अन्तर्गतको अभिलेखालयमा सरिसकेको थियो। नेपाल र जर्मन सरकारबीच नेपालको अभिलेखालयमा भएका अभिलेखको माइक्रोफिल्म बनाएर एक प्रति नेपाल र एक प्रति जर्मन सरकारसँग रहने सम्झौता भइसकेको थियो।
उनलाई अभिलेखालयका तर्फबाट यो परियोजनाको प्राविधिक पक्षको सम्पूर्ण जिम्मेवारी दिइयो। क्यामेरादेखि कोठा अँध्यारो बनाउनेसम्मका अत्याधुनिक सामग्री जर्मनीबाटै ल्याइएको थियो।
बलरामले भारतमा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै पहिलो चरणमा अभिलेखालयमा भएका २९ हजार कागजातको माइक्रोफिल्म बनाए।
शुरूमा पाँच वर्षका लागि भनेर यो परियोजना थालिएको थियो। “पाँच वर्षसम्म हामीले हरेक दिन माइक्रोफिल्म बनाइरह्यौं। त्यस वेला भक्तपुर र पाटन क्षेत्रमा पनि धेरै पुराना ग्रन्थ, चित्रहरू थिए। त्यहाँका मानिसले पनि आफ्नो संग्रह संरक्षण गर्न आह्वान गरे,” उनले भन्छन्।
बलरामले नै भक्तपुरमा भएका अभिलेखको संरक्षण गर्न आवश्यक ठानेर पुरातत्त्व विभागमा प्रस्ताव गरे। यसरी यो परियोजनाको अवधि पाँच वर्षका लागि बढ्यो। भक्तपुरका अभिलेखहरू संरक्षण गर्दैगर्दा उपत्यकाभरबाट अझै सामग्री आउन थाले। परियोजना लम्बिंदै गयो। अलि अलि गर्दागर्दै २० वर्ष बित्यो।
दुई दशकमा बलराम र उनको टोलीले एक लाख हस्तलिखित ग्रन्थ, शिलालेख, ताडपत्र, ताम्रपत्र, भोजपत्र लगायत पुरातात्त्विक वस्तुको फोटो खिचेर माइक्रोफिल्म बनाए।
यसपछि पनि पुराना कागजात लिएर आउनेहरू उत्तिकै भए। परियोजनालाई नेपालभरका ऐतिहासिक अभिलेखहरू संरक्षण गर्ने भनियो। बलराम आफैं हेलम्बु, लाङटाङ, पोखरा, मनकामना, जनकपुर लगायत विभिन्न स्थान पुगेर माइक्रोफिल्मिङ गर्न थाले।
नेपालको इतिहास, समाज, राजनीति, धर्म, परम्परा, संस्कार देखाउने ती तमसुक, ताडपत्र, भोगपत्रहरू कसैले सन्दुक त कसैले ढोकाको कुनाकप्चाबाट लिएर आएका हुन्थे। उनका अनुसार अहिलेसम्म माइक्रोफिल्मिङ गरिएका अभिलेखमा धेरैजसो सयौं वर्ष पुराना हिन्दू र बौद्ध धर्म सम्बन्धित ग्रन्थहरू छन्।
ढाकादेखि मदन पुरस्कार पुस्तकालयसम्म
जागीरे जीवन २४औं वर्ष लाग्दा उनले एक लाख ८२ हजार पुरातात्त्विक वस्तुको माइक्रोफिल्म बनाइसकेका थिए। बलराम माइक्रोफिल्म बनाउने र ती अभिलेख क्याटलगमा सूचीकरण गर्नेसम्म आफैं गर्थे।
२०४७ सालमा उनी सार्क संगठनको कृषि सूचना केन्द्रको अभिलेख शाखामा माइक्रोफिल्मिस्ट पदमा छानिए। उनको कार्यस्थान थियो, बाङ्लादेशको राजधानी ढाका। उनी सार्क अन्तर्गत अभिलेख क्षेत्रमा काम गर्ने नेपालका पहिलो व्यक्ति बने। ढाकामा उनको मुख्य जिम्मेवारी थियो- पुस्तकालय शाखामा माइक्रोफिल्म ल्याब बनाउने र त्यहाँका सामग्रीहरूको अभिलेख राख्ने।
उनी ढाका जानुअघि जर्मनीले नेपालमा माइक्रोफिल्म राख्ने घर बनाउने तरखर गरिरहेको थियो। उनले आफ्ना सहकर्मीलाई माइक्रोफिल्म बनाउन र सूचीकरण गर्न सिकाइसकेका थिए।
२०५० सालमा बलराम तीनवर्षे कार्यकाल सकेर बाङ्लादेशबाट नेपाल फर्किए। तीन वर्षमा अभिलेखालयमा माइक्रोफिल्म राख्ने भवन त बनिसकेको थियो, तर कोठाको तापक्रम र डार्करूमको संरचना मिलेको थिएन। उनी भन्छन्, “डार्करूमका स्वीचहरू पनि आफैं आएर फेरेको थिएँ।”
बलराम बाङ्लादेश जानुअघि नै माइक्रोफिल्मिङको काम करीब करीब सकिएकाले नेपाल फर्किएपछि उनले यो काम गर्नु परेन। तिनको सूचीकरण गर्ने काम मात्र बाँकी थियो।
बलरामकै सुझावअनुसार, मदन पुरस्कार पुस्तकालयमा भएका ऐतिहासिक अभिलेखहरूको समेत माइक्रोफिल्मिङ गरिएको थियो। बलरामले नै त्यहाँ भएका अभिलेखहरूको संख्या र आवश्यक सामग्रीहरूको लेखाजोखा गरेर खर्चको अनुमान निकालेका थिए। उनी भन्छन्, “कनकमणि दीक्षितको त्यो वेलाको चासो र मैले पनि सुझाएको कुराले त्यहाँ केही समयपछि नै माइक्रोफिल्मिङ गर्न थालिएको थियो।”
३० वर्षको लगानी व्यर्थ जाने चिन्ता
बलरामले आफ्नो जीवनको ३० वर्ष (२०२३-२०५३) अभिलेखालयमा माइक्रोफिल्म बनाउने र सूचीकरण गर्ने मात्र काम गरे। तर, दुखद पक्ष, उनकै हातले बनाएका एक लाख ८२ हजार अभिलेखको माइक्रोफिल्म अहिले कुहिन थालेका छन्।
तन्त्र, ज्योतिष, आयुर्वेद, स्तोत्र, व्याकरण, कर्मकाण्ड, पुराण, बौद्धतन्त्र लगायत संस्कृत, नेवारी, हिन्दी, मैथिली आदि भाषा तथा देवनागरी, नेवारी, मैथिली, किरात, बंगाली आदि लिपिमा लेखिएका ऐतिहासिक दस्तावेजमध्ये केही त १७ सय वर्ष पुराना पनि छन्।
केही समयअघि राष्ट्रिय अभिलेखालयका फोटोग्राफिक अफिसर ज्योति न्यौपानेले माइक्रोफिल्महरू ‘भिनेगर सिन्ड्रोम’ को संक्रमणले बिग्रन थालेको बलरामलाई सुनाएका थिए। त्यो सुनेपछि आफ्नो जीवनभरको लगानी र मेहनत खेर गएको अनुभूति गरेको बलराम सुनाउँछन्।
“संसारमा यत्तिका ऐतिहासिक महत्त्वका वस्तु कहीं छैनन्। तर, हामीले तिनलाई जोगाउन पनि सकेनौं। महीनौं दिन हिंडेर, गाउँ गाउँ पुगेर, मानिसहरूलाई फकाएर खिचेका थियौं। अब त त्यो सामग्री गाँउलेहरूसँग पनि छैन होला? यो त बर्बाद नै भयो,” उनले थकथकी मान्दै भन्छन्।
हुन पनि न्यौपानेका अनुसार बलरामको कार्यकालपछि नेपालमा माइक्रोफिल्मिङ नै गरिएन। माइक्रोफिल्म भइसकेका दस्तावेजहरूको सूचीकरण मात्र भए। नेपालमा माइक्रोफिल्मिङका लागि भएको नेपाल-जर्मन सम्झौता २०५७ सालमा सकियो। २०५८ सालमा त बलरामले पनि अवकाश पाए।
खासमा १०० वर्षका लागि भनेर माइक्रोफिल्मिङ गरिएका यी अभिलेख ५३ वर्षमा नै बिग्रिन थाले। अहिलेसम्म अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ छन्। जसमध्ये ५०० माइक्रोफिल्म पूर्ण रूपमा बिग्रिएका छन्। कैयौंमा समस्या देखिएको छ।
माइक्रोफिल्म कुहिरहँदा पनि सरकारले चासो नदिएकामा बलरामको ठूलो गुनासो छ। बलरामका अनुसार कला, संस्कृति र इतिहासको संरक्षणमा बरु राजा वीरेन्द्रले बढी प्राथमिकता दिएका थिए। उनी भन्छन्, “२०२९ सालमा उहाँ (राजा वीरेन्द्र) अभिलेखालय आउँदा मैले अभिलेखालयका लागि के गर्न आवश्यक छ भनेर सुनाएको थिएँ। उहाँले उभिएरै दुई घन्टा कुरा सुन्नुभयो। अन्त्यमा अभिलेख संरक्षण गर्न आवश्यक प्रविधिको व्यवस्थाका लागि पहल पनि गरिदिनुभयो।”
बरु बाटो वा विकासका योजना एक वर्ष ढिलो बनाए पनि यी माइक्रोफिल्म तत्कालै संरक्षण गर्नुपर्ने उनी सुझाउँछन्। “यो पनि नासियो, अब नेपालसँग अर्को महत्त्वपूर्ण सम्पत्ति नै के छ र?,” उनी निराशा पोख्दै बलराम भन्छन्, “यी अभिलेख कति दिन खाना नखाई, कति रात हिंडेर, घरपरिवार केही नभनी सङ्कलन गरेका थियौं। आज ती कुहिएको देख्दा मेरो ३० वर्ष खेर गयो भन्ने लाग्छ।”
‘माइक्रोफिल्मका रील बिग्रन थालेका छन्’
- ज्योति न्यौपाने
फोटोग्राफिक अफिसर, राष्ट्रिय अभिलेखालय
माइक्रोफिल्मका यी रीलहरू अहिले अभिलेखालयमा भएका माइक्रोफिल्म सबै बलराम सरको पालामा नै भएको हो। देशभर डुलेर काम गर्नुभएकाले पनि उहाँलाई अझै दु:ख लागेको हुन सक्छ।
माइक्रोफिल्मका यी रीलहरू २०७० सालबाट नै बिग्रन थालेका थिए। पहिला माइक्रोफिल्मलाई तापक्रम मिलाएर राख्न नसकेकाले पनि यो समस्या आएको हो।
यिनको संरक्षण गर्न २०७१ साल माघमा ‘माइक्रोफिल्म रील संरक्षण सम्बन्धी कार्ययोजना’ पुरातत्त्व विभाग हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिएको थियो। तर, मन्त्रालयले वास्तै गरेन।
अहिले पनि स्रोतको अभावमा संरक्षणको काम गर्न सकिएको छैन। मन्त्रालयले केही रकम छुट्याएको भनेको छ, तर हामीले प्राप्त गरिसकेका छैनौं। पैसा हात परिनसकेकाले यति नै रकम भन्न सकिएन। तर, उनीहरूले छुट्याएको भनेको रकमले आधा पनि माइक्रोफिल्म बचाउन सकिंदैन।