एन्फाका अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न विशेष साधारणसभा माग
अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न विशेष साधारणसभाको माग गरिएको छ।
एन्फाका ४९ सदस्यले विशेष साधारणसभा बोलाउन माग गर्दै निवेदन दिएका हुन्। जसमा एन्फामा आबद्ध संघ र क्लब छन्।
एन्फाको विधानको धारा ३५ (३) बमोजिम उनीहरूले निवेदन दिएका हुन्। यस धारामा ४० प्रतिशतभन्दा बढी सदस्यले विशेष साधारणसभा बोलाउन माग गर्न पाउने व्यवस्था छ।
उनीहरूले विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई बर्खास्त गर्ने अजेन्डा राख्न माग गरेका छन्। यसरी ४० प्रतिशत सदस्यले निवेदन दिएको ३० दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ।
विधान अनुसार विशेष साधारणसभा नबोलाए छुट्टै साधारणसभा आह्वान गर्ने उनीहरूले चेतावनी दिएका छन्। उनीहरूले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई १९ वटा आरोप लगाएका छन्।
निवेदनमा सङ्कटा क्लबका इन्द्रमान तुलाधार, सातदोबाटो यूथ क्लबका कपिल राना मगर, ब्रिगेड ब्वाइज क्लबका राजु होइजू, मध्यपुर यूथ क्लबका सुनील श्रेष्ठ, टुसाल यूथ क्लबका विजय लामा, नयाँबस्ती युवा क्लबका रामकुमार तामाङ, मच्छेन्द्र क्लबका किरण महर्जन, कञ्चनपुर जिल्ला फूटबल संघका गणेश चन्द, तनहुँ जिल्ला फूटबल संघका सत्यभक्त चालिसे, स्याङ्जा जिल्ला फूटबल संघका मुक्तबहादुर राना, ब्वाइज युनियन क्लबका दीपेश राउत चोगे र आरसीटी क्लबका कुमार राजभण्डारीले हस्ताक्षर गरेका छन्।
यस्तै, नेपाल फूटबल महिला संघका विना श्रेष्ठ, बाग्लुङ जिल्ला फूटबल संघका जयराज भण्डारी, नवलपुर जिल्ला फूटबल संघका सेतबहादुर पुन, एनआरटीका नरेन्द्रमान श्रेष्ठ, मनाङ मर्स्याङ्दी क्लबका विजय घले, फ्रेन्ड्स क्लबका कुन्दनराज ढकाल, हिमालयन शेर्पा क्लबका कर्मा छिरिङ शेर्पा, श्री कुमारी क्लबका रामकुमार बस्नेत, खुमलटार युवा क्लबका हरिबोल राउत, रवोटेस एकेडेमी साँगाका मनोरथ आचार्य, झापा फूटबल क्लबका पेम्बु गुरुङ, सरस्वती यूथ क्लबका शिक्षित पराजुली र काठमाडौं जिल्ला फूटबल संघका आकाश गुरुङले निवेदन दिएका हुन्।
यस्तै, विशेष साधारणसभा बोलाउन निवेदन दिनेमा बाँसबारी क्लबका रमेश कार्की, वीरगन्ज युनाइटेडका अविन्द बराल, रानीवन स्पोर्टस् क्लबका केशव भण्डारी, सानेपा क्लबका ध्रुवविक्रम पाण्डे, बर्दिया जिल्ला फूटबल संघका अजित राजभण्डारी, सुदूरपश्चिम फूटबल संघका दिने श्रेष्ठ, गण्डकी प्रदेश फूटबल संघका दीपेन्द्र श्रेष्ठ, गोलबजार स्पोर्टस् क्लबका विवेक राई, बारा जिल्ला फूटबल संघका रामचन्द्र लामा, दाङ जिल्ला फूटबल संघका सञ्जात धिमाल, समाज कल्याण खेलकूद केन्द्रका सरोज महर्जन, नवलपरासी फूटबल संघका धनप्रसाद गुरुङ, पाल्पा जिल्ला फूटबल संघका प्रज्वलप्रसाद उदय, रुपन्देही जिल्ला फूटबल संघका लोकबहादुर पुन, लमजुङ जिल्ला फूटबल संघका लोकेन्द्र गुरुङ, मनाङ जिल्ला फूटबल संघका यज्ञ घले, त्रिवेणी युवा क्लबका विनोद गुरुङ, च्यासल युवा क्लबका प्रदीप व्यञ्जनकार, आरसी ३२ फूटबल एकेडेमीका सुदीप चन्द र कैलाली जिल्ला फूटबल संघका जितेन्द्रकुमार बोगटी छन्।