मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
कर्णाली प्रदेशको मुगु विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करीब ८५ किलोमिटर लाइन मार्फत मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो।
प्राधिकरणले आइतबारबाट गमगाड लगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् वितरण शुरू गरेको छ। प्राधिकरणले यसअघि ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो। मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ वटा जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ।
अब कर्णाली प्रदेशको हुम्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ। हुम्लामा राष्ट्रिय प्रसारण लाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई सर्वेक्षण भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि समय समयमा साना जलविद्युत् बन्द भई विद्युत् आपूर्तिमा हुने समस्या समाधान हुने बताए। अहिले मुगुमा प्राधिकरणका तीन हजार ५०० घरधुरी ग्राहक छन्।
२०७९ असोजमा भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो। प्राधिकरणले तत्कालै डिजेल जेनेरेटर जडान गरी विद्युत् आपूर्ति दिएको थियो। भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत्गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्याएको थियो।
यसैगरी, बाढीपहिरोबाट विद्युत्गृहको सबस्टेशनका संरचनामा पनि क्षति पुगेको थियो। बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत जलविद्युत्गृह सञ्चालनमा ल्याइएको थियो।
मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेशन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए।