अनुभवी खेलाडी समेट्दै विश्वकपका लागि न्यूजिल्यान्डको टोली घोषणा
आगामी ५ अक्टोबरबाट सञ्चालन हुन लागेको आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि न्यूजिल्यान्डले आफ्नो टोली घोषणा गरेको छ।
सन् २०१९ को विश्वकपको उपविजेता टोली न्यूजिल्यान्डले यो संस्करणको विश्वकपमा आफ्नो पहिलो खेल इङ्ल्यान्ड विरुद्ध खेल्नेछ। २०१९ मा न्यूजिल्यान्डलाई विश्वकप विजेता बन्न इङ्ल्यान्डले नै रोकेको थियो।
यी दुई टोलीबीचको खेल ५ अक्टोबरमा खेलिनेछ। अर्थात् यो नै उद्घाटन खेल हुनेछ।
विश्वकपमा न्यूजिल्यान्डको टोलीको नेतृत्व अनुभवी खेलाडी केन विलियम्सनले गर्नेछन्। घुँडामा चोट लागेका कारण केही समय टीम बाहिर रहेका विलियम्सनलाई समेटेर न्यूजिल्यान्डले १५ जनाको टोली बनाएको हो। उनीसँगै १५ सदस्यीय टोलीमा ट्रेन्ट बोल्ट, टिम साउदी, जिम्मी निशम, लकी फर्गुसन, टम लेथम, म्याट हेनरी जस्ता अनुभवी खेलाडी पनि छन्।
यस्तै, ग्लेन फिलिप्स, ईश सोडी, मार्क च्यापम्यान, डेभन कोन्वे, ड्यारिल मिचेल, रचिन रवीन्द्र, मिच स्यान्टनर र विल यङ १५ सदस्यीय टोलीमा अटाएका छन्।
यसअघि भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ल्यान्ड र नेदरल्यान्ड्सले पनि आआफ्नो १५ सदस्यीय टोलीको टुङ्गो लगाइसकेका छन्।
कुनै पनि राष्ट्रलाई आफ्नो १५ सदस्यीय टोलीमा खेलाडी फेरबदल गर्नुपरे २८ सेप्टेम्बरसम्मको समय दिइएको छ। त्यसपछि खेलाडी परिवर्तन गर्न आईसीसीको अनुमति लिनुपर्नेछ।